शौचालय नहुँदा समस्या

१ वर्ष अगाडि रासस

ताप्लेजुङ, ६ भदौताप्लेजुङ जिल्लाको सदरमुकाममै सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ । सदरमुकाम फुङ्लिङमा हालसम्म सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण र जिल्ला भित्रने आगन्तुकहरु समस्यामा पर्ने गरेका छन् ।

पर्यटकीय जिल्लाको रुपमा समेत चिनिने ताप्लेजुङलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको दुई वर्ष बितिसकेको छ । लाखौं रुपियाँ खर्चिएर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरे पनि सबैभन्दा बढी मानिसहरु केन्द्रित हुने सदरमुकाममै अहिलेसम्म सार्वजनिक शौचालय नहुँदा शौचालयको सेवा लिनेहरु सेवा लिनबाट बञ्चित छन् ।
फुङ्लिङ बजारमा सार्वजनिक शौचालय नहुँदा सबैभन्दा बढी व्यक्तिगत तथा सरकारी कार्यालयसम्बन्धी कामका लागि सदरमुकाम आउने सर्वसाधारण शौचालय नहुँदा समस्यामा परेका हुन् । त्यस्तै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने तीर्थयात्री र कञ्चनजङ्घा लगायत अन्य पर्यटकीय स्थलको भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरु शौचालय नहुँदा समस्यामा पर्ने गरेका छन् ।

पर्यटकीय सिजन र पाथीभरा देवीको दर्शन गर्ने सिजनमा देशबाहिर लगायत टाढा–टाढाबाट आएका नागरिकहरु शौचालयको खोजीमा भौँतारिने गरेका पाइएको छ । सिजनका बेला बसपार्क तथा सवारी साधनहरु बिसौनी क्षेत्रमा यात्रुहरु सवारी साधन चढ्ने समयमा र उत्रेपछि शौचालयको खोजीमा हुने गर्दछन् । शौचालयको अभावमा शौच अर्थात दिसापिसाव गर्न नपाए पछि यात्रुलाई बढी सास्ती हुने गरेको छ । सदरमुकाम आएका सर्वसाधारण र आगन्तुकहरुले बजारमा सार्वजनिक शौचालय नभए पछि निजी घर तथा होटलहरुमा शौच गर्नका लागि अनुरोध गर्ने गरेको बताएका छन् । जो कसै घरधनी, पसले वा होटलवालाको शौचालयमा शौच गर्न नपाइने भएपछि शौचालय प्रयोग गर्नकै लागि सम्बन्धित घरधनी वा पसले कहाँ केही न केही सामान खरिद गर्न बाध्य हुनुपर्ने सर्वसाधारणको भनाइ छ । यसरी कुनै सामग्री खरिद गरेर नाता जोडेपछि मात्र शौच गर्न पाइने अवस्था रहेको सर्वसाधारण बताउँछन् ।

सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा बजारका कतिपय ठाउँ दुगन्धित पनि बनेका छन् । बजार क्षेत्रका सडक किनारा तथा केही एकान्त रहेका ठाउँमा हुने खुल्ला शौचका कारण दुर्ग्न्धित हुने गरेको छ । खुल्ला शौच हुने आसपास क्षेत्रका बासिन्दा तथा पैदल यात्रुलाई दुर्गन्धले असर पु¥याएको छ । यता फुङ्लिङ नगरपालिका स्थापना भएको तीन वर्ष र स्थानीय सरकार सञ्चालनका रुपमा नगरपालिकामा जनप्रतिनिधि आएको वर्ष दिन बित्दासमेत सार्वजनिक शौचालय निर्माणमा भने ध्यान नगएको नागरिकको भनाइ छ ।
अहिलेसम्म फुङ्लिङ बजारमा एउटा पनि सार्वजनिक शौचालय नभएको अवस्थामा सफा र सुन्दर नगरको परिकल्पना गर्दै आएको नगरपालिकाको कार्यालयको यथाशिघ्र सार्वजनिक शौचालय निर्माणतर्फ ध्यान जान आवश्यक रहेको समेत स्थानीय नागरिक बताउँछन् । फुङ्लिङ नगरपालिका कार्यालयले भने सार्वजनिक शौचालय निर्माण गर्ने जग्गा नभएकाले त्यससम्बन्धी कुनै योजना नबनेको जनाएको छ ।
फुङ्लिङ वडा नं. २ का वडाध्यक्ष एवम् नगर प्रवक्ता मोहन न्यौपानेले यसअघि सम्पन्न नगरसभाले योजना नबनाएको भए पनि जग्गा उपलब्ध भएमा कुनैपनि स्रोतबाट आर्थिक लगानी गरी सार्वजनिक शौचालय निर्माण गर्ने पक्षमा फुङ्लिङ नगरपालिका कार्यालय रहेको जानकारी दिए । प्रवक्ता न्यौपानेले बजार क्षेत्रमा एउटा सार्वजनिक शौचालय निर्माणाधीन अवस्था रहेको जानकारी दिए । उनका अनुसार फुङ्लिङ वडा नं. ५ को दुई लाख ५० हजार तथा पाथीभरा क्षेत्र विकास कार्यालयको दुई लाख ५० हजार समेत पाँच लाख रुपियाँको लागतमा शौचालय निर्माण हुँदै आएको छ । उक्त निर्माणधीन सार्वजनिक शौचालय सम्पन्न हुन लागेको पनि उनले बताए । अहिले शौचालय बनाउने जग्गाको खोजीमा नगरपालिका कार्यालय रहेको पनि उनले जानकारी दिए ।