मृतक र पीडित परिवारलाई सहयोग

१ वर्ष अगाडि ७६१ खवर डटकम

सल्यान, २ असोज । नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री तथा संघीय प्रतिनिधि सभा सदस्य माननीय टेक बहादुर बस्नेतले बागचौर नगरपालिका वडान ४ सिमखोली सेतिगुराँस र बागचौर नगरपालिकाका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका दुई परिवारलाई घर बनाइदिने प्रतिबद्धता गरेका छन् । गत शनिबार दुबै ठाउँको राहत वितरण कार्यक्रममा बोल्दै संघीय प्रतिनिधि सभा सदस्य बस्नेतले आफुलाई बागचौर नगरपालिकाको छुट्टाछुटै दुई घट्नाले भावबिहवल गराएको बताए । दुई घटना घटेलगतै घटनाको बारेमा प्रतिनिधि सभामा आफुले कुरा राखेको र केन्द्रीय सरकारलाई घटनाको बारेमा ध्यानाकर्षण समेत गराएको बस्नेतले बताए । घटना घटी सकेपछि मृतक प्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना प्रकट गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको उपस्थिति हुनु नै ठूलो कुरा भएको उनको भनाई थियो । बस्नेतले पीडित परिवारले पाउने राहतलाई व्यवस्थित गर्न र एक द्वार प्रणालीमा लैजानको लागि स्थानीय सरकारसँग समन्वय गरेर कोश खडा गर्न या खाता संचालन गर्न सुझाव दिएका थियो ।

राहत वितरण कार्यक्रम बोल्दै कर्णाली प्रदेश सभा सदस्य माननीय गुलावजङ्ग शाहले बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट मृतक प्रतिव्यक्ती ३० हजारका दरले घटनाका पीडित परिवारलाई ९० हजार रुपैयाँ हस्तान्तरण गरे । प्रदेश सभा सदस्य शाहले सबैको एक्यवद्धता भएको यी दुई घटना नेपालमै पहिलो भएको बताए । मानवीय संवेदनालाई ख्यालमा राखी सहयोग गर्ने यो प्रथाले आगामी दिनमा समेत सकारात्मक प्रभाव पार्ने बताए । यसअघि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले बागचौर नगरपालिका वडा नं.४ सिमखोलि सेतिगुराँसका पीडित परिवारलाई मृतक प्रतिव्यक्ति ३० हजारका दरले १ लाख ५० हजार राहत रकम प्रदान गरेका थिए । जिल्ला दैवीप्रकोप उद्दार समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले सेतिगुराँको पीडित परिवारलाई १ लाख र ओख्रेनिको परिवारलाई ७५ हजार राहत रकम प्रदान गरेका थिए । बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले छिमेकी नगरपालिका दुःखद् छुट्टाछुटै दुईवटा घटना घट्नुले आफुहरुलाई समेत पीडा परेको भन्दै मृतकका दुवै परिवारलाई २५ हजारका दरले ५० हजार नगद राहतको घोषण गरे । सिद्धकुमाख गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रतिनिधि वडा नं. १ का वडा अध्यक्ष राम बहादुर बस्नेतले मृतक दुई परिवारलाई आफ्नो गाउँपालिकाको तर्फबाट ४० हजार राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी दुवै घटनाका पीडित परिवारलाई राहत स्वरुप दार्मा गाउँपालिकाबाट ५० हजार, शारदा नगरपालिकाबाट ३० हजार, छत्रेश्वरी गाउँपालिकाबाट ५० हजार, कालिमाटी गाउँपालिकाबाट ३५ हजार, कुमाख गाउँपालिकाबाट ५० हजार, त्रिवेणि गाउँपालिकाबाट ३० हजार, कपुरकोट गाउँपालिकाबाट २५ हजार, सल्यानी युवा संजालबाट ५० हजार, सल्यान जेसिसबाट २६ हजार ३ सय ५५ र सल्यान सरोकार समाजबाट १५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
अहिलेसम्म जम्मा ९ लाख ७६ हजार ३५५ रकम प्रदान गर्ने नगद रकम सहित प्रतिबद्धता प्राप्त भएको छ । यता नेपाल रेडक्रस सोसाइटी सल्यानको तर्फबाट दुवै घटनाका पीडित परिवारलाई विभिन्न जिन्सी सामान तथा भाँडाबर्तन हस्तान्तरण गरिएको छ । राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले दुःखद घटनामा साथ सहयोग दिने केन्द्रीय सरकार, प्रदेश सरकार र सल्यान जिल्लाका दश वटै स्थानीय सरकारहरुलाई धन्यवाद दिए ।

मानवीय सभ्यतालाई ख्यालमा राख्दै दुखद घटनाका पीडितलाई मलम लगाउने नयाँ संस्कार बसालेको भन्दै यो संस्कारलाई सल्यान जिल्ला लगाएत अन्य ठाउँमा घट्ने जोकोही घटनामा पनि बसाल्न जरुरत रहेको बताए । नगर प्रमुख बुढाथोकीले पहिलो चरणमा दुईवटा घटनाका मृतक ८ जनालाई प्रतिव्यक्ती क्रीया खर्च बापत २५ हजारका दरले २ लाख नगद हस्तान्तरण गरे ।
उनले तत्काल पीडित परिवारका लागि दीर्घकालीन तथा अल्पकालीन कार्यक्रमको समेत तय गर्ने बताए । नगर प्रमुख बुढाथोकीले नगरभित्र विभिन्न कारणले अभिभावक गुमाएका अनाथ बालबालिकाहरुको प्रारम्भिक तथ्यांक संकलनको काम भैरहेको र बागचौर नगरपालिकाले आफ्नै लगानीमा एक अनाथ आश्रम स्थापना गरि उनीहरुको शिक्षा, स्वास्थ्य, पालन पोषणको समेत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे कार्यक्रममा पीडितले आफुलाई अभिभावक मानि रहेको अबस्थामा,आफ्नो अभिभावकको भुमिकामा प्रदेश सभाका प्रतिनिधि र संघीय प्रतिनिधि सभाका प्रतिनिधि घटना स्थलमै पुगेको देख्दा आफुलाई समेत राहत महसुस भएको बताउनु भएको छ ।