कर्मचारीको दशैं : भत्ता र तलबमा १३ अर्ब खर्च

१ वर्ष अगाडि ७६१ खबर डटकम

काठमाडौं, १६ असोज । दशैं सुरु हुन अब एक साता मात्र बाँकी छ । यो बेला राजधानी बसोबास गरिरहेका अधिकाशं सर्वसाधारण दशैंमा आफ्नो घर गाउँ जाने तयारी गरिरहेका छन् ।

आम सर्वसाधारण यो बर्षको दशैंका लागि खर्चपानी व्यवस्थापनमा जुटेका छन् भने सरकारले पनि आफ्ना निजामती सरकारी कर्मचारीलाई दशैंमा एक महिनाको तलब सहित भत्ता वितरणको तयारी गरिरहेको छ । यो दशैंमा मात्रकर्मचारीकालागि सरकारी ढिकुटीवाट १३ अर्ब रुपैयाँ खर्च हुदैछ ।

अर्थमन्त्रालयका अनुसार यो दशैंमा भत्तावापत साढे ६ अर्ब रुपैयाँ निकासा हुने छ भने बाँकी रकम नियमित तलबका रुपमा निकासा हुदैछ । सरकारी कर्मचारीले घटस्थापना अगाडीनै यो रकम पाइसक्नेछन् । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माका अनुसार एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले कर्मचारीका लागि निकासा गर्नेछ ।

निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा हुन्छ । सरकारी कर्मचारीका लागि पारिश्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ चालु आवको बजेटमा विनियोजन गरेको छ ।