प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गर्ने मुख्यमन्त्री राउतको घोषणा

६ महिना अगाडि ७६१ खवर डटकम

पर्सा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महिनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । प्रदेश सरकारले थालनी थरेको बेटी बचाइ, बेटी बढाइ अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरूको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।

वीरगञ्ज पब्लिक कलेजले शनिबार वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री गद्दीले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्ष दिएको र निजामतिमा समेत आरक्षण दिने तयारी गरेको बताउनुभयो ।

उहाँले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेश २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दू बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी गराउनुभयो ।

वीरगञ्ज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमविए, एमविएस, विविए, विविएस उत्तीण गरेका १३१ जना विद्यार्थीलाई मुख्यमन्त्री गद्दीले प्रमाणपत्र प्रमाणपत्र प्रदान गर्नुभयो ।