प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

३ वर्ष अगाडि

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेवको पक्षमा जनमत जुटाउन सहज छैन, राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन, तर पनि प्रस्तावले वामदेव सधैँझैँ उत्साही भएका छन्


‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनमा दिन्नँ । हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । यस्तो वेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ ।’
प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’