कामपाको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव प्राप्त

७ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौँ, ८ पुस - काठमाडौं महानगरपालिकाले पहिलो पटक सुरु गरेको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि २० वटा सुझाव परेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि सुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको हो ।
काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५” सुरु गरेको महानगरले जनाएको छ । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषय समेटिएका छन् । विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् ।
पहिलो चरणको फारामको ३२ दिनको समय दिइएको र प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ । सबै चरण समापन गर्न करिब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ ।