गत असोजमा इलाम नगरपालिकाले अधिकत्तम बच्चा जन्माउन प्रोत्साहन गर्दै भत्ता वितरण गर्नेगर्यो। नगरपालिकाले विवाहित नगरबासीलाई आह्वान गर्यो ‘पहिलो दोस्रो र तेस्रो बच्चा जन्माउनेलाई ३ हजार चौथोलाई ४ हजार र पाँचौलाई ५ हजार रुपैंया प्रोत्साहन भत्ता दिइनेछ ।’पूर्वी नवलपरासीको वौदीकाली गाउँपालिकाले असोज २८,२०७५ मा आफ्नो गाउँपालिकामा घरबास बस्ने गरी आउन आग्रह गर्दै निर्णय गर्यो‘वौदीकाली गाउँपालिकामा बसाईं सरेर आउनेलाई प्रति परिवार ३० हजार रुपैंया प्रोत्साहन भत्ता दिने ।’गाउँ रितिंदै गएको मेसो पाएपछि तेह्रथुमको छथर गाउँपालिकाले कातिकमा छिमेकी गाउँका गाउँलेहरुलाई आफ्नो गाउँपालिकामा रासोबासो मिलाएर आउने भए प्रति परिवार ५ लाख रुपैयाँ प्रोत्साहन वापत दिइने भनेर घोषणा गर्यो।जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्ने यी तीनवटै तह पहाडी भेगमा अवस्थित छन् । यी मध्ये वौदीकाली तराईको भनेर चिनिने पूर्वी नवलपरासीको विकट पहाडी गाउँपालिका हो । राजनीति जनताका लागि गरिने हो । विकास जनताका लागि गरिने हो । आफूसंग वा आफ्नो भूगोलमा जति बढी जनता हुन्छन् राजनीतिज्ञको ओज पनि त्यती नै बढ्दै जाने हो । तर जब आफ्नो क्षेत्रका मतदाता, नागरिक गाउँ छोड्दै अन्यत्र गएर राजनीतिक भूगोललाई विरानो बनाउनछन् तब राजनीति पनि जोखिममा पर्दैजान्छ । सायद, यही अनुुभूति गरेर यी तहहरुले जनसंख्या वृद्धिलाई प्रोत्साहन गरे ।पहाडकी रानी भनेर चिनिने इलाम जिल्ला । चियाबारीको सुन्दर इलाम जिल्ला । निराशमा डुबेको मान्छेलाई आशा र उत्साहमा फर्काउने इलाम जिल्ला । मान्छेलाई कर्म गर्न सिकाउने इलाम । यस्तो ठाउँको सदरमुकाम रहेको इलाम नगरपालिका । अनि फेरी यही इलामममा किन मान्छेको कमी भयो त ? नगरपालिकाले बच्चा जन्माउन आह्वान नै गर्नु पर्ने स्थिति किन आएको होला ? चार÷पाँचवटा सम्म बच्चा जन्माउने तोकेरै प्रोत्साहन दिनुले नगरपालिकामा मान्छेको खडेरी लागेको, जनशक्तिको अभाव भएको र त्यसका लागि विदेश वा अन्यत्रबाट जनशिक्त झिकाउनु परेको अवस्था देखाउछ । यस्तो निर्णयका पछाडी विविध प्रश्न र तर्कहरु आउने गर्छन् ।१७३.३२ वर्ग किलो मिटर क्षेत्रफल भएको इलाम नगरपालिकामा ४८ हजार ५ सय ३६ जनसंख्या छ । यहाँको जनघनत्व अर्थात प्रति वर्ग किलोमिटर क्षेत्रफलमा १२०० जना मानिस बस्छन् । २०१५ सालमा नगरपालिका घोषणा भएको इलामममा राज्य पुनर्संरचना आयोग २०७३ ले छेउछाउका बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयक र गोदक गाविक मिलाइदियो । यसैगरी साङरुम्वा, सिद्धिथुम्का र माइपोखरीका केही वार्डहरु पनि यस नगरपालिकामा मिसाइए ।किन चाहियो जनसंख्या ?इलाम नगरपालिकाका मेयर महेश बस्नेतले केही दिन ७६१ खबर.कमसँगको अन्तर्वातामा इलामममा जनसंख्या नपुगेरै बढाउन प्रोत्साहन गर्नु परेको बताएका थिए । तर किन पुगेन त इलामलाई जनसंख्या भन्ने कुरा उनले उल्लेख गरेका छैनन् । यसका लागि हामीले किन चाहियो जनसंख्या भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी हुन्छ । कति भूगोललाई कति जनसंख्या आवश्यक छ भनेर विभिन्न सिद्धान्तहरु नै प्रतिपादन भएका छन् । तर त्यतातिर नजाउँ ।कुनै पनि राज्य वा तह हुनका लागि भूगोल र जनसंख्या उत्तिकै महत्वपूर्ण हुन्छ । जस्तै इलामले २ लाख जनसंख्या पुर्याउन सकेको भए सायद एक स्तर वृद्धि भएर उपहानगर हुन्थ्यो । अन्य कारणका अतिरिक्त उपहानगर हुने जनसंख्याको एक चौथाइ पनि जनसंख्या नभएका कारण यो नगरपालिकामा मै सीमित हुनप¥यो । त्यसो हुँदा अहिले कै अवस्थामा इलामलाई थप जनसंख्या आवश्यक देखिदैन ।दोस्रो ,विकास तिव्र गतिमा गएको अवस्थामा, ठुला उद्योग, कलकारखाना खुलेर ठूलो संख्यामा मजदुरको माग भएको अवस्थामा पनि जनसंख्या आवश्यक पर्छ । तर जन्मलाई दिइने प्रोत्साहनले यस्तो मागको आपूर्तिगर्नका लागि आजको मितिबाट कम्तीमा १८ बर्ष पर्खनु पर्छ । जुन धेरै धैर्य गर्नु पर्ने समय हो । र, जन्मबाट आपूर्ति हुने जनशक्ति सिमित नै हुन्छ । साँच्चिकै विकासलाई अघि बढाउने हो भने मजदुरको आपूर्तिका लागि यो विकल्प उपयुक्त छैन । यसका लागि बसाईंसराईंलाई प्रोत्साहन गर्नु पर्दछ ।तेस्रो, जनसंख्याको वृद्धिद्धर शुन्यमा झरेको, अझ ऋणात्मक वृद्धिदर भएको अवस्थामा पनि जन्मलाई प्रोत्साहन गरिन्छ । २०६८ सालको जनगणना अनुसार इलाम नगरपालिकाको जननसंख्या वृद्धिदर ०.३९ प्रतिशत छ । यसलाई जनसंखिक भाषामा विस्थापन तह भन्दा तल अर्थात ‘विलो द रिप्लेसमेन्ट लेभल’ भनिन्छ । जनगणनाले यस नगरपालिकामा एक परिवारमा औषत ३.९ जना बसोबास गरेको देखाउँछ । अर्थात एक घरमा मुस्किलले चार जनाको परिवार छ । यसको अर्थ एक दम्पतीले दुईवटा बच्चा पनि जन्माएका छैनन् भन्ने हो । यो तथ्यांक हेर्दाचाँही नगरपालिकाले जन्मलाई प्रोत्साहन गर्नु उपयुक्त नै देखिन्छ । यो क्रम जारी रहने हो भने आगामी जनगणनाकालमा यहाँको वृद्धिदर स्थिर अर्थात ० मा झर्न पनि सक्छ ।र, इलामले जन्मलाई प्रोत्साहन गरेको हो भने प्रजनन् स्वास्थ्य, गर्भवतीको परीक्षण, सुरक्षित सुत्केरी गराउने स्वास्थ्य संस्था,शिशु र बाल स्वास्थ्य सेवाको मजबुत व्यवस्था गर्नु पर्दछ । प्रोत्साहनको प्रलोभनमा पाँच पाँचवटा सन्तानलाई जन्मदिंदा त्यसबाट आमा तथा बच्चामा आउनसक्ने स्वास्थ्य सम्बन्धि जोखिमबाट महिलाले सुरक्षित हुन पाउनु पर्दछ । यसका लागि नगरपालिकाले अलग्गै नीति बनाउनु पर्दछ । धेरै बच्चा जन्माउन प्रोत्साहन गरेपछि नगरपालिकाले यस अभियानलाई एक प्रकारको कार्यक्रमको रुपमा ग्रहण गर्नु पर्दछ र त्यसका लागि विशेष बजेट र जनशक्तिको पनि प्रवन्ध गर्नुपर्दछ ।किन जन्माइँदैनन् बच्चा ?बच्चा जन्माउनलाई श्रीमान वा श्रीमतीको आवश्यकता पर्दैन । वयस्क लोग्ने मान्छे र वयस्क आइमान्छेको सम्पर्क भए पुग्छ । तर हाम्रो संविधान र सामाजिक मान्यताले बच्चा जन्माउन विवाह अनिवार्य सर्त हो । बच्चा नजन्माइनुको प्रमुख कारण खुला समाज र विवाह नगर्नु हो । विवाहप्रतिको रुची घट्नु भनेको उसका शारिरीक आवश्यकता विवाह नगरे पनि पुरा हुनु, सन्तानप्रतिको रुची नहुनु, मानिस आफ्नो पेशा र व्यवशायमा अति व्यस्त हुनु, साक्षरता दर उच्च हुनु, प्रतिव्यक्ति आय उच्च हुनु ,विवाह गरेपनि श्रीमान श्रीमतीसँगै बस्न नपाउनु, राज्यको नीतिले बच्चा जन्माउन बन्देज लगाउनु आदि कारणले मानिसले बच्चा जन्माउँदैनन् । यस्ता कारण विश्वका अति विकसित र सम्पन्न देशमा मात्र लागु हुन्छ । जस्तो जापानमा मानिसहरु विवाहलाई तिरस्कार गर्न थालेका छन् ।जनसंख्या वृद्धिदर स्थिर भएको यो देशको सरकारले दम्पतीलाई बच्चा जन्माउन गरेको आग्रह अस्विकार गरेपछि विदेशबाट मानिस लगेर जनसांख्यिक र श्रमिक सन्तुलन गर्ने प्रयास गरेको छ । चीनले लामो समय एक सन्तान नीति लागु गरे पनि त्यहाँ जनसंख्या बढ्दै गएपछि गतवर्षबाट दम्पतीलाई दुई सन्तान जन्माइदिन आग्रह गरेको छ । नेपालमा पनि कुनै समय जनसंख्या नियन्त्रण गर्ने सरकारी नीति अन्तरगत दुई मात्र सन्तान जन्माउन उर्दी जारी गरिएको थियो । त्यो आज पर्यन्त कायम छ ।माथि भनिएका धेरै कारण मध्ये इलाममा केही कारण मेल खान्छन् अरु कारण सम्पन्न देशका नागरिकसँग मात्र मेल खान्छन् । इलाम देशमा नै साक्षरता प्रतिशत उच्च भएको जिल्ला हो । मेयर बस्नेतका अनुसार यस नपाको साक्षरता प्रतिशत ९८ छ । अर्थात पाँचबर्ष भन्दा माथीको उमेरका सबै बालबालबालिका साक्षर छन् । ७ बर्ष अघिको जनगणनाले यहाँका ८७ प्रतिशत पुरुष र ७५ प्रतिशत महिला साक्षर देखाएको थियो ।इलाममा दम्पतीले सन्तान नै जन्माउन नभ्याउने गरी काम गर्नृे उद्योग कलकारखाना छैनन् । रोजगारीले मानिस बेफुर्सद भएका पनि हैनन् । तथापी सन्तानप्रति किन यति धेरै इच्छा घटाए त इलामेलीले ? यो छुट्टै खोजको विषय हो । ७६१ खबर.कमसँगको अन्तर्वार्तामा मेयर बस्नेतले भने जस्तै इलामेलीलाई सन्तान जन्माउन आग्रह गरे पनि, प्रोत्साहन दिए पनि वयस्क महिलाहरु आफ्ना मुग्लाने खसमको विदाका दिन पर्खन बाध्य छन् । जबसम्म मुग्लानेहरु आफ्ना श्रीमतीलाई भेट्न आउन सक्दैनन् तबसम्म इलामले चाहेजति नयाँ सन्तान पाउन मुस्किलै छ । साविक इलाम नपा र यससँग गाभिएका साविकका गाविसहरुको तथ्यांक हेर्दा के देखिन्छ भने विवाह गरेर श्रीमती घरमा छोडेर पराइ मुलुकमा श्रम गर्न जाने इलामेहरु धेरै छन् । जसले गर्दा उनीहरु चाहेर पनि गर्भादान प्रक्रियामा सहभागी हुन सकेका छैनन् ।२०६८ को जनगणनाको देशैभरीको विशेषता जस्ता इलाममा पनि पुरुषभन्दा महिला नै धेरै छन् । साविकको बरबोटे गाविस बाहेक इलाम र यससँग गाभिन आएका सबै गाविसको लिङ्ग अनुपात (सेक्स रेसियो ) १०० भन्दा कम छ । अर्थात प्रति एकसय जना महिलामा इलाममा ९२.३५ जना मात्र पुरुष छन् । सोयाङको सेक्स रेसियो त ९० मात्र छ । बरबोटेको चाँही १०१ छ । अर्थात यहाँ १०० जना महिलामा १०१ जना पुरुष छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार साविक इलाम नपाबाट ११२० जना युवाहरु विदेश गएका छन् । बरबोटेबाट ३३० जना विदेश छन् । (यो तथ्याङ्कमा थपघट भएको हुनसक्छ । यो २०६८ को जनगणना अनुसार हो ।)इलाममा जन्मदर घट्दै गएको र वयस्क युवाहरु विदेसिंदै गरेको तथ्याङ्कले स्पष्ट चित्र देखाएको छ । जस्तै २०६८ सालमा इलाम नपामा ०–४ बर्ष उमेरका बालबालिका १३ सय ३३ जना थिए । ५–९ बर्ष उमेर समूहका १८ सय ९० जना थिए । १०–१४ बर्षका २०२५ थिए । ०६८ सालमा १४ बर्ष पुगेको मानिस २०४८ सालमा जन्मिएको हो । शिशु मृत्यूदर, बालमृत्यु दरलाई छिमल्दै १४ बर्ष पुग्दा पनि यो संख्या अहिलेको भन्दा ६०८ जना बढी थियो । यस तथ्याङ्कका आधारमा भन्न सकिन्छ इलामेलीहरुले झण्डै २५ बर्ष अघि देखि नै सन्तानको मोह घटाउँदै लगेका छन् ।इलामले बिर्सिएको तथ्यप्राकृतिक रुपमा जनसंख्यामा घटबढ गर्ने मुख्य तीनवटा कारकहरु हुन्छन् । पहिलो जन्म, दोस्रो मृत्यु, तेस्रो बसाँइसराई । इलामले जन्मलाई ध्यान दियो तर बसाईं सराईलाई बिर्सियो । मधेसको विकसित जिल्ला झापाबाट सुरु भएको मेची राजमार्ग इलामको पेटैपेट ताप्लेजुङसम्म पुग्छ । यसले गर्दा ताप्लेजुङ र पाँचथरबाट सुविधाको खोजीमा थातथलो छोड्नेहरु सिधै झापा झर्ने गरेका छन् । त्यताबाट झर्नेहरुलाई इलाममा रोक्ने आकर्षक प्रस्ताव ल्याउनु पर्दछ । यसका लागि उसलाई अर्को चुनौति फिदिम सहर हो । मध्य पहाडी लोकमार्गमा सरकारले विस्तार गरेको नमुना सहर फिदिम हो । त्यसलाई उछिनेर विकास र अन्य सुविधा उपलब्ध नगराए मानिसको रोजाइ इलाम भन्दा फिदिम हुनसक्नेछ । र, इलामले जनसंखिक संकट भोगिरहने अवस्था सृजना हुनसक्दछ । अर्कोतिर, तराईतिर भइरहेको बसाइसराईंलाई रोकेर इलामेलीलाई इलाममै अड्याउने कार्यक्रम पनि नगरपालिकासँग हुनुपर्दछ । आन्तरिक बसाईंसराई (अन्यत्रबाट त्यस ठाउँमा आउने ) लाई प्रोत्साहन गर्ने बाह्य बसाईंसराईं (त्यस ठाउँबाट बाहिर जाने ) लाई रोक्नु जन्माउन प्रोत्साहन गर्नु भन्दा जनसंखिक सन्तुलनका लागि सजिलो उपाय हो । यसका लागि भर्खर जन्मिएको बच्चा कहिले १८ बर्षको होला र श्रम बजारमा मद्धत गर्ला भनेर पर्खनु पनि पर्दैन । बसाईं सरेर आउनेहरु यसै पनि बयस्क उमेरका नै धेरै हुन्छन् ।तेह्रथुमको छथर गाउँपालिकाले बसाईं सरेर आउने परिवारलाई व्यवसायिक योजना ल्याएर ५ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम अनुकरणीय छ । पूर्वी पहाडबाट भइरहेको अनियन्त्रित बसाईंसराईका कारण इलाम जस्तै समस्या भोगिरहेका अरुका लागि पनि यो अनुकरणीय पाठ हो । रोजगारी गर्न जाँगर र सीप भएकाहरुले विस्तारै छथर गाउँपालिकामा घरबार जोड्नेछन् । त्यसपछि यहाँको गुल्जार पनि बढ्नेछ र कालान्तरमा यो गाउँपालिका उद्यमीहरुको बस्ती भएको एउटा नमुना गउँपालिका हुनेछ ।आकर्षक रोजगारीको अवसर सृजना गरौं, युवालाई स्वदेश फर्कांऊसाविक इलाम नपामा मस्त काम गर्ने उमेर समुह ३५–३९ बर्ष उमेर समुहको जनसंख्या १२ सय ७१ मात्र छ । यसको अर्थ युवाहरु घरमा छैनन् । त्यसैले जनगणनामा उनीहरुलाई अनुपस्थित सुचीमा राखियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भन्ने गरेका छन् ‘यूवाहरुलाई स्वदेश मै आकर्षक रोजगारीको अवसर सृजना गर्नुपर्दछ । सामान्य रोजगारी मात्रले यूवाहरुको मन नेपालमा अडिदैन ।’ खासकुरा पनि यही हो । इलामले नगरपालिकामा आकर्षक रोजगारीका अवसर सृजना गर्ने, कलकारखाना खोल्ने,विकासका कामलाई तिव्रता दिने, भौतिक सुविधा सबैका घरमा पुर्याउने हो भने यूवाहरु घर फर्किन्छन् ।विदेश गएर मात्र होइन घरमा बसेर रोजगारी पाइने भएपछि त्यही प्रयोजनमा काठमाडौं वा देशका अन्य भागमा यूवाहरु पनि इलाम फर्किन्छन् । उनीहरुले इलामको विकासका लागि पसिना बगाउनेछन् । गाउँहरुमा गुल्जार बढ्नेछ । नयाँ सोच र जाँगरका साथ युवाहरु घरघरै भेटिनेछन् ।युवा दम्पतीहरु आफ्नो नियमित प्रजनन् प्रक्रियामा फर्कनेछन् । सन्तानको योजना बनाउनेछन् । यस्तो अवस्था सृजना हुने हो भने नगरपालिकाले ५ जना सन्तानको कल्पना गर्नु पर्दैन् । दुई मात्र सन्तानले नै इलामलाई उल्लासमय बनाउने छन् र जनसंखिक सन्तुलन पनि कायम गर्नेछन् ।सरकारले विदेशबाट फर्कने युवाहरुलाई व्यवसाय गर्न १० लाख रुपैयाँ सम्मको सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको छ । इलामले आफ्नो नगरका युवाहरुलाई अझ प्रोत्साहन गर्न यसको मात्रा बढाउन सक्छ । जसले इलामे सहरका युवाहरु सुन्दर चियाबारी जस्तै चेहरा पारेर इलाममा नै समृद्धिका पसिना पोख्न आइपुग्नेछन् ।नयाँ बहसको सुरुवातपाँचौ पञ्चवर्षीय योजनाकाल देखि जनसंख्या नियन्त्रणका लागि सरकारले घोषित रुपमै प्रयास थालेको हो । त्यो आज पर्यन्त सरकारी नीति र कार्यक्रममा कायम छ । भलै पछिल्ला बर्षहरुमा यसलाई जनसंख्या व्यवस्थापन नाम दिइएको छ ।जसलाई पनि जनसंख्या नियन्त्रण कै रुपमा बुझ्ने गरिन्छ । तर इलामले नयाँ जन्मलाई खुलमखुला निम्ता गरेर नेपालको जनसंखिक नीतिमा नयाँ बहसको सुरुवात गरेको छ । त्यस्तै वेदौली र छथर गाउँपालिकाले बसाईंसराई गरेर आउन निमन्त्रणा दिएर अर्को एउटा नयाँ अभ्यास गरेका छन् । यो अभ्यासले नेपालको पहाडबाट तराई र गाउँबाट सहरमा बसाईं सर्ने परम्परागत चलनलाई थोरै भए पनि परिवर्तन गर्ने देखिन्छ ।