२०७७ चैत १३ शुक्रबार, बारबर्दिया नगरपालिका(बर्दिया)बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ ।बारबर्दियामा नगरपालिकाको रु चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन ।”सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र शाहले बताउनुभयो । भवन निर्माण भएपछि करीब ६० हजार जनताले बारबर्दिया नगरपालिकाले सेवा पाउनेछन् ।पश्चिम नेपालमै थारुमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै जनता पीडित भएपछि आफ्नो नगरपालिकाको कार्यसमितिले निर्णय गरेर यो रोग उत्थान गर्नका लागि आफूहरुले अस्पतालका लागि भवन निर्माण गर्न लागेको बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गाबहादुरले बताउनुभयो ।एनिमिया के हो ? कसरी बच्ने ?मलेरिया विभिन्न प्रजातिका हुन्छन् । त्यसमध्यको एक प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ । समयमै यसका विरामीले उपचार नपाएको खण्डमा मान्छे मर्न पनि सक्छ । त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ।कपिलवस्तुदेखि पश्चिमका थारु समुदाय पीडितयो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवा/आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै हालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ ।अहिलेसम्म देखिएकामध्ये कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । जबकी पूर्वी भागमा यसको प्रकोप खासै देखिएको छैन । यो किन भइरहेको छ भनेर यकिन भन्न गार्हो छ । किनकी नेपालमा यस सम्बन्धी विस्तृत अध्ययन अनुसन्धान नै भएको छैन । सबै थारु समुदायमा पनि यसबारे अनुसन्धान गरिएको छैन ।यसका रोगी उपचारका लागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ । जो रोगवहाक हो, जसको जीन खराब छ तर ऊ स्वस्थ्य छ, त्यस्ता जनसंख्या नेपालमा धेरै छन् । तिनीहरुमै रोग बढी देखिएको छ ।सिकलसेलको लक्षणसिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ ।हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ । जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ । समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।सिकलसेलको उपचारयसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुन सक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचन शक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई(दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ । उनीहरुलाई बेला(बेलामा रगत चढाउनु पर्ने हुँदा समय(समयमा रगत जाँच गर्नुपर्छ ।बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ । धेरै गर्मीको मौसममा यस्ता रक्त कोषिका हसिया आकारमा परिणत हुने गर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्ने हुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ । धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।