प्रदेश २ मा २५ र २६ गते बिदा

९ महिना अगाडि ७६१खबर डट कम संवाददाता

धनुषा, २४ मङ्सिर : प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् ।


जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन आज राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार (कोशेली) राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए । यसैबीच भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन् । जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ ।


जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधरणलाई आग्रह गरिएको छ ।


उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरुपमा दीपावली मनाउन आग्रह गरिएको छ । ––