चाँगुनारायणले नगरक्षेत्रभित्रै स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्ने

८ महिना अगाडि

भक्तपुर ।चाँगुनारायण नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख जीवन खत्रीले सो कुराको जानकारी दिनु भएको हो । निजीक्षेत्रको समन्वयमा फोहोरमैला व्यवस्थापन गरिनेछ ।

फोहोरमैलालाई श्रोतमै वर्गीकरण गरीने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक संघसंस्था, विद्यालय सहकारी लगायतका क्षेत्रहरुलाई पूर्ण सरसफाई तर्फ उन्मुख गराइने नगरप्रमुख खत्रीले बताउनु भयो ।

नगरको सुन्दरता अभिवृद्धि गर्न र वातावरणमैत्री नगर निर्माणका लागि हरित चाँगुनारायण एवं दिगो वन तथा वातावरण व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको छ । बहुक्षेत्रीय साझेदारीमा सार्वजनिक तथा वन क्षेत्रको संरक्षण र संम्बद्र्धन गर्दै वातावरणीय सन्तुलन कायम गर्दै वन्यजन्य क्षेत्रको बहुउपयोग गरी आय र रोजगारी सिर्जनालाई नगरपालिकाले प्राथमिकता दिने भएको छ ।

नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गामा वृक्षारोपणका साथै जलाधार क्षेत्रको संरक्षण गरी स्वच्छ, सफा खानेपानीको व्यवस्थापनका लागि पहल गरिने छ । पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सन्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै घर नक्सापास गर्दा सेफ्टी ट्यांकी निर्माण र २ वटा रुख रोप्नुपर्ने नीतिलाई नगरपालिकाले निरन्तरता दिएको छ ।