दुनैमा सडक पुग्न अब ५ सय मिटर मात्र बाँकी

११ महिना अगाडि रोजीना के.सी.

डोल्पा, २ असोज डोल्पाली जनताको सपना पुरा गर्न नेपाली सेनाले अहिले अन्तिम कसरत गरीरहेको छ । दशैं सम्ममा डोल्पाली जनतालाई सडक सञ्जालसँग जोड्न सेनाको टोली खटिएको छ । जाजरकोट–डोल्पा मोटरबाटो निर्माण अन्तर्गत अहिले खदाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । डोल्पाको दुनैसम्म पुग्न अब पाँच सय मिटर मात्र बाँकी छ । चरा पनि बस्न नसक्ने विशाल भिमकाय पहाड छिचोल्दै सडक निर्माण गर्नु निकै चुनौती पूर्ण काम हो ।

दुई वर्ष अघि नै डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न सफल नेपाली सेनाको टोली अब डोल्पाको दुनैलाई लक्ष्य बनाएर निर्माणको काम गरीरहेको छ । दशैं सम्ममा दुनैमा मोटरवाटो पुग्ने नेपाली सेनाको सडक निर्माण कार्य दल प्रमुख विश्वबन्धु पहाडीले बताए । कुल लम्बाई ११७ दशमलव ७ किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जीरो पोईन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माणकार्य थालनी गरिएको थियो । डोल्पा दुनैलाई सडक सञ्जालमा जोड्ने अन्तिम भीरको रुपमा त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने तरपरे भीरमा सेनाले काम गरिरहेको छ । खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भीर, श्रीबिण्डे भीर, फोई भीर लगाएत दर्जनौ विशाल भीर छिचोलेर मोटर हिड्न मिल्ने बनाइको छ ।

यतिन्जेल सेनाको टोलीले मनमई भीर
, काला पहाड, तल्नु भीर, कुच्ची भिर, चिप्ले भीर, एरी बथान भीर, फोई भीर जस्ता चरा समेत बस्न कठिन हुने भीर समेत छिचोल्दै सडक निर्माण गरेको हो ।
डोल्पासम्म सडक पुर्याउनका लागि ज्यानको बाजी लगाएर सेना कामदारले काम गरिरहेको उनले बताए । “अब डोल्पाली जनाता सडक सपना नजिक छन्, जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भीरको रुपमा तरपरे भिरमात्रै बाँकी कार्यदल प्रमुख पहाडीले भने । “डोल्पालीका दुःखका दिन गए, डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन् ”उनले भने । “अब ५ सय मिटरमात्रै सडक निर्माण गर्न बाँकी रहेको उनले बताए ।