जाजरकोट, २८ असार - जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सिमा विवाद बढेको छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कवेन्द्रकुमार केसी लगायतको टोली आएर शुक्रबार छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको टोली आएर सिम्ता गाउँपालिकाले राखेको साईन बोर्ड पालेर आफ्नो वोर्ड राखेपछि विवाद देखिएको हो ।जाजरकोटको शिवालय गाउँपालिका १ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आ(आफ्नो दावी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको वोर्ड फालापाल अवस्थामा पुगेको हो। शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसेकेकोले विवाद गर्न जरुरी नभएको जनाउँनुभयो । सर्वोच्च अदालतले छेडाचौरको खोलादेखि पारी पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वमा जाजरकोट भनी प्रमाणित गरिसकेकाले पुरानो घाउँ बल्झिरहेको उहाँको भनाइ छ । पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठनपछि पुनः बल्झिएको स्थानीयले बताएका छन्।