जनकपुरधाम उपमहानगरद्वारा रामजानकी मन्दिर परिसरमा सरसफाई (फोटो फिचरसहित)

७ महिना अगाडि ७६१ खबर

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवको अवसरमा सोमबार जनकपुरधाम स्थित रामजानकी मन्दिर परिसरमा सरसफाई गरेको छ ।



उपमहानगरका मेयर लालकिशोर साहको नेतृत्वमा नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा स्थानीयबासीले विहानैवाट मन्दिर परिसरमा सफाई गरेका हुन् । जनकपुरधामलाई मिथिला साँस्कृतिक शहर निमार्णको अभियान चलाइरहेको उपमहानगरले विवाह पञ्चमी महोत्सवलाई लक्षित गरेर सफाई अभियान चलाएको मेयर लाल किशोर साहले बताउनुभयो ।



अभियानकै क्रममा मेयर साह लगायतका सहभागिले करिव ३ घण्टा मन्दिर आसपासका क्षेत्रमा रहेको फोहर उठाउने, मन्दिरको गेट लगायत वालमा पानी लगाएर पखाल्ने काम गर्नुभएको थियो ।

जनकपुरधाममा मंसिर २६ गतेवाट विवाह पञ्चमी महोत्सव सुरु हुँदै छ । महोत्सवमा नेपाल, भारत लगायतका हजारौं भक्तजन तथा दर्शनार्थी अहिले जनकपुरधाम आउनेक्रम चलिरहेको छ ।


उपमहानगरले हरेक हप्ताको एक पटक जनकपुरधाम क्षेत्रमा सरसफाई अभियान चलाइरहेको जनाएको छ । यस क्षेत्रलाई सुन्दर र साँस्कृतिक शहरका रुपमा विकास गर्ने उपमहानगरेको अभियान छ । उपमहानगरकै सक्रियतामा विवाह पञ्चमी महोत्सवभर जनकपुरधाम क्षेत्रमा मदिरापान र मासु विक्रि वितरण समेत बन्द गरिएको छ ।