धनगढी, २९ साउन - सुदूरपश्चिम प्रदेशको प्रदेश सभावाट लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि सरकारलाई कर्मचारी भर्नाको वाटो खुलेको छ । विधेयक पारित भएसँगै प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्न पाउने बाटो समेत खुलेकाले अव कर्मचारी भर्नाको तयारी सुरु हुने जनाईको छ ।प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेकाले विधेयक अनुसार प्रदेश सरकारले अब आफै कर्मचारी भर्ना गर्ने जनाउँनुभयो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि प्रदेश लोकसेवाआयोगमा टेकेर प्रदेश कर्मचारी भर्नाको प्रक्रिया सुरु हुने जनाएको छ ।सङ्घीय निजामती ऐन र प्रदेश निजामती ऐन आए लगत्तै कर्मचारी भर्ना प्रक्रिया सुरु गरिने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले जानकारी दिनुभएको छ । प्रदेश लोकसेवा आयोग सम्बन्धित व्यवस्था गर्न बनेको विधेयकले प्रदेश निजामती सेवाको नियुक्ति, उपयुक्त उमेदवार छनोट प्रक्रिया र परीक्षा सञ्चालन गर्नेबारे उल्लेख गरेको छ। अहिले कर्मचारीबारे तथ्याङ्क सङ्कलन गर्न काम भइरहेको र अव छिट्टै भर्नाको प्रक्रिया अगाडि वढ्ने जनाइएको हो।लोक सेवाआयोगकै प्रकियाअनुसार प्रदेशमा कर्मचारीको भर्ना सुरु गरिने र यसवाट कर्मचारी अभाव अन्त्य हुने जनाइएको छ । प्रदेशमा दुई हजार ३११ जना कर्मचारीको दरबन्दी रहे पनि अझै सबै कार्यालयमा कर्मचारीको पदपूर्ति हुन नसकेको जनाइएको छ ।