मध्यपुर थिमि नगरपालिकाले खेल प्रदर्शनी गर्ने

७ महिना अगाडि ७६१ खबर डटकम

मध्यपुर, ८ पुस । मध्यपुर थिमि नगरपालिकाले विश्वप्रसिद्ध गिनिज बूक अफ वल्र्ड रेकर्ड कायम गरेका खेलाडीहरुको सहभागीतामा मध्यपुरमा खेल प्रदर्शनी गर्ने भएको छ । मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले आईतबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनु भएको हो ।

मध्यपुर थिमि नगरपालिकाको सहयोगमा विश्वका प्रसिद्ध एवं गिनिज बूक अफ वल्र्ड रेकर्ड कामय गरिसक्नु भएका जिम्न्याष्टिक खेलाडीहरुलाई आउँदो पुस १४ गते दुइपोखरी परिसरमा बोलाएर खेल प्रदर्शन गराउने मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।कार्यक्रममा भक्तपुर जिल्ला भरीका २० वटा स्कुलका ८० बढी विद्यार्थीहरुले पनि खेल प्रतियोगितामा सहभागीता जनाउने कुरा ओसला नेपालले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिकाले सो कार्यक्रमको लागि ४ लाख बजेट छुट्याएको पनि पत्रकार सम्मेलनमा जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले ९२ करोड खर्च गरी आफूहरुले हनुमन्ते जग्गा एकीकरण अभियान सुरु गरेको जानकारी दिनुभयो । मध्यपुर नगरमा हुने सो प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालय स्तरीय मेयर कप जिम्न्याष्टिक प्रतियोगितामा विजयी खेलाडीहरुलाई ४० हजार बराबरको पुरस्कार प्रदान गरिने पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सामाजिक सुधारमा कार्यरत ओसला नेपालले पहिलो पल्ट मध्यपुर थिमि नगरपालिकाको सहयोगमा गर्न लागेको सो कार्यक्रममा नोविस ब्वाइज, व्याइजबाट ५—५ जना र नोविज गल्र्स तथा गल्र्सबाट ५—५ जना खेलाडीलाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार दरकोे पुरस्कार रकम प्रदान गरिने पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । ओसला नेपालका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा राष्ट्रिय खेलाडी विजेन्द्र श्रेष्ठले वक्तब्य वाचन गरी सुनाउनु भएको थियो ।