माघ ५, पनौती नगरपालिका(काभ्रेपलाञ्चोक)दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क -आइटी पार्क_ सेक्यूरिटी प्रिन्टिङ प्रेस -सुरक्षण मुद्रण केन्द्रम_मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया थालिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । पनौती नगरपालिका–५ स्थित उक्त पार्कमा सरकारले गत वर्ष प्रेस राख्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६÷७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको हो । प्रारम्भिक चरणमा करिब रु ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने जनाइएको छ ।सूचना प्रविधि पार्कमा स्थापना गरिएको सुरक्षण मुद्रण केन्द्रमा सेक्यूरिटी प्रिन्टिङ पे्रसको निर्माणसम्बन्धी काम भने हाललाई प्रशासनिक प्रक्रियाका लागि रोकिएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केन्द्र निर्माणको आयोजनालाई ‘बुहवर्षीय’ बनाउने प्रक्रियालाई केही समय रोकिएको हो । “आयोजना बहुवर्षीय बनाउन अर्थ मन्त्रालयमा बजेटसहितको प्रक्रियामा छ, प्रक्रिया सकिएलगत्तै काम शुरु भइहाल्छ”, उहाँले भन्नुभयो । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमीन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको निर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । निर्माणको चरणमा रहेको पार्कभित्र जमीनमुनि विद्युतीय ‘हाई भोल्टेज’का तार रहेकाले त्यसलाई छेउतर्फ व्यवस्थित गरेपछि भवन निर्माणको काम थालिनेछ । आवश्यकीय भवन तथा अन्य भौतिक संरचना निर्माणका लागि आयोजनालाई बहुवर्षीय बनाउन आवश्यक रहेको जनाइएको छ । “फण्डको कमिटमेन्ट नभइ बोलपत्रमा जान नमिल्ने भएकाले आयोजनलाई बहुवर्षीय बनाएर काम थाल्न लागिएको हो”, पौडेलले भन्नुभयो । उहाँका अनुसार प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिनेछ ।