सिन्धुपाल्चोकमा हुने राष्ट्रिय जलवायु सम्मेलनको तयारी पूरा

८ महिना अगाडि ७६१खबर डट कम संवाददाता

काठमाडौं- जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ९, ज्यामिरे गुफाडाँडामा हुने ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पुस १५, १६ र १७ गते का लागि तय भएको कार्यक्रमको काम ९० प्रतिशत भन्दा धेरै काम पूरा भएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरि जलवायु अनुकुलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मुल ध्येय भएको जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस १६ गते हुनेछ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ । सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा औद्योगिक मुलुकले कार्बन उत्सर्जनबाट गरेर कार्बन उत्सर्जन नगर्ने मुलुकलाई शुल्क तिर्नुपर्नेलगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले विश्वको सबैभन्दा महत्वका साथ कार्यसूचीमा राखिएको जलवायु परिवर्तनको विषयसम्बन्धी सम्मेलन सिन्धुपाल्चोकमा हुन लागेकोप्रति खुशी व्यक्त गर्दै नेपालले कार्बन उत्सर्जन गरेर कुनै गल्ती नै नगरी जलवायु परिर्वनको असर भोग्नुपरेको बताउनुभयो ।

पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले विश्वमा कार्बन उत्सर्जन गर्नेमा नेपाल चौथो स्थानमा देखिएको तर नेपालले कार्बन उत्सर्जनको अवस्था शून्य हुँदा पनि सो मारमा नेपाली परेकोप्रति बृहत् छलफल गनुपर्ने जरुरी देखिएकाले सम्मेलन गर्नुपरेको बताउनुभयो । सिन्धुपाल्चोकमा सो सम्मेलनको आयोजना गर्न लागेको भए पनि जलवायु परिर्वतनको क्षेत्रमा जनप्रतिनिधि नै सहभागी भएर हुन लागेको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।