कर्मचारीको आन्दोलनप्रति नगरपालिका संघको ध्यानाकर्षण : काममा फर्कन आग्रह

८ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं - नेपाल नगरपालिका संघले कर्मचारी समायोजन अध्यादेश २०७५ को विरोधमा स्थानीय सरकारका कार्यालयहरुमा समेत बन्द हड्ताल गरि भइरहेको कर्मचारीहरुको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समायोजन अध्यादेशको बिषयलाई लिएर विभिन्न कर्मचारी संघ संगठनहरुको आन्दोलनवाट स्थानीय तहको सेवा प्रवाह अवरुद्ध भएको र यसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा पर्न गएको भन्दै संघले बुधबार बिज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

संघले सो कार्यवाट जनतामा प्रत्यक्ष प्रभाव परेकाले आन्दोलनरत सबै पक्षलाई बन्द हड्तालका कार्यक्रम स्थगीत गरि आआफ्नो कार्य जिम्मेवारी र जनताको सेवामा फर्कन अनुरोध समेत गरेको छ । ‘सरकार र आन्दोलनरत दुवै पक्षलाई वार्ताको वातावरण वनाई वार्ता र सहमतिवाट यथाशिघ्र समस्या समाधान गर्न र कर्मचारी समयोजन प्रकृयाको कार्यान्वयनमा अग्रसर हुन हार्दिक अपिल गर्दछौ’, नगरपालिका संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा ढिलै भएपनि कर्मचारी सामायोजन अध्यादेश जारी भएको र संसदमा दर्ता भएकाले सो अध्यादेश संसोधन सहित पारित गरियोस भनि संसद तथा नेपाल सरकारसँग संघको तर्फवाट माग समेत गरिएको छ ।

यस्तै, संघीयता कार्यान्वयनको लागि यो अत्यन्तै महत्वपूर्ण रहेको भन्दै सो अध्यादेशमा कर्मचारीको मनोभावना नसमेटिएकोप्रति दुख समेत व्यक्त गरिएको छ । अध्यादेश छिटै कर्मचारीको मनोभावना सहित उनीहरुको वृत्ति विकासको बिषय समेटेर जारी हुने पनि संघको विश्वास रहेको छ ।

विज्ञप्तिमाविगत लामो समयदेखि स्थानीय सरकारहरुमा काम गर्दै आएका करार एवं स्थायी कर्मचारी र सामाजिक परिचालकहरुको मागलाई समेत आवश्यक संवोधन गर्न नेपाल सरकारसमक्ष अनुरोध गरिएको छ ।