जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ।दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन् ।उनले सोमबार जनकपुर विमानस्थलमा भएको घटनाबारे यथार्थ जानकारी र तोडफोड तथा दुर्व्यवहारबारे प्रहरीमा जाहेरी दिन बुद्ध एयर तथा कर्मचारीलाई अनुरोध गरेका छन्। ‘घटनाको संक्षिप्त जानकारी पाएलगत्तै मैले जनकपुर प्रहरीलाई अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिइसकेको छु,’ कार्कीले सेतोपाटीसँग भने, ‘घटना गराउने जो कोहीलाई कानुनी दायरामा ल्याउँछु।’उनले तोडफोड भएको भए त्यसको विवरणसहित जाहेरी दिन आग्रह गरे। ‘जाहेरी आए म प्रचलित कानुनअनुसार संलग्नलाई कारबाही थाल्छु,’ कार्कीले भने, ‘कुनै क्षति भएको भए त्यो पनि भराइने छ।’समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेका थिए।उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए। सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए।व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुस्ख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए।आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले काउन्टरमा मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ।अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए।बुद्ध एयरको काउन्टरमा यस्तो घटना भएपछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको छ। उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।