‘हातखुट्टा बाँधेर स्थानीय सरकार हिड्न सक्दैन’

१ वर्ष अगाडि

- बंशलाल तामाङ

अहिले प्रदेश नम्वर ५ को गाउँपालिका राष्ट्रिय महासंघको यो प्रथम अधिवेशन हुँदैछ । यो आफैँमा पनि ऐतिहासिक छ । यो अधिवेशनले स्थानीय तहको महासंघको प्रदेश ५ का लागि सक्षम नेतृत्व समेत चयन गर्नेमा विश्वस्त छु । अहिले महासंघ प्रदेश स्तरमा नेतृत्व चयन गरिरहेको छ । महासंघ यो अवस्थामा आइपुग्नमा धेरैजनाको योगदान छ ।

यतिवेला मुलुकमा लामो संघर्ष बलिदान र योगदानवाट प्राप्त संघीय संविधानले व्यवस्था गरेको तीनवटै तहका सरकारको निर्णय र त्यही निर्णय अनुसार मुलुक अहिले समृद्धिका पक्षमा अघि बढिरहेको छ । यो प्राप्तीका लागि हिजो जनता र जनताका अधिकारका लागि धेरै संघर्ष भए । जनताका निम्ति जे जस्ता आन्दोलनहरु भए ती सवै विकासका लागि भए, समृद्धिका लागि भए । अहिले हामीलाई इतिहासको अत्यन्तै सुनौलो अवसर प्राप्त भएको छ । यो आफैँमा ऐतिहासिक पनि छ । यो समयमा स्थानीय सरकारले संविधानको मर्म अनुसार आफ्नो काम, कर्तव्य र अधिकारको प्रयोग गर्नुपर्छ । विकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर साझा अधिकार निर्माण गर्दै विकासमा जोड दिनु अहिलेको आवश्यकता हो । यद्यपी, हामीकहाँ थुप्रै खाले समस्या देखिएका पनि छन् । स्थानिय सरकार सञ्चालनमा ती समस्या समाधान प्रमुख आवश्यकता हो ।

संघ र प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्दै गर्दा स्थानीय तहको अधिकार मिचिनु हुँदैन । तीनवटै तहले साझा अधिकार निर्माण गरि अघि वढेमा प्रगति हुनेछ । यो समय हाम्रो सिकाइको वर्ष पनि हो । यो क्षमता र दक्षता प्रदर्शन गर्ने अवसर हो । यो समयमा हामीले आफ्नो कौशलता, क्षमता र अनुभव प्रदर्शन गर्नुपर्छ । त्यो गर्न सकिएन भने स्थानिय सरकार सफलतातिर जाँदैन ।

अहिले करको विषयमा निक्कै कुरा आइरहेको छ । कर तिर्न सक्ने क्षमता जनतालाई विकास गर्नु पर्छ । जनतालाई कर तिर्न सक्ने अवस्थामा पु¥याउन तीनवटै तहले काम गर्नुपर्छ । यो सँगै त्यो कर कहाँ खर्च गर्ने भन्ने महत्वपूर्ण हुन्छ । हामीले जनतावाट प्राप्त गरेको कर जनताकै लागि लगानी गर्ने, खर्च गर्ने हो भन्ने कुरा वुझाउन सक्नुपर्छ । कर लिने व्यवस्थालाई वैज्ञानिक बनाइनुपर्छ । समृद्धि र विकासका लागि पनि कर तिर्नुपर्छ भन्नेमा जनतालाई बुझाउन सक्नुपर्छ ।

अहिले हाम्रो अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । यसैले पनि कुनै समय अफ्ठ्यारो आउन सक्छ । त्यसैले कर प्रणालीलाई वैज्ञानिक बनाएर प्रयोग गर्नुपर्छ । जसबाट स्थानिय हुँदै मुलुकको समृद्धिमा सघाउ पुग्छ । यस्तै, अहिले स्थानिय तहमा देखिएका केही समस्या ध्ये कर्मचारी समायोजन पनि हो । कर्मचारी समायोजन छिटो गर्नुपर्छ । जनशक्तिको अभावमा काम गर्न सकिने अवस्था रहँदैन । यसमा प्रदेश तथा संघीय सरकार गम्भीर हुनै पर्छ ।

अहिले देश विकासका लागि सवै तहले आफ्ना योजना अघि बढाएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालनमा अध्ययन गर्ने, स्थानीय तहमा गौरवका योजना निर्माणमा प्रदेश सरकारले पनि काम गर्नुपर्छ । स्थानीय सरकारको प्रतिनिधिले यो माग गरेका छौं । अहिले हामी धेरै योजना आफैँ गर्न सक्ने अवस्थामा छौँ । त्यसैले स्थानीय सरकारलाई हातखुट्टा बाँधेर हिड्न सक्ने अवस्था रहँदैन ।

स्थानीय सरकारलाई आफ्नो अधिकार क्षेत्रको प्रयोग गर्दै स्वतन्त्र हिँडडुलको व्यवस्था गर्नुपर्छ । त्यसो भएमा स्थानीय तह, प्रदेश र सिंगो मुलुकको समृद्धि र विकास सम्भव हुनेछ ।

(तामाङले गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को अधिवेशनमा राखेको विचारको सम्पादित अंश)