हेलम्बु गाउँपालिका नयाँ प्रविधिबाट स्याउ उत्पादनमा प्रोत्साहन गर्दै

९ महिना अगाडि दिनेश दुलाल

शेर्माथाङ - पछिल्लो पटक हेलम्बु गाउँपालिकाले हेलम्बुलाई स्याउको पकेट क्षेत्र किटान गरेर स्याउ लगाउने अभियान नै चलाउने भएको छ । स्याउको पुर्नजन्म गराउने भन्दै यस अघि अमेरिकाको आइथस नामक संस्थाले ३ वर्षदेखि कृषकको घरदैलोमा पुगेर स्याउखेती तालिम सिकाउने र अनुदानमा बिरुवा वितरणको काम गरिरहेको थियो । तर गाउँपालिकाकै अभियानमा अहिले हेलम्बु क्षेत्रलाई स्याउ उत्पादन पहिलेकै अवस्थामा पु¥याउने गरी काम थालिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउँनुभयो ।



उहाँका अनुसार पालिकाको योजनामा कुन क्षेत्रमा र कस्तो हावापानी भएको ठाउँमा स्याउ व्यवसाय गर्न सकिन्छ भनेर प्राविधिक सहितको दक्ष टोलीले अध्यान थालेको छ । जलवायुको परिवर्तनको असर स्याउमा परेको कुरा स्विकार्दै पालिका अध्यक्ष निमाले भन्नुभयो, ‘पुराना खालका स्याउ तापक्रम वृद्विका कारण फल्दैन, अब नयाँ प्रविधिबाट हामी सुरुवात गर्दै छौं ।‘ उहाँका अनुसार पालिकाको योजनामा हिमाली जिल्लामा हुने फुजी स्याउको बिरुवा मगाईएको छ । केही ठाउँमा भने फल दिन सुरु गरेको पालिका अध्यक्ष निमाले बताउँनुभयो ।



स्याउ फल्न सुरु

नयाँ प्रविधिबाट स्याउ उत्पादन गर्ने पछिल्लो गाउँपालिकाको अभियानले हेलम्बु–७ का काजीबाबु ह्याल्मोलाई केही आशा पलाएको छ । ४ सयभन्दा बढी स्याउका बिरुवा रोपे पनि आम्दानी नभएपछि माया मारेका उहाँ सीप सिकेपछि पुनः आम्दानी लिन सकिने अवस्थामा हुनुहुन्छ ।




गाउँमा स्याउ फल्न थाले पछि काजीबाबु जस्तै हेलम्बुबासी यतिबेला निकै खुशी छन् । पालिका अध्यक्ष निमाका अनुसार हेलम्बुका तार्केघ्याङ, सेतोेघ्याङ, धेचेथाङ, मिलिमछिमघ्याङ र शेर्माथाङ लगायत स्थानमा पुनः स्याउ फल्न सुरुवात गरेको छ । ‘हामीले नयाँ खालको स्याउको बिरुवा मगाएका छौं, सिङ्गो हेलम्बुलाई नै स्याउमय बनाउँछौं’, अध्यक्ष निमाले भन्न्ुभयो । हेलम्बुलाई स्याउ हब तथा होम स्टे हब बनाएर सो क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने अध्यक्ष निमाको अठोठ छ ।