चाँगुनारायण नगरपालिकाको ‘चाँगुनारायण डायरी’ र विपद् सूचना व्यवस्थापन प्रणाली सार्वजनिक

९ महिना अगाडि ७६१ खबर डटकम

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरपालिकाभित्रको महत्वपूर्ण टेलिफोन, नगरपालिकाले दिने सेवा सुविधा, विभिन्न तथ्य तथ्याङ्क समेटिएको डायरी र विपद् सूचना व्यवस्थापन प्रणाली शुक्रबार सार्वजनिक गरेको छ ।

भक्तपुर क्षेत्र नम्वर २ का सांसद महेश वस्नेतले सोे डायरीको लोकार्पण गर्नुभएको हो । यस्तै, प्रदेश सांसद सरस्वती वाटीले सो विपद् सम्वन्धी सूचना थाहा पाउन सकिने सो सूचना प्रणालीको सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, त्यहाँ रहेका अस्पताल, एम्वुलेन्स, प्रहरी लगायतका महत्वपूर्ण निकायको टेलिफोन नम्वर तथा नगरपालिकाले दिने सेवा सम्वन्धी जानकारी र ती सेवा प्रवाहमा लाग्ने शुल्क लगायतका विषय सो डायरीमा समेटिएको छ । नगरबासीका लागि महत्वपूर्ण र अति आवश्यक रहेकाले यी जानकारी समेटिएको डायरी प्रकाशन गरेको नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।



सो डायरीमा विभिन्न खाले विपद्को अवस्था, त्यसले पार्ने क्षती, क्षती न्युनिकरण सम्वन्धी जानकारी तथा विपद्मा वच्ने उपायसमेत समेटिएको छ । यस्तै, सार्वजनिक गरिएको विपद् सूचना व्यवस्थापन प्रणालीमा पनि विपद्को पूर्व जानकारी, त्यसले पार्ने क्षती तथा न्युनिकरण र वच्ने उपाय लगायतका विषय जानकारी प्राप्त हुने जनाइएको छ । वढ्दो शहरीकरणसँगै विभिन्न खाले विपद्को जोखिम पनि समय समयमा पर्ने भएकाले यो प्रणाली निमार्ण गरिएको र यसले नगरबासीलाई सहजता मिल्ने नगरपालिकाले जनाएको छ । सो डायरी र सूचना प्रणाली विपद् व्यवस्थापनका क्षेत्रमा नगरपालिकासँग सहकार्य गर्दै आइरहेको प्रगती परियोजनाको सहयोगमा प्रकाशन गरिएको हो ।

डायरी तथा सूचना प्रणाली सार्वजनिक कार्यक्रममा वोल्दै साँसद महेश वस्नेतले यो प्रकाशन तथा सूचना प्रणाली निमार्ण महत्वपूर्ण उपलब्धि भएको भन्दै यसले नगरबासीलाई विपद्का विषयमा सहयोगी भूमिका निर्वाह गर्ने जनाउनुभयो । उहाँले विपद्को जोखिम र त्यसवाट वच्ने उपाय मात्रै नभएर विपद् जोखिम न्युनिकरणमा समेत यो प्रकाशन सहयोग पुग्ने धारणा राख्नुभयो ।

यस्तै, प्रदेश साँसद सरस्वती वाटीले पनि यो प्रकाशन र सूचना प्रणाली नगरपालिकाबासीका लागि उपयोगी रहेको विचार व्यक्त गर्नुभयो । यस्तै, नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरपालिकाको सवै जानकारी समेटिएको डायरी प्रकाशन गरेको र विपद् व्यवस्थापनमा उपयोगी सूचना प्रणाली निमार्ण गरेको बताउँनुभयो । उहाँले यो काम नगरपालिकाले नगरबासीका लागि उपयोगी र आवश्यक रहेको ठानेरनै गरेको समेत जनाउँनुभयो । यसवाट नगरबासीलाई भरपुर सहयोग पुग्ने उहाँको तर्क छ । मेयर मिश्रले विपद् व्यवस्थापनमा डेढ वर्षदेखि नगरपालिकासँगै काम गर्दै आएको प्रगती परियोजनाको सहयोग र काम ज्यादै महत्वपूर्ण रहेको समेत वताउँनुभयो ।

यस्तै, नगरपालिकाकी उपमेयर विना बाँस्तोलाले नगरपालिकामा जनप्रतिनिधि आएदेखिनै नगरबासीका हरेक समस्या पहिचान गरेर सहयोग पुग्ने काम गर्दै आइरहेको जनाउँनुभयो । यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले नगरपालिकाले अहिले नगरबासीको समस्या र आवश्यकता भएको क्षेत्रमा काम गर्दै आइरहेको बताउँनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगरपालिकाका वडाध्यक्षहरु शिवहरी केसी, वुद्धिनारायण महर्जन, ज्ञानवहादुर केसी लगायतले विपद् व्यवस्थापनमा नगरपालिका र प्रगती परियोजनाको चर्चा गर्नुभएको थियो । उहाँहरुले विपद् आउनुपूर्वनै सचेत हुनुपर्नेमा जोड दिनु भएको थियो ।यस्तै, प्रगती परियोजनाकी विष्णु कार्की, शक्ति गुरुङ लगायतले पनि सो परियोजनाले नगरपालिकासँगको सहकार्यमा विपद् व्यवस्थापन न्युनिकरणमा काम गरिरहेको जनाउनुभयो । यस्तै, नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले यो सूचना प्रणाली नेपालमा पहिलो पटक चाँगुनारायण नगरपालिकाले सार्वजनिक गरेको र यसवाट थुप्रै खाले जानकारी लिन सकिने जनाउनुभयो ।