नगरपालिकाले खोल्यो रक्सी उद्योग

१० महिना अगाडि ७६१ खवर डटकम

रुकुम - रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले रक्सी उद्योग सञ्चालन गरेको छ। संघीय सरकारले मदिराजन्य वस्तु उत्पादन, बिक्रीवितरण र सेवनलाई कडाइ गर्ने तयारी गरिरहेको बेला आठबिसकोट नगरपालिकाले भने वडा नं १२ सिमचौरमा उद्योग नै सञ्चालनमा ल्याएको हो।
संघीय सरकारले ‘मदिरा उत्पादन र बिक्री वितरणको नियन्त्रण तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ जारी गरी कडा कानुनी प्रावधान ल्याउन लागेको छ। जसमा मदिरा उद्योगमा सरकारीले प्रोत्साहन नगर्नेदेखि नयाँ मदिरा उद्योग सञ्चालनका लागि अनुमति नदिने र अनुमति लिई ५० प्रतिशतसम्म पूर्वाधार बनाएका उद्योगहरुको समेत इजाजतपत्र खारेज गर्ने व्यवस्था समेटिएको बताइएको छ।
गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको उक्त मस्यौदा जारी भएपछि कार्यन्यवनमा आउने छ। तर आठबिसकोट नगरपालिका र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको मदिरा उद्योगको काम भने धमाधम भैरहेको छ। कोटकिङ डिस्टलरी प्रालिको नामबाट सञ्चालित उक्त उद्योगबाट उत्पादित मदिरा नौ महिनाभित्रै बजारमा आउने जनाइएको छ। रक्सी उद्योगमा हाल फलफुट कुहाउने काम भैरहेको बताइएको छ।