बोडेबासीद्वारा मध्यपुर थिमिका नगर प्रमुखविरुद्ध नाराबाजी

१ वर्ष अगाडि ७६१ खबर डटकम

भक्तपुर, १७ असोज । खानेपानीको विषयलाई लिएर मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठविरुद्ध बोडेबासीले नाराबाजी गरेका छन् । खानेपानीको पाइपलाइन विस्तारको विषयमा बुझ्न गएका श्रेष्ठविरुद्ध स्थानीयबासी आक्रोसितरुपमा प्रस्तुत भएपछि उनी फर्किएका थिए ।

५ जना वडा अध्यक्षसहित पुगेका श्रेष्ठलाई स्थानीयले अवरोध गर्नुका साथै नाराबाजी गरेपछि उनी फर्किएका थिए ।

घटना यसरी भएको थियो
नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीका अनुसार सडक विस्तारका क्रममा खानेपानीका पाइपलाइन विस्तारको काम पनि भइरहेको थियो । वडा नं। ८ मा पर्ने बोडेका स्थानीयले बोडेमा पानीको अभाव हुने गरि पाइपलाइन विस्तारको काम गरिएको भन्दै १२ असोजमा एक टोली नगरपालिकाको कार्यालयमा डेलिगेसन गएको थियो । डेलिगेसन गएको टोलीले पाइपलाइन विस्तारको काम तुरुन्त रोक्नको लागि दवाव दिएर फर्किएको थियो । नगरप्रमुख तत्काल कार्यालयमा नभएकाले वडामा नै छलफल हुने सन्देश बोकेर डेलिगेसन गएका बोडेवासी फर्किएका थिए ।

१४ गते आइतबार नगरपालिकाका मेयर, उपमेयर सहितको टोलली वडा कार्यालयमा छलफलमा बसेका थिए । छलफलमा विविध कुराकानी भएका थिए तर मेयरले स्थानीयलाई खानेपानी र सडकमा तपाईंहरुलाई कुन पहिला चाहिन्छ रु भन्ने अभिव्यक्ति दिएका थिए । जुन कुराले मंगलबारको घटना हुनलाई बल पुगेको स्थानीयको भनाइ उदृत गर्दै उपमेयर मधिकर्मीले जानकारी दिइन् । मंगलबार दिउँसो चार बजेतिर मेयर दलबलसहित बोडेमा रहेको खानेपानीको ट्याङ्कीका सबै धारा खोल्दा कति पानी पुग्ने रहेछ भन्ने परीक्षण गर्नका लागि बोडेमा पुगेका थिए । सोही क्रममा स्थानीयले मेयरविरुद्ध नाराबाजी गरेका थिए ।

यसैबीच, मेयर, उपमेयर तथा वडा नं. ४, ५, ८ र ९ वडाका वडाध्यक्ष सहितका टोली काठमाडौं उपत्यका खानेपानी लिमिटेडको मध्यपुर थिमि शाखामा बैठक बसेको थियो । विवादको विषयमा मध्यपुर थिमि नगरपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष देवकृष्ण मोय श्रेष्ठले भने बिष्णुघाटमा पनि पानी आउनुपर्ने माग गर्दै स्थानीय आक्रोशित भएको जनाए । पानीकै विषयमा यो घटना भएको उनको भनाइ छ । मेयर मदनसुन्दर श्रेष्ठसँग भने पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

भिडियोका लागि तल क्लिक गर्नुहोस्