भद्रपुर नगरपालिका, झापा मेयर साप दिनहरु कसरी बित्दैछन् ?सामान्यभन्दा फरक छ । भद्रपुरको जनताका सेवा र विकास–निर्माणका कार्यमा अधिकांश समय बितिरहेको छ । नगरसभाले निर्णय गरेका योजनाहरु परिचालन गर्ने काममा लागि रहेको छु ।तपाईं सार्वजनिक कार्यक्रममा जाने तालिका कसरी मिलाउनुहुन्छ ? अथवा तपाईंको प्राथमिकता कस्ता–कस्ता कार्यक्रममा हुन्छ ?साँच्चै भन्ने हो भने त्यस्तो तालिकै हुँदैन । नगरभित्रका संघ–संस्था, निकाय, समूह, समाजहरुले आफ्नो कार्यक्रममा बोलाउनुहुन्छ । कसैले केही दिनअघिदेखि नै तयारी गर्नुभएको हुन्छ, केहीको अपर्झट कार्यक्रम बन्छ । कहिलेकाहीँ तालिका बेगर पनि कार्यक्रममा उपस्थित हुनुपर्ने हुन्छ । नगरप्रमुखको नाताले सबैले अधिकांश कार्यक्रममा प्रमुख अतिथिको रुपमा जानुपर्ने हुन्छ । नजाँदा पनि हुँदैन, नगरका नागरिकको सेवा गर्न भनेर नै नगरप्रमुख भइएको छ । नगरमा भएका कार्यक्रम सबै नै महत्वका हुन्छन् । त्ययसकारण यो कार्यक्रममा जाने, यो कार्यक्रममा नजाने भन्ने कुरै आउँदैन । तर, आफ्नो कार्यालयमा कुनै महत्वपूर्ण काम गर्नुपर्नेछ भने पहिलो प्राथमिकता त्यसलाई दिन्छु ।दिनमा कतिवटा सम्म कार्यक्रममा आतिथ्यता गर्नुहुन्छ ?समय र परिस्थिति अनुसार कहिले कार्यक्रमको निम्तो नहुन सक्छ । त्यस्तो बिरलै मात्र हुन्छ । कार्यालयमा मेरो कत्तिको आवश्यकता छ, त्यो बुझ्छु । सामान्यतया एउटादेखि पाँचवटा पर्दछन ।सार्वजनिक कार्यक्रममा बढी समय दिँदा कार्यालयमा बसेर गर्नुपर्ने काममा बाधा पुगेको महसूस गर्नुभएको छैन ?अहिले नगरको अधिकांश काम वडाबाटै हुन्छ, मुख्य कार्यालय धाइरहनुपर्ने छैन । निश्चय पनि बाहिरका कार्यक्रमका कारण नीति–निर्माण, निर्णयका कतिपय नगरको उच्चतहमा गरिनुपर्ने चिन्तन, छलफल र अध्ययनजस्ता विषयमा समय केही कम चाहिँ हुन्छ तर समयको व्यवस्थापन गर्न जानेको छु मैले । अलि फरक प्रसंग, तपाईं कति सालदेखि भद्रपुरलाई जान्नुहुन्छ ? तपाईंले थाहा पाउँदाको भद्रपुरको बयान सुनौंं न ।ममा चेतना आएदेखि झण्डै साढे चार दशकदेखि जान्दछु भद्रपुरलाई । ०४०–०४५ सालसम्मको भद्रपुर अहिले वयान गर्दा अहिलेको युवा पीडिका लागि एकादेशको देशको कथाजस्तो लाग्न सक्छ । झण्डै ०५० को दशकसम्म भद्रपुर पूर्वकै प्रमुख व्यापारिक केन्द्रमध्येको एक थियो । भारतलगायत तेस्रो मुलुकनिर्यात–आयातको ट्राञ्जिट पोइन्ट थियो । भद्रपुर नाकाबाट भारतको गलगलिया हुँदै भारतकै विभिन्न शहरमा धान–चामलजस्ता खाद्यान्न र सनपाटजस्ता वस्तु निर्यात हुन्थे । जिल्लाभरिका धान भद्रपुरमा एकीकृत हुन्थ्यो । गारु तथा राँगागाडीमा धान ल्याइन्थे । दैनिक सयौं गाडी धान आउँथे, सनपाट आउँथे । दक्षिणमा केचना, पश्चिममा राजगढ, उत्तरमा बाहुनडाँगीसम्मका उपभोक्ता दैनिक उपभोग्यका सामान किन्न भद्रपुर आउँथे । दुईदर्जनजति राइसमिल थियो भद्रपुरमा । एकदर्जनभन्दा बढी चियो उद्योग थिए ।भद्रपुर २००८ सालमा स्थापना भएको नगरपालिका । अरु नगरपालिका स्थापनापछि क्रमश विकसित र गुल्जार हुँदै गएका छन् । तर भद्रपुर त झन् झन् खिइदै गएको छ । किन होला ?सबैभन्दा पहिलो कारण राजमार्ग उत्तरतर्फ जानु हो र भद्रपुर तीव्र गतिमा विकास भइरहेको अवस्थामा पनि मेची पूल यहाँ नबनेर काँकरभिट्टामा बन्नु हो । दोस्रो, सदरमुकाम क्षेत्रको विकासमा कुनै पनि सरकारको ध्यान पुग्न सकेन । तेस्रो, यहाँका उद्योगी–व्यवसायी विस्तारै विर्तामोड, धुलाबारीतर्फ सरुवा हुँदै गए भने गाउँ–गाउँसम्म सडक र यातायातको सुविधा पुगेपछि त्यहीँ व्यवसाय खुले, आवश्यक सामान गाउँमै पाइन थाल्यो र उपभोक्तालाई भद्रपुर आरहनु नपर्ने भयो । यसरी भद्रपुरको उद्योग–व्यापार खुम्चिँदै गएको हो । तर, फेरि एकपटक आशा पलाएको छ— भद्रपुर पुरानै स्वरुपमा आउँछ भन्ने । हामी पनि प्रयत्न गरिरहेका छौं । अर्कोतिर, मेची पूल निर्माण भई सञ्चालनमा आइसकेको छ । विराटनगरलाई जोड्ने हुलाकी राजमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ । हुलाकी सहायक राजमार्ग अर्थात केचनादेखि ताप्लेजुङ जोड्ने मेची सडकको झापाको खण्डमा कोलोपत्रे भइरहेको छ । भद्रपुर छोटी भन्सार मूल भन्सारमा स्तरोन्नति भइसकेको छ। चन्द्रगढी विमानस्थलमा रात्रीकालीन सेवा शुरु भइसकेको छ भने अन्तर्राष्ट्रियस्तरको बनाउने योजना अघि बढिसकेको छ । यसरी पूर्वाधार विकासको गतिविधि फेरि शुरु भएको छ भद्रपुरमा र योसँगै औद्योगिक–व्यावसायिक विकास पनि हुँदै जाने विश्वास छ ।तपाईंले कुनै बेला देखेका उद्योगधन्दा, व्यापार–व्यवसाय यहाँबाट किन अन्तै सर्नुपरेको हो ?उद्योग–धन्धा र कामका स्वरुप परिवर्तित भएका छन् र हुन्छन् पनि । त्यसलाई स्वाभाविक मान्नु पर्छ । व्यापार–व्यवसाय उद्योगका लागि अवागमन, पहुँचमार्ग र बजारीकरणको सुलभ स्थलको खोजीमा उद्योग–धन्धा अन्यत्र सरेका हुन् । अब फर्किने क्रम शुरु भएको छ ।यहाँका उद्योगधन्दा बन्द भए, व्यापार व्यवसाय ओरालो लाग्यो । अब नयाँ उद्योगहरु खोल्न र व्यवसायमा आकर्षण बढाउन नगरपालिकाले लिएको नीति के हो ?नगरपालिकाले भू –उपयोग नीति सम्बन्धि गुरुयोजना तयार पारेको छ । के–कस्ता उद्योगहरु भद्रपुर क्षेत्रमा विस्तार गर्न उपयुक्त हुन्छ भन्ने विषयमा सरोकारवाला पक्षहरुसँग छलफल परामर्श गरी उद्योग नीति तयार गरिने छ । नगरबासी र उद्यमीहरुको अनुकूलताअनुसार सन्तुलित नीति अवलम्बन गरिने योजना छ ।तपाईं अब कस्तो भद्रपुर बनाउन चाहँदै हुनुहुन्छ ? तपाईंको सपनाको भद्रपुर कस्तो छ ?सामाजिक सद्भाव, जातीय, धार्मिक, सामाजिक एकता, भौतिक पूर्वाधार विकासले सुसम्पन्न, सूचना–सञ्चारको सुलभ तथा पर्याप्त उपलब्धता, शिक्षा–स्वास्थ्य, खानेपानीमा भद्रपुरवासीको सहज पहुँच, मनोरञ्जनात्मक स्थल भएकोलगायत पूर्णरुपमा सुविधासम्पन्न नगर बनाउने सपना छ ।यसका लागि राजनीतिक दल र नगरकार्यपालिकाको सहयोग छ त ?हामी आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न होइन, भद्रपुर नगरवासीको सेवा गर्न जनताकै सेवक भएर नगरपालिकामा आएका हौं । अतः नगरपालिकाले अगाडि बढाउने नीत तथा कार्यक्रम र योजना जनताको लागि हुनेछ । यस कुरामा कसैले असहयोग गर्छ भने ऊ भद्रपुरवासीप्रति उत्तरदायी छैन भन्ने बुझ्दा हुन्छ । मलाई लाग्छ राम्रा कामका लागि असहयोग हुने कुरै छैन । अहिलेसम्म भएको छैन र आगामी दिनमा पनि सबैको सहयोग हुने कुरामा म विश्वस्त छु ।नगरपालिकाले अघि सारेका दीर्घकालीन विकासका योजना के–के छन् ?सर्वप्रथम त हामीले नगरको समग्र पक्षको अध्ययन–अवलोकन गरेर एकीकृत शहरी विकास गुरुयोजना तयार पारिसकेका छौं । हाम्रो नगरको विकासको गाइडलाइन त्यही नै हुनेछ । अर्को कुरा सडक कालोपत्रे, पर्यटकीय क्षेत्रको समुचित विकास, वडा तथा नगरपालिका कार्यालय भवन निर्माण, नदी नियन्त्रण, स्वास्थ्य क्षेत्रमा सुधार, साइन्स सिटी निर्माण, लघु उद्यमको विकास, खानेपानीको सरल पहुँच, टोल–टोलमा विद्युत र चुहावटरहित नगर, नगर गौरव र नमूना सडकको पहुँच, सुशासन, सूचनाप्रविधिमैत्री नगर, बालमैत्री नगर, सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयसरहको अवस्थामा पुर्याउने किसिमका योजना दीर्घकालीन सोचका साथ अघि बढाइएको छ ।सामाजिक सेवाका लागि नगरपालिकाले बनाएका नीति र कार्यक्रम के–के हुन् ? तिनमा हालसम्म प्राप्त भएका उपलब्धि कस्ता छन् ?टोल विकास संस्था संचालन कार्याविधि, सेफ हाउस संचालन कार्यविधि, अपांगताको क्षेत्रमा आईटुसी कार्यक्रमलाई अघि बढाइएको छ । मदिरा नियन्त्रण, बजार अनुगमन, सिसि टिभि जडान, ट्राफिक व्यवस्थापनजस्ता महत्वपूर्ण काम भइसकेका छन् अन्य कामहरु पनि अघि बढिरहेका छन् ।नगरपालिकाको मुख्य प्राथमिकताका योजना के–के हुन् ?सडक सञ्चालन, पर्यटकीय क्षेत्र विस्तार, सामुदायिक वनहरुमा सिमसार तथा पर्यटकीय स्थल विकास, साइन्स सिटी, किच्चकबध संरक्षण–सम्बद्र्धन, खानेपानी पहुँच, टेलिफोन सम्पर्क, सूचनाप्रविधि मैत्री नगर, गुरुयोजनाहरुको निर्माण, बालमैत्री नगर, स्वास्थ्यसेवा विस्तार, व्यवस्थित वधशाला, शवदाह गृह, जेष्ठ नागरिकमैत्री भवनहरु, वस्तुगत स्रोतहरुलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ ।कार्यभार सम्हालेको २० महिनाको अनुभवको आधारमा आफूले चुनावका बेला गरेका घोषणा पूरा गर्न सकिन्छ जस्तो लागेको छ कि नसकिएला जस्तो छ ?हामी चुनावका बेला गरेका बाचा–प्रतिबद्धतालाई नै शीरमा राखेर काम गरिरहेका छौं । यद्यपि, सीमित आन्तरिक तथा राज्यको स्रोतहरुले एकैपटक सबै प्रतिबद्धता पूरा नहुन पनि सक्छ । तर, सबै खाका तयार भइसकेको हुनेछ । त्यसलाई आउने सरकारले निरन्तरता दिनु पर्दछ । हामीले गुरुयोजना तयार पारेका छौं । अब कार्यान्वयनमा जानु छ । क्रमशः संस्थागत विकासको अवधारणाअनुरुप जानुपर्ने छ ।नगरपालिकामा काम गर्नुपर्दा कठिनाइ पनि महसूस गर्नुभएको छ ?स्वाभाविक हो । चुनौती र अवसरका बीचमा यो चरणमा रहेको लामो समय भएकोले जनअपेक्षा एकैपटक मुखरित भएको संघीयताको भु्रणले ताते–ताते गरिरहेको र भाइरसले संक्रमण गर्नसक्ने सम्भावना रहेको, आर्थिक, प्रशासनिक र भौतिक सेवासुविधा पनि परिपक्व नभएइसकेकाले समस्या थुप्रै छन् । समस्यालाई चिर्दै समाधान निकाल्दै अघि बढ्ने हो ।प्रदेश र केन्द्र सरकारसँग विकासका काममा समन्वय कस्तो छ ?नराम्रो छैन । यद्यपि भन्नैपर्ने हुन्छ, अझै पनि पहुँचका आधारमा विकास–योजना छनोट प्रक्रिया छ । पूर्णतया संघीय लोकतन्त्त गणत्रन्त राज्यभित्र यसलाई निस्तेज पार्ने र योजना बैंक निर्माण गरी स्थानीय तहमार्फत काम अघि बढाउनुपर्ने हुन्छ ।भद्रपुरको सपना मेची पूल थियो । त्यो निर्माण सम्पन्न भएको छ । यो पुल सञ्चालन भएपछि भद्रपुरलाई हुने फाइदा के के हुन् ?निश्चय पनि ७० वर्षदेखि भद्रपुरका नागरिकले देखिरहेको सपना पूरा भएको छ । मेची पूल भद्रपुरको विकासको मेरुदण्ड नै हो । अब यहाँबाट आयात–निर्यात व्यापार बृद्धि हुने आशा छ । बंगलादेशसँगको पनि सबैभन्दा छोटो दूरीमा पर्ने यो मेची पूल पर्यटक आवागमनको, व्यापार–व्यवसाय विस्तारको, आयात–निर्यात व्यापारको लागि कोसेढुंगा बन्नेछ । यद्यपि, दुबैतिर पहुँचमा निर्माण नभएकोले अहिले नै कायापलट हुने सम्भावना छैन । यसर्थ, मेची पुलको आवश्यकता र उपादेयता सिद्ध गर्न पनि भारततर्फ र नेपालतर्फ पनि पुलदेखि झापाचोकसम्म पहुँचमार्ग यथासक्य चाँडो निर्माण गर्न आवश्यक छ ।