‘कर्मचारी समायोजन अध्यादेश’ को विरोधमा देशभर स्थानीय तहको कामकाज ठप्प

१२ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं– ‘कर्मचारी समायोजन अध्यादेश’ को विरोधमा देशभरका स्थानीय तहका कर्मचारीले स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेका छन् । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम तय गरेर सबै स्थानीय तहको कायकाज ठप्प बनाएका हुन् ।
स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले विगतमा दिदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोधमा सोमबार देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारिएको बताउँनुभयो । स्थानीय तहका कर्मचारीहरुले मंगलबार २ घण्टा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्द गर्ने जनाएका छन् ।
स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरिसकेका छन् । पुस १० गते काठमाडौंमा वृहत विरोधसभा आयोजना गर्ने र सोही सभामा आन्दोलनका थप थप सशक्त कार्यक्रम घोषणा गर्ने चेतावनी पनि उनीहरुको छ ।