इलाम नगरपालिका प्रमुखसँग संवादः भन्छन्– ‘नगरपालिकाले भने भटाभट बच्चा कसले जन्माउँछ ?’

८ महिना अगाडि ७६१ खवर डटकम

नेपालका पुराना नगरपालिका मध्ये इलाम पनि एक हो । २०१५ सालमै नगरपालिका वनेको इलाममा हाल साविकका बरबोट, साखेजुङ, सुम्बेक, पुवामझुवा, सोयक र गोदक गाविसका सबै वडा तथा साङरुम्बा, सिद्धिथुम्का र माईपोखरी गाविसका केही वडाहरु थप भएका छन । इलाम नगरपालिका दुई सय बर्षदेखि इलाम जिल्लाको सदरमुकाम समेत रहदै आएको छ । सुन्दर नगर इलाम जनसंख्या वढाउने नीतिका कारण पनि चर्चामा छ । देशैभर दुई सन्तान ईश्वरको वरदान भने पनि इलामले नगरपालिकाले भने जनसंख्या वढाउन प्रोत्साहन भत्ता दिने नीति लिएको छ । इलाम नगरपालिकाले जनसंख्या वढाउने नीति किन लिएको हो त ? पत्रकार लिलाराज भट्टराईले उहाँसँग गर्नुभएको कुराकानी ।

देश जनसंख्या घटाउ अभियानमा रहेको बेला इलाम नगरपालिका भने बढाउ अभियानमा किन लागेको हो ?

जनसंख्याको सवालमा इलाम नगरपालिकाले मात्र होइन,सिङगो देशलेनै पूर्नविचार गर्नुपर्ने आवश्यकता देखेको छु । अहिले नेपालमा जनसंख्याको वार्षिक वृद्धिदर १.३५ प्रतिशत मात्रै रहेको छ । ३० लाख नागरिकता २०६२/६३ सालपछि वितरण गरिएको छ । दक्षिणतिरको ढोका निकै खुल्लै रहेको छ र त्यहाँबाट आएकाहरुलाईसमेत समायोजन गर्दा यो स्थिति छ ।त्यसैले पनि हिजो २.०७ प्रतिशतमा पुगेको हाम्रो वृद्धिदरलाई १.३५ प्रतिशतमा देख्दा यो कतै खतराको संकेत त होइन भनेर हामीले सोच्नुपर्ने स्थिति पनि आएको छ । र इलाम नगरपालिकाको हकमा हेर्दा जनसंख्या वृद्धिदर ०.३९ प्रतिशत मात्रै छ । त्यो पनि विशेष गरि बाहिरबाट बसाई सरि आउनेको संख्या बढेकोले गर्दा पनि यो स्थितिसम्म आइपुगेको हो । त्यसैले अहिले चिन्ताको बिषय छ, जनसंख्या दिनानुदिन घटिरहेकोले पनि हामी हाम्रा तथ्य तथ्याङ्कलाई विश्लेषण गरेर जनसंख्या बढाउन प्रोत्साहन गर्नेतर्फ लागेका छौँ ।

१५ सालमै नगरपालिका बनेको इलाम उपमहानगरमा स्तरोन्ति गर्नको लागि पनि जनसंख्यामा निश्चित संख्या चाहिने भएकोले पनि नगरपालिकाले जनसंख्या बढाउने नीति लिएको हो ?

जनसंख्याको वृद्धिदर ०.३९ प्रतिशत भनेको वृद्धि नै होइन । त्यसमा पनि कानुनको कुरा गर्दा इलाम उपमहानगरपालिका बनाउनको लागि दुई लाख जनसंख्या बनाउनुपर्छ भन्ने हो । वृद्धिदरलाई दुई प्रतिशत बनाएर नै लैजाने हो भने पनि २० वर्ष पछि पनि त्यो जनसंख्या बन्न सक्दैन । जन्माएर मात्रै पुग्ने पनि होइन, हामीले आर्थिक हिसाबले पनि समृद्ध बनाउनु पर्‍यो ।

बाल बच्चा भटाभट जन्माउन थाले, एउटै घरमा ६/७ जना बच्चा भयो भने पालन पोषणमा समस्या हुँदैन ?

भटाभट जन्माउनु भने पनि जन्माउनुहुन्न । जनसंख्या बढाउने अधिकांश उमेर समुहका नागरिकहरु विदेशमा हुनुहुन्छ, बाहिर हुनुहुन्छ त्यसले पनि हाम्रोमा वृद्धिदर घटिरहेको हुन्छ । र हामीले अलिकति प्रोत्साहन भत्ता दिँदैमा त्यो भत्ताको निम्ति बच्चा जन्माउने मान्छेहरु पनि हुनु हुन्न । हाम्रोमा शैक्षिक स्थितिलाई हेर्ने हो भने ९८ भन्दा बढी प्रतिशत जनसंख्या साक्षर भएको ठाउँ हो । त्यसैले दुई हजार, तीन हजार भत्ताको लागि उहाँहरुले जन्माउनु हुन्न भन्ने हामीले बुझ्नु पर्छ । र यो नगरपालिकाले प्रोत्साहन भत्ता महिलाहरुको प्रजनन् स्वस्थ्य र आमा सुरक्षा कार्यक्रमहरुलाई लक्षित गरेर लिएर आएका हौँ । हामीले ३० दिन भित्रमा सुत्केरी सुविधा उपलब्ध गराउनु पर्छ भनेर हामीले व्यवस्था गरेका छौँ । ३० दिन भनेको सुत्केरी आमाहरुलाई पोषणको एकदमै आवश्यक्ता पर्ने समय हो ।र अर्को स्पष्ट के पनि गर्न चाहन्छु भने त्यो बच्चा जन्माउनको लागि मात्रै दिएको पैसा होइन । यदि बच्चा जन्माउने क्रममा शिशुको मृत्यु भयो अथवा बिचैमा त्यो शिशु तुहियो भने पनि हामीले आमाको स्वास्थ्यलाई हेरेर त्यो सुविधा उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।

प्रोत्साहन भत्ता जति पछिल्लो बच्चा ,उत्ति बढदै गएको देखिन्छ,किन ?

पहिलो, वा दोस्रो वा तेस्रोलाई तीन हजार, चौथोलाई चार र पाँचौंलाई पाँच हजार रुपैया दिने भनेका छौं । यसमा उमेरको र जोखिमको कुराहरुलाई पनि हामीले हेरेका छौँ । जस्तो अहिले २० वर्ष नपुगि विवाह गर्न पाइदैन । दोस्रो, तेस्रो बच्चा जन्माउने बेलासम्म उहाँको उमेर ३० को हाराहारीमा पुगेको हुन्छ । त्यो उमेरमा जोखिम बढी हुन्छ । त्यो जोखिमलाई हेरेर हामीले बढी पैसा दिएका हौं । हामीले केवल बच्चा धेरै जन्माउनु पर्छ भन्ने होइन ।तर यसपटकको तथ्याङ्क हेर्दा पनि इलाम नगरपालिकाभित्र दोस्रो देखि तेस्रो बच्चा जन्माउने संख्या जम्मा दुईदेखि तीन वटा मात्र आएको छ । त्यसकारण हामीले पैसा दिँदैमा उहाँहरुले बच्चा जन्माउनु हुँदैन भन्ने पुष्टि पनि यो तथ्याङ्कले देखाएको छ ।ताप्लेजुङ, पाँचथर र इलामबाटै पनि धेरै जनसंख्या चाँहि बसाइसराई गरेर बिर्तामोडमा धेरै भएको छ, त्यस पछाडी दमक, मोरङका ठाउँहरुमा पनि आउने क्रम बढदो छ, यदि इलाम नगरपालिकाले ताप्लेजुङ, पाँचथरबाट बसाई सरेर आउनेहरुलाई इलाममै रोक्न सक्ने भए जनसंख्या बढाउन त्यो पनि एउटा दह्रो माध्यम हुन्थ्यो भन्छन् ।हामीलाई पनि त्यहि कुरा लागेको छ । ०.३९ प्रतिशत भएपनि त्यो प्लसमै गइरहेको छ । तर यो स्थिति भनेको बसाइसराईबाट नै आएको हो । त्यसैले अहिले हामीहरु सुविधा तथा अवशर वृद्धि गर्ने कुरामै लागेका छौँ । त्यसैले इलाम नगरपालिकाले आमा सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।अहिले हामीले अर्को थप व्यवस्था के गरिरहेका छौँ भने इलाम नगरपालिकाभित्र रहेको अस्पतालमा बच्चा जन्माएमा नेपाल सरकारले दिएको सुविधामा थप एक हजार सुत्केरीलाई यातायात सुविधा दिने व्यवस्था गरेका छौँ ।अवसर सिर्जना गर्नको लागि लगानी सम्मलेनको योजनाहरु तयार गरिरहेका छौँ । हामीले हाम्रो इलाममा नगदेबालीको सन्दर्भमा, कृषि उत्पादनको सन्दर्भमा व्यवसायिक चरणबाट गुज्रिरहेको छ । अब कसरी औद्योगिकरणको प्रक्रियामा लान सकिन्छ र पूँजि निवेशको माध्यमबाट त्यो पक्रियालाई अगाडी बढाउन सकिन्छ भनेर हामी लागेका छौँ ।

इलामबाट पनि वैदेशिक रोजगारमा जानेहरुको संख्या धेरै रहेको छ । इलाम नगरपालिकाबाट वैदेशिक रोजगारमा जानबाट रोक्न अथवा उनीहरुलाई त्यहि रहनको लागि वातावरण सिर्जना गर्नको लागि यहाँले लगानी सम्मेलन लगायतका नीतिहरु लिनु भएको छ । यसले कत्तिको सहयोग गर्छ ?

हामीसँग छरिएर रहेको धन छ त्यसलाई पूँजिमा कन्भर्ट गर्नुपर्ने छ । इलाममा २० वटा भन्दा बढी बैंकहरु रहेका छन् । फाइनान्सियल कम्पनीहरु स्थापना भएका छन् । त्यसले लगानी गरिरहेका छैनन् त्यहाँ । किन बैकहरु आइरहेका छन् भने यहाँको पैसा कलेक्सन गर्ने र अन्यत्र तिर लगेर व्यापार व्यवसायमा लगेर नाफा कमाउने हो । त्यसैले अहिले छरिएर रहेको पैसालाई एकत्रित गर्ने त्यो एकत्रित भएको रकमलाई पूँजिमा कन्भर्ट गर्ने र त्यसलाई औद्योगिकरणको प्रक्रियामा लगाउने सीप, योजना र जाँगरको आवश्यक्ता छ ।

विश्वका ठुला ठुला सहरहरुमा पनि कम जनसंख्या भएर धेरै विकसित भएका ठाउँहरु पनि छन् तर इलाममा खास जनसंख्या बढाउनैपर्ने र जनसंख्या धेरै हुनुपर्ने किन सोच्नु भएको हो ?

जनसंख्या भनेको समस्या होइन । जनसंख्या भनेको साधन हो स्रोत हो । र विकास भनेको जनताको निम्ति नै हो । जहाँ विकास गर्ने भन्छौ त्यहाँ समाज र जनसंख्याले विकासको गति निर्धारण गर्छ । त्यसकाराण पनि जनसंख्यालाई हामीले समस्याको रुपमा लिएका छैनौँ ।र मान्छेको चेतनालाई पनि उन्नत बनाउनु पर्‍यो भने जनसंख्याको माध्यमबाट गर्न सकिन्छ । एउटा शहर बजारमा बस्ने मान्छे जो सामान्य लेखपढ गरेको छ तर गाउँमा बसेर स्नातक गरेको मान्छे भन्दा उ निकै बाठो हुन्छ ।

यसो गर्दा मानिलिउँ, भोलि जनसंख्या वृद्धि भयो भने जनसंख्याको त्यो मानव स्रोत साधनको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

राज्यले एउटा ठोस नीति लिएर आउनु पर्छ । अहिलेको वस्तुस्थितिमा हाम्रो मुलुकको कुरा के हो भन्ने कुराहरुलाई हामीले बुझ्नु जरुरी छ । त्यसकारण पनि जनसंख्याको सन्दर्भमा राज्यले अब पुन परिभाषित गर्नु पर्‍यो । जनसंख्या सँधै स्थिर रहने कुरो होइन । यो अस्थिर रहन्छ, चलायमान हुन्छ । र यसलाई समय अनुकुल बनाएर लैजानु पर्छ । पहिले एउटै परिवारमा २० जना बच्चा बच्ची जन्माउने, दुइ तीन वटा श्रीमती हुने अनि १५÷१६ जना छोराछोरी हुने चलन थियो अहिले त्यस्तो चलन छैन ।

हाम्रो छिमेकी देश चीनले एक सन्तानको नीति लिएको थियो । अहिले त्यो स्थितिबाट ब्याक भएर चीनले फेरी दुइ सन्तानको नीति ल्याएको छ । भनेपछि जनसंख्या घटाउँदैमा समस्या समाधान हुन्छ भन्ने कुराहरु हुँदैन । त्यो चीनले पनि देखाई सक्यो ।

हामीले भनिरहेका छौँ, १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्छौ भनेर । त्यो १० हजार मेगावाट विद्युत उत्पादन गर्नको लागि पनि कति इन्जिनियर चाहिन्छ कति ओभरसियर चाहिन्छ । कति मेनपावर चाहिन्छ, कति ड्राइभर चाहिन्छ, कति प्लम्बर चाहिन्छ, त्यो जनसंख्या हामीसँग छ कि छैन ? अब विकासको प्रक्रियालाई तिव्र गतिमा अगाडी बढाउँछौ भनिरहेका छौँ । त्यो जनशक्ति हाम्रोमा छ कि छैन । अहिले हाम्रा चियाबगानहरुमा श्रमिकहरुको अभाव रहेको छ ।

हिजोसम्म भुटानी शरणार्थीहरु बस्थे तलतिर उनीहरुले गएर अलैचिका बगान गोड्ने, चिया गोड्ने, चिया टिप्ने लगायतका कामहरु गर्थे । अहिले हाम्रोमा त्यो अहिले ठुलो अभाव छ । हामीले दुई हजार मान्छले काम गर्ने कुनै कल कारखाना स्थापित गर्नु पर्‍यो भने हाम्रो जनशक्तिको ठुलो समस्या हुन्छ । त्यसैले अहिले हाम्रोमा जनसंख्या धेरै भो भन्ने स्थिति बनिसकेको छैन । हामीले त काम गर्न नसक्दा मात्रै जनसंख्या बढी भएको हो ।

हाम्रो जत्रै भूगोल भएको बंगलादेशमा अहिले १६ करोड भन्दा बढी जनसंख्या रहेको छ । हामी यहाँ दुई अढाइ करोड जनसंख्या भयो भनेर अत्तिएर कराईरहेका छौँ । बंगलादेशले १६ करोड बढी जनसंख्यालाई म्यानेज गरेको छ, अहिले उसको अर्थिक वृद्धिदर एसियामा राम्रो गतिमा अघि बढीरहेको छ । संसारलाई गार्मेन्टको सामान बेचिरहेको छ ।

नेपालमा दुई करोड जनसंख्या भएपनि दिनहुँ सयौँ युवाहरु वैदेशिक रोजगारमा जानु परेको अवस्था रहेको छ । देशले नसकिरहेको बेलामा इलामले मानव संसाधनको रुपमा कसरी विकास गर्छ र उहाँहरुको कसरी व्यवस्थापन गर्छ ?

हामीले विदेशमा युवा पठाएका छौँ र गइरहेका छन् । विदेश भनेपछि रुखैमा पैसा फल्छ भनेर पनि जाने छन् र चाँडो धनाढ्य हुने खालको हाम्रो प्रवृत्ति छ । हामीले श्रमप्रतिको जिम्मेवारी र श्रमलाई सम्मान गर्नुपर्छ भन्ने कुराहरु हाम्रा युवाहरुलाई हामीले पढाउँदै पढाएनौं । उनिहरुलाई टेबलमै बस्ने अफिसमै काम गर्ने र काम भन्ने बित्तिकै जागिरै खाने भन्ने मान्यहरुबाट गुज्रिरहेका छन् ।
तर उता श्रम चाहिँ मजैले गर्छन् । तर त्यहि श्रम यहाँ गर्न मान्दैनन् । अहिले यहिँ तराई मै हेर्ने हो भने पनि जुत्ता पोलिस गर्ने सबै मान्छे भारतबाट आएर बसेका छन् । कपाल काट्ने बाहिरबाटै आएर काम गरेका छन् । कार्पेन्टर देखि लिएर टेक्निकल काम गर्ने सम्मका मान्छेहरु भारतले यहाँ एउटा ठुलो श्रम बजार बनाएको छ । हामीले श्रमलाई व्यवस्थापन गर्न नसकेको, सम्मान पूर्वक पनि यो काम गर्दा तपाईको सम्मान हुन्छ भन्ने आत्मविश्वास जगाउन नसकेको कारणले गर्दा पनि युवाहरु योभन्दा राम्रो काम खोज्ने कुराले गर्दा पनि हामी पीडित छौँ ।
इलामलाई हामी ह्वाईट सिटी बनाउँछौ भनेर लागि परेका छौँ । ह्वाइट सिटीको अर्थ भनेको सेतो शहर हो । एक किसिमको प्रश्न आउन सक्छ ग्रीन सिटीमा कहाँबाट ह्वाइट ? सबै कुराले सम्मान भएकोलाई हामीले ग्रीन सिटीको परिभाषा गरेका छौँ । त्यहाँको अर्थतन्त्र त्यहाँको सँस्कृृृृती, त्यहाँको खेलकुद, त्यहाँको शिक्षा, त्यहाँका पूर्वाधारका विकासका कार्यक्रम त्यो सबै सम्पन्न भइसकेपछि मात्रै एउटा ग्रीन सिटी हुन्छ । ह्वाइट सिटीको माध्यम अर्थात् दुधको शहर बनाएर पनि विकास गर्न सकिन्छ । त्यसैले यस वर्षको हाम्रो कार्यक्रममा ६० वटा गाई किन्नको निम्ति कृषकहरुलाई स्वरोजगार निर्माण गर्नको निम्ति हामीले अुनुदान दिने व्यवस्था मिलाएका छौँ ।