भक्तपुर, ३ साउन – झापाको भद्रपुर नगरपालिकाले नगरभित्र ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार कृषि क्षेत्रको विकासकका लागि कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षाका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने, नगरभित्र रहेका व्यावसायिक कृषि पेशामा संलग्न व्यक्ति, फर्म, कृषक समूह, कृषि उद्यमी, व्यावसायिक संघ–संगठन सूचीकृत गर्ने नीति अवलम्वन गरेको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।नगरले कृषि क्षेत्रको विकासमा जोड दिदै सहकारीमार्फत कृषकहरुलाई सहज रुपमा कृषि ऋण तथा अनुदानको व्यवस्था गरी सहकारितामा आधारित सामूहिक खेती प्रणाली प्रवद्र्धन गर्ने नीति समेत लिएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।कृषि संकलन केन्द्र स्थापना गरी विषादीरहित कृषि उत्पादनको बजारीकरण गर्न त्यस्ता उत्पादनको छुट्टै बिक्रीकक्ष निर्माणका लागि सहकारी संस्थाहरुसँग सहकार्य गर्ने, कृषिवस्तु उत्पादन हुने क्षेत्र पहिचान गरी उत्पादन र उत्पादकत्व बढाउने गरी सामूहिक वा सहकारी प्रणालीद्वारा भौतिक पूर्वाधार, उपकरण, मल, बीउ, तालिमको व्यवस्था गर्ने नीति समेत चालु आर्थिक बर्षमा लिएको छ ।