विद्यार्थीलाई निःशुल्क पोशाक

१ वर्ष अगाडि नारायण कुवँर

घोराही, २ असोज । घोराही उपमहानगरपालिका २ नं. वडाले रात्रि प्रावि पलासेका विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोशाक वितरण गरेको छ । वडाध्यक्ष केशवराज आचार्यले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा पोशाक वितरण गरेका हुन् । पोशाकमा विद्यालय आउँदा अनुशासन कायम हुने र विद्यार्थीहरुलाई नियमित कक्षा आउन प्रोत्साहन गर्नका लागि विद्यालयका १ सय ६० जना विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चामबहादुर विकले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चौधरीको अध्यक्षता तथा वडाध्यक्ष केशवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको पोशाक वितरण कार्यक्रममा वडा सदस्य टार्जन खड्कालगायतले सम्बोधन गरेका थिए । पोशाक वितरणले विद्यार्थीहरुलाई नियमित कक्षामा आउन सहयोग पुग्ने र पठनपाठनमा टेवा पुग्ने वक्ताहरुको भनाइ थियो । घोराही उपमहानगरपालिका वडा नं. २ लाई बालमैत्री वडा बनाउन कार्यालयले विद्यार्थीहरुलाई पोशाकको व्यवस्था गरेको अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार यसअघि वडाका विभिन्न ७ वटा विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिसकिएको छ ।