काठमाडौँ, सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ ।देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेर फलफूल बिरूवा रोपणका लागि वर्षेनी कार्यक्रम राख्न आग्रह गरेको हो ।‘हरेक वर्ष फलफूलका बिरूवा रोपण गर्ने कार्यक्रम अनिवार्य रूपमा वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने,’ मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ ।‘स्थानीय तहको स्वामित्वमा रहेका खाली जमिनमा भौगोलिक अनुकूलताअनुसार फलफूल रोप्न र निजी जमीनमा पनि फलफूल रोप्न कृषकहरुलाई अभिप्रेरित गर्ने कार्यको नेतृत्व स्थानीय तहले निर्वाह गर्ने,’ मन्त्रालयका शाखा अधिकृत जनकराज शर्माले स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।मौसम र भौगोलिक अनुकुलता हेरेर फलफूलका बिरूवा रोप्न मन्त्रालयले बिरूवा संख्या र प्रजातिको विवरण खुलाएर १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जानकारी दिन पनि निर्देशन गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले अहिलेसम्म २३ लाख १६ हजार ७ सय ३९ वटा फलफूलका बिरूवा र ५ लाख ७४ हजार एक सय ८० अन्य बिरूवा रोपिएको बताएका छन् ।साथै सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका देशभरका कार्यालय परिसरमा फलफूलका बिरूवा रोप्न अनुमानित फलफूलका बिरूवाको संख्या रक्षा र गृह मन्त्रालयमा पठाउन आग्रह गरेको छ ।विद्यालय, विश्वविद्यालयका खाली जमीनमा पनि फलफूल रोप्न आग्रह गरिएको हो । फलफूलका बिरूवा स्थानीय तहले माग गरेअनुसार दिन सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।