विराटनगर महानगरको विकास रणनीति : भौतिक पूर्वाधार निमार्णमा अर्बौ लगानी

११ महिना अगाडि किरण ढकाल

विराटनगर - प्रदेश नम्वर एकको अस्थायी राजधानी समेत रहेको विराटनगर महानगरपालिकाले सुशासन, लैङ्गिकमैत्री, एवं सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य, कृषि, वातावरणमैत्री, विपत् व्यवस्थापन तथा गरिवि निवारणलाई प्रमुख आधार वनाएर ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ को दिर्घकालिन योजना अघि वढाईरहेको छ ।लामो समयसम्म जननिर्वाचित प्रतिनिधिविहीन भएको महानगरमा निर्वाचित जनप्रतिनिधि आएसँगै समग्र महानगरको आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रको विकासमा नै महानगर तल्लिन देखिएको हो ।

देशकै दोस्रो ठूलो शहर समेत रहेको विराटनगर २०५२ सालमा उपमहानगर र २०७४ सालमा महानगर बनेको हो । अहिले १९ वडा रहेको महानगर खासगरि, औद्योगिक महानगरका रुपमा परिचित छ । देशका अरु महानगर भन्दा पृथक पहिचान बोकेको विराटनगर यतिवेला नगर क्षेत्रलाई सुन्दर र हरियाली शहरका रुपमा विकास गर्न दिर्घकालिन योजना सहित ढल, नाला, सडक चौडा गर्ने, व्यवस्थित पेटी र सडक छेउमा वृक्ष रोपण गर्ने अभियानमा लागि परेको छ ।



पुरानो तथा औद्योगिक शहर भएकाले अव्यवस्थित बस्तीका विकासमा अवरोध समेत झेलिरहेको महानगरले शहरभित्र सडक चौडा गर्ने, पार्किङ स्थल निमार्ण, औद्योगिक प्रदुषण नियन्त्रण गर्ने काममा चुनौती समेत सामाना गरिरहेको छ । शहरी योजना बन्नु पूर्वनै बस्ती विस्तार हुँदा अव्यवस्थित वनेको शहरलाई व्यवस्थापन गर्दै सुन्दर शहरमा परिणत गर्ने चुनौती समेत यो महानगरमा देखिएको छ । यद्यपी, पूर्वाधारका हिसावले प्रदेश नम्वर एकको प्रादेशिक राजधानीका रुपमा विकास गर्न आवधिक नगर विकास योजना र यसको कार्यान्वयनका लागि क्षेत्रगत गुरु योजना सहितको प्रोजेक्ट बैंक तयार गरेर अघि बढ्ने तयारीमा विराटनगर महानगर छ ।



महानगरका योजना महाशाखा प्रमुख ईन्जिनियर गोपाल पोखरेल राष्ट्रिय, अन्तर्राष्ट्रिय, दातृ निकायको परिचान गर्दै दिर्घकालिन योजना सफल बनाउन समेत महानगर लागि परेको बताउँनुहुन्छ । उहाँका अनुसार सार्वजनिक, निजी साझेदारी अवधारणा अनुसार निजी क्षेत्रमा रहेको पूँजीलाई समेत नगर विकासमा आकर्षित गरी सौर्य सडक बत्ती जडान, कृषि तथा औद्योगिक प्रदर्शनी स्थल निमार्ण, आकाशे पुल निमार्ण, हरियाली प्रवद्धन, ऐलानी जग्गा संरक्षण, बसपार्क सञ्चालन, व्यवस्थित सवारी पार्किङ, फोहरमैला व्यवस्थापन लगायतका काम नै अहिलेका महानगरका प्राथमिकताका काम हुन् । यी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्न महानगरले रणनीतिक योजना बनाएको छ ।

यस्तो छ महानगरको विकास नीति

जनताको घरदैलोमा सरकारी सेवा र नागरिकको पहूँच विस्तार गर्न व्यवस्थित पार्किङ, नागरिक प्रतिक्षालय सहितको अपाङ्गतामैत्री कार्यालय भवन एवं वडा कार्यालय भवन निमार्ण गरि प्रविधिमैत्री शुलभ सेवा प्रवाह गर्ने महानगरको नीति छ । यस्तै, भष्ट्राचारमा शून्य सहनशिलताको नीति लिई पारदर्शिताका लागि सवै निर्णय र गतिविधि सर्वसाधारणलाई जानकारीका लागि वेभसाइटमा राख्ने, नतिजामूखी काम, महानगरको काम प्रविधिमैत्री रुपमा गर्ने, सार्वजनिक स्थलमा सीसी क्यामेरा राख्ने, महानगरले वडा स्तरमा गर्ने काम वडासँग समन्वय गरि सम्पन्न गर्ने नीति समेत अवलम्वन गरेको छ ।



यस्तै, विषेश आर्थिक क्षेत्र, सुख्खा बन्दरगाह, अन्तर्राष्ट्रिय स्तरको हवाई मैदान विस्तार, रिङ्ग रोड, बाइपास निमार्ण, व्यवसायीक भवन, भ्यू टावर, रंगशाला, कृषि वजार, नयाँ बसपार्क लगायतका योजना निमार्ण तथा कार्यान्वयन पनि महानगरले गरिरहेको छ । महानगरका सूचना अधिकारी नन्दीकेशर भण्डारी महानगरले भूउपयोग नीति, ट्राफिक व्यवस्थापन, नाला, ढल, फोहर पानी प्रशोधन केन्द्र सञ्चालन लगायतका कामलाई प्रथमिकता साथ अघि वढाएको बताउँनुहुन्छ । शहरभित्र टेलिफोन, बिजुली, केवल, तथा इन्टरनेटका तारहरु व्यवस्थित गरि सुन्दर र सफा शहर बनाउन अण्डरग्राउण्ड लाईन विस्तार गर्ने दीर्घकालिन योजना अघि वढाउँदै छ ।



यस्तै, अण्डरग्राउण्ड पार्किङ सहितको संरचना निमार्ण गर्न विस्तृत योजना तयार गरि २ बर्षमा काम सम्पन्न गर्ने, महानगरमा प्रवेश गर्ने नहरको दुवैतर्फ वाइपास सडक निमार्ण गरि कोशी राजमार्गमा हुने ट्राफिक जाम हटाउने, धार्मिक संरचनाको पूर्ननिमार्ण, महानगर आवास योजना सञ्चालन, २ बर्षभित्र कच्ची सडक ग्राभेल गरिसक्ने योजना महानगरको रहेकोपनि भण्डारीले बताउँनुभयो । अन्तर्राष्ट्रियस्तरको सभाहल निमार्ण, सौर्यबत्ती जडान गर्दै उज्यालो शहरको विकास महानगरको प्रमुख विकास योजना हुन् ।

महानगरको चालु आवको बजेट

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि कूल ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँ वजेट विनियोजन गरेको छ । जसमध्ये चालु तर्फ ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड, भौतिक पूर्वाधार निमार्णमा ३ अर्ब २५ करोड ३ लाख ३३ हजार रुपैयाँ वजेट विनियोजन भएको छ । यस्तै, महानगरले वन, वातावरण, सरसफाइृ, विपद् व्यवस्थापन, सूचना प्रविधि, संस्थागत विकास र शुसासन लगायतका लागि ५ करोड ९३ लाख ३० हजार, सामाजिक विकास, महलिा, वालवालका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपन्क्षी कार्यक्रमकालागि शर्शत अनुदान समेत गरेर ६२ करोड ४३ लाख ३४ हजार रुपैयाँ चालु आर्थिक बर्षमा वजेट व्यवस्था गरेको छ ।



चालु आवमा महानगरतर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत शहरी वातावरणयि सुधार परियोजना, क्षेत्रिय शहरी विकास परियोजना तर्फ एक अर्ब ९४ करोड २५ लाख कूल ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको वजेट निमार्ण गरेको थियो ।

यस्तो छ वजेटको स्रोत

महानगरको आन्तरिक स्रोतवाट ५४ करोड ३० लाख, राजश्व बाँडफाँड ३७ करोड ५ लाख ४ हजार, संघीय सरकार र प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघीय सरकारको शर्शत अनुदान विषयगत कार्यालय ४४ करोड ९६ लाख, समपुरक र विषेश अनुदान १० करोड, संघीय सरकार शर्शत अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य ४ करोड ४६ लाख ५० हजार, जनसहभागिता ३ करोड ५० लाख, नगर विकास कोष १ करोड ८० लाख, मौज्दात ७ करोड रुपैयाँ । यस्ते, क्षेत्रीय शहरी विकास परियोजना तर्फ संघीय सरकार र महानगरको परियोजना १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बजेट व्यवस्थापन भएको छ ।

भौतिक पूर्वाधारमा फड्को मार्दै महानगर

विराटनगर महानगरले खासगरि भौतिक पूर्वाधारको क्षेत्रलाई नै प्राथमिकतामा राखेको छ । महानगरले नगर क्षेत्रमा पर्ने राजमार्ग विस्तारदेखि नगरका भित्रि सडक निमार्ण तथा मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । महानगरका इन्जिनियर गोपाल पोखरेलका अनुसार वडागत रुपमा साना आयोजना देखि ठूला भौतिक योजनामा महानगरले वजेट खर्च गरेको छ ।



उहाँका अनुसार वडा स्तरमा अलका मार्ग पिच मर्मत, तमोरमार्ग पिच मर्मत, वडासमितिमार्ग पिच मर्मत, सरस्वती मार्ग पिच मर्मत, अतिथि मार्ग पिच मर्मत, एकता मार्ग पिच मर्मत लगायतका काम महानगरले गत आर्थिक वर्षमा सम्पन्न गरेका साना योजना हुन् । यस्तै, जानकी पथ, पहडगछ मार्ग, नहरपथ मार्ग, साकेला मार्ग, अनाथाश्रम मार्ग, हिमाली मार्ग, कमलपोखरी मार्ग, प्रतिक मार्गलगायतमा पनि पिच सडक मर्मतको काम सम्पन्न भएको छ । जागृती टोलमा अधुरो पिच निमार्ण, कोशीअञ्चल अस्पताल भित्र मर्मत, रामजानकी मार्गमा मर्मत, शंकरपुर पूर्वउत्तर सडक मर्मतको काम महानगरले गरेको छ । यी सडक मर्मतमा महानगरले एक करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । सडअक वोर्डको सहयोगमा पटके मर्मत अन्र्तगत महानगरले गत आवमै २६ वटा सडक मर्मत, मर्मत योजना अन्र्तगत ३५ वटा सडक मर्मत तथा निमार्ण समपन्न गरेको जनाएको छ । यस्तै, नगर, वडा, हिलो, स्लाव शिर्षकमा ३८ वटा योजना मध्ये ११ वटा साना योजना सम्पन्न गरेको छ ।



यस्तै, शहरी स्वास्थ्य योजना, सिमाक्षेत्र विकास कार्यक्रम, संस्थागत विकास, नगर तथा वडा स्तरिय योजनाका दर्जनौ काम पनि महानगरले सम्पन्न गरेको छ । महानगरले ५० करोड भन्दावढी लागतका विभिन्न वडागत साना योजना पनि सम्पन्न गरिसकेको छ । यसरी हेर्दा विराटनगर महानगर पूर्वाधार विकासमा अग्रणी महानगरको रुपमा देखिएको छ ।

महानगरले मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्र्तगत वर्षातको पानीको ढलनाला ३६ हजार ६ सय ७७ मिटर निमार्ण, सडक छेउको नाला निमार्ण ३५ हजार ४ सय ७२ मिटर, ढल प्रणाली निमार्ण ४० हजार ८ सय ५६ मिटर र फोहर पानी प्रशोधन निमार्णको काम सम्पन्न गरेको छ । यो योजनमा २ अर्ब ९५ करोड ७२ लाख ९० हजार सम्झौता रकम रहेको थियो । यस्तै, महानगरले क्षेत्रीय शहरी विकास परियोजना अन्र्तगतको पानीको ठूलो नाला, सडक छेउको नाला, ढल प्रणाली निमार्ण, सडक निमार्णको काम पनि ३० प्रतिशत काम सम्पन्न गरेको छ । यसको लागत सम्झौता रकम २ अर्ब ६१ करोड १० लाख ९२ हजार रुपैयाँ छ ।

स्वास्थ्य र शिक्षामा लगानी

नगरपालिकाले नगरभित्र स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेको छ । महानगरले स्वास्थ्य संस्थालाई निशुल्क औषधी वितरण, सर्जिकल सामान खरिद, स्वास्थ्य चौकीको घरभाडा, स्वास्थ्य नीति निमार्ण, शहरी स्वास्थ्य केन्द्रको सञ्चालन, खोप केन्द्र र गाउँ क्लिनिक भवन निमार्ण, वर्थिङ सेन्टर सञ्चालन लगायतका क्षेत्रमा लगानी गरेको छ । यस्तै, स्वास्थ्य जिवन कार्यक्रम लागु, महामारी नियन्त्रण, स्वास्थ्य संस्थामा खानेपानी व्यवस्था र छोरी वचाउँ अभियान सञ्चालनजस्ता कार्यक्रम महानगरले चलाएको छ । यस्तै, स्यानीटरी प्याड वितरण, ८४ वर्ष जेष्ठ नागरिकलाई पोषण भत्ताको व्यवस्था, लागु औषध उपचार तथा पुर्नस्थापना केन्द्र लगायतका क्षेत्रमा महानगरले सहभागिता जनाएको छ ।



यस्तै, महानगरले नमुना विद्यालय विकास कार्यक्रम, विज्ञान प्रदर्शनी, सामादायी विद्यालयमा गुणस्तर सुधारका कार्यक्रम सञ्चालन, विपन्न अभिभावक सहयोग, पूर्वाधार विकास लगायतका शिक्षा क्षेत्रमा लगानी भइरहेको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख देवकुमारी खत्रीले बताउँनुभयो । उहाँका अनुसार विददालयका भवन मर्मत, उत्कृष्ट प्रअ, शिक्षक, विद्यार्थी लगायतको सम्मान, विभिन्न खाले तालिममा पनि महानगरपालिकाले काम गरिरहेको छ ।

सूचना प्रविधिमा महानगर

महानगरले सूचना प्रविधिलाई जोड दिदैं गुनासो सुनुवाइका लागि मोवाइल एप्स, नगर सूचना प्रोफाइल तयारी तथा स्रोत नक्सा, वडा कार्यालयमा इन्टरनेट जडान, तथा व्यवस्थापन, सीसी क्यामरा जडान लगायतका काम पनि गरेको छ । यस्तै, विद्युतीकरण, सडक वत्ति, फोहर व्यवस्थापन लगायतका काममा महानगरको सहभागिता छ ।