सानुकाजी मर्हजनलाई छैठौं निकोन विवाह फोटो अवार्ड

११ महिना अगाडि हिना सुवाल

काठमाडौं, २ असोज । केपीए निकोन वेडिंग -विवाह_ फोटो अवार्ड २०१८ सानुकाजी महर्जनले हात पारेका छन् । काठमाडौं फोटोग्राफर संघको आयोजनामा भएको अवार्डमा महर्जनले एक हजार पाँच जना फोटोग्राफरलाई पछाडि पार्दै उत्कृष्ट हुन सफल भएका हुन् । दोस्रोमा रामजी नेपाल र तेस्रोमा हरिश खड्गीले खिचेको फोटोहरु परेका छन् । साथै अभिषेक महर्जनले खिचेको फोटो चौथौ र कुमार गुरुङले खिचेको फोटो पाँचौ भए ।

प्रतियोगितामा सहभागी एक हजार पाँच सय फोटोहरुमध्ये उत्कृष्ट एक सय फोटोग्राफरहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । वरिष्ठ फोटोग्राफर बखतबहादुर चित्रकारले सर्वोत्कृष्ट फोटोग्राफरहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष भवदेव थापामगरले फोटोग्राफरहरुलाई दक्ष एवं अव्वल प्रतिस्पर्धी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । उत्कृष्ट तीन विजेताहरुलाई अवार्ड तथा निकोन ब्राण्डका डीएसएलआर क्यामेराहरु प्रदान गरिएको थियो । अन्य उत्कृष्ट २० प्रतियोगीहरुलाई विविध पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उत्कृष्ट सय जनालाई भने प्रमाणपत्र वितरण गरिएको थियो । नेपालका सबै स्थानका फोटोग्राफरहरु समावेश भएका थिए । यसका लागि विवाह समारोहमा खिचेका फोटोहरु पठाउनुपर्ने नियम बनाइएको थियो । कार्यक्रम संयोजक जीवनाथ काफ्लेले दुई तिहाई फोटो विदाईका रहेको जनाए ।

गत वर्षमा एक हजार दुई सय फोटोग्राफरहरु सहभागी रहेको जनाइएको छ । कार्यक्रमको मुख्य प्रायोजक निकोन थियो । फोटो पठाउने विभिन्न माध्यमहरु बनाइएको थियो । तोकिएको संकलन केन्द्र वा काठमाडौं फोटोग्राफर संघको वेभसाइटमा गई तोकिएका शर्तहरुको अधिनमा रही फारम भरी सोही संकलन केन्द्र वा संघको इमेलमा पठाउन सकिने व्यवस्था मिलाइएको थियो ।