५ प्रश्न– गाउँपालिका महासंघ ५ नम्बर प्रदेश अधिवेशन ऐतिहासिक हुन्छः पन्त

१० महिना अगाडि

गाउँपालिका राष्ट्रिय महासंघ ५ नम्बर प्रदेश अधिवेशन सोमबारदेखि बुटवलमा सुरु हुँदैछ । प्रदेशभरका ७३ गाउँपालिकाबाट २९२ जना प्रतिनिधिकोरुपमा सहभागी हुँदैछन् । कस्तो त छ अधिवेशनको तयारी ? महासंघ ५ नम्बर प्रदेशका संयोजक मधुकृष्ण पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश–

प्रश्न नम्बर १ : अधिवेशनको तयारी कस्तो भइरहेको छ ?
अधिवेशनको सबै तयारी पूरा भएको छ । यो प्रथम अधिवेशन हो । ७३ वटा गाउँपालिका छन् । अध्यक्ष, उपाध्यक्ष अनिवार्य, वडा अध्यक्षमध्ये र वडा सदस्यमध्येबाट एक–एक जना सहभागी हुनुहुन्छ । उहाँहरु बुटवल आउनेक्रम जारी छ । अधिवेशन उदघाटनभन्दा अगाडि सबै आइसक्नुहुन्छ ।

प्रश्न नम्बर २ : अधिवेशनको कार्यक्रम के–के छन् ?
अधिवेशनको बिहान साढे ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्नुहुन्छ । त्यसपछि प्रतिवेदन प्रस्तुति र छलफलको कार्यक्रम हुन्छ । घोषणपत्र र नेतृत्व चयनको कार्य भने १६ गते हुन्छ ।

प्रश्न नम्बर ३ : छलफलका एजेन्डाहरु के–के छन् ?
अधिवेशनमा खासगरी प्रदेश र संघीय सरकारसँगको सहजीकरण र सहकार्यबारे केन्द्रित हुन्छ । हाम्रा साझा समस्याहरु, चुनौती समाधानका उपायहरुबारे पनि छलफल गर्छौं । त्यसपछि अर्को दिन बुटवल घोषणापत्र जारी हुन्छ ।

प्रश्न नम्बर ४ : अहिले अधिकारसम्पन्न स्थानीय तहले भोगेका समस्याहरु के–के छन् ?
धेरै समस्या छन्, तर सटिकरुपमा भन्दा भौतिक पूर्वाधारको पाटो, कर्मचारी व्यवस्थापन, संविधानका एकल अधिकार, साझा अधिकार प्रयोगका विषय जटिल छन् । आम जनताको सुख सम्पन्नताका विषयमा हामीले काम गर्नुपर्नेछ ।

प्रश्न नम्बर ५ : एक वर्षको स्थानीय सरकार सञ्चालको अनुभव कस्तो रह्यो ?
स्थानीय सरकार सञ्चालनको एक वर्षको कामबाट जनताले राम्रो अनुभूत गर्न पाएका छन् भन्ने लागेको छ । पूर्णता लामो अभ्यासपछिमात्रै हुने हो । लामो संघर्षपछि स्थानीय सरकार आएकाले फरक अनुभूति जनतालाई पनि भएको छ । सबै क्षेत्रमा काम सुरु गरेका छौं । बाटो, खानेपानी, शिक्षा रोजगारीका अवसर सृजना, वातावरणीय असर उत्पादनमा जोडिएर जानुपर्छ भन्ने कामहरु भइरहेका छन् ।