राष्ट्रिय कर्मचारी महासंघद्वारा कर्मचारी समायोजन अध्यादेश विरुद्ध आन्दोलनमा उत्र्न आह्वान

८ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं– सरकारले जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्र्न राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सबै कर्मचारीलाई आह्वान गरेको छ । कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको महासंघले देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको हो ।
काठमाडौंमा आईतबार पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाले सो अध्यादेश खारेज गरेर कर्मचारी समायोजना गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एकसाथ जारी गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।
महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्न पनि सरकारसँग माग गरेको छ । खानेपानीलगायतका संस्थानहरुमा भइरहेको कर्मचारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघले उनीहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिएको छ ।
बानिया नेतृत्वको ४५ सदस्यीय नयाँ केन्द्रिय कार्य समितिले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कार्य अनुभव र शैक्षिक योग्यताको आधारमा यथोचित सेवा, सुविधा वृद्धि नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।