सन्धिखर्कका उपमेयर बिक भन्छन्, ‘कुरा गरेर खाने जमाना गए’

११ महिना अगाडि

सन्धिखर्क, ५ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार बिकले कुरा गरेर खाने जमानाको अन्त्य भएको बताएका छन् । उनले सरसफाई मानिसको दैनिकी भएको बताउँदै हराभरा नगरपालिका बनाउने महान अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

संविधान दिवसको पूर्वसन्ध्यामा नगरपालिका परिसरमा सरसफाई गर्ने अभियानको शुभारम्भ गर्दै नगर उपप्रमुख बिकले अबको बाटो भनेको आर्थिक क्रान्ति भएको बताएका हुन् । उनले मुलुकमा अब सबैखाले क्रान्ति सफल भएको बताउँदै अबको बाटो आर्थिक सामाजिक पर्यटन र कृषि क्रान्ति भएको बताए । उनले जनताको काम छिटो छरितो मुस्कान सहितको सेवा उपलब्ध गराई जनमुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

आफूहरुबाट जनताले ठूलो आशा गरेको बताउँदै नगरपालिकालाई नमुना बनाउने महान अभियानमा लाग्न सबैलाई आग्रह गरे । बेरोजगारी समस्या समाधान गर्नका लागि पनि आफुहरुले नयाँ नयाँ योजना नगरपालिकामा भित्र्यान थालेको उनले बताए । उनले नगरपालिका स्वच्छ हराभरा तथा भष्टाचारमुक्त बनाउने अभियानमा लागेको बताउँदै सकरात्मक सुझाव/सल्लाहको खाँचो रहेको बताए ।

योजनाहरुबाट जनता पूर्ण रुपमा सन्तुष्ट हुने गरि काम गर्नु जनप्रतिनिधिहरुको मुख्य दायित्व रहेको बताउँदै उपप्रमुख बिकले त्यसबाट पन्छिन नहुने उल्लेख गरे । गुणस्तरीय काम नगर्ने जो कहिलाई नछाड्ने उपप्रमुखको चेतावनी छ ।

अभियानमा प्रमुख प्रशासकीय अधिकृत निराज पौडेल, शाखा अधिकृत गोविन्द केसीलगायतले हराभरा नगरपालिका बनाउने अभियानमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए । संविधान दिवसको अवसरमा सबै सरकारी कार्यालयहरुले पनि सरसफाई गरेका छन् ।