गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश २ को प्रथम अधिवेशन सुरु

८ महिना अगाडि किरण ढकाल/ दिनेश दुलाल

मिथिला, लालगढ - गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश नं. २ को प्रथम प्रदेश अधिवेशन धनुषा जिल्लाको मिथिला नगरपालिकाको लालगढमा सुरु भएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको कार्यक्रम झण्डै डेढघण्टा ढिलो गरी सुरु भएको हो ।
अधिवेशनको २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार उद्घाटन गर्नुभएको हो ।

तीन तहको सरकारबीच सहकार्यमा मुख्यमन्त्रीको जोड



उद्घाटन सभालाई संवोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको संघीय संरचना अनुसार तीन तहको सरकारबीच सहकार्य हुनु पर्ने कुरामा जोड दिनुभयो । ‘तीनवटा सरकारबीच समन्वय र सहकार्य हुन जरुरी छ, यदी तीन सकारकाबीच समन्वय र सहकार्य हुन नसके संविधानको मर्म अनुसार मुलुकको समृद्धिमा सघाउ पुग्दैन’, मुख्यमन्त्री राउतले भन्नुभयो ।




उहाँले जनतासँग प्रत्यक्ष सम्पर्क रहने संस्था भनेको स्थानीय तह भएकाले प्रदेश र केन्द्रले स्थानीयसँग सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । ६ वटा प्रदेशमा जति समस्या छन् त्यो भन्दा बढी प्रदेश २ रहेको कुरा उल्लेख गर्दै मन्त्री राउतले प्रदेश २ मा हरेक घण्टा खतराको घण्टी बजीरहेको खुलासा गर्नुुभयो ।

स्थानीय रुपमा स्थायी रुपमा कर्मचारी व्यवस्था गर्न प्रादेशिक लोकसेवा आयोगको आवश्यकता औंल्याउँदै मन्त्री राउतले एउटा गाउँपालिकामा उपसचिव प्रशासकीय अधिकृत हुनपर्ने कुरामा जोड दिनुभयो । संविधानको मर्मनै तीन तहबीचको सहकार्य रहेकाले त्यही अनुसार तीनै तह मिलेर सुखी नेपाली समृद्व मुलुक बनाउनु पर्नेमा उहाँले थप्नुुभयो ।

कसरी सुशासन र पारदर्शी बनाउन सकिन्छ त्यसको लागि गाउँपालिका राष्ट्रिय महासंघले पहल हुनपर्नेमा उहाँले धारणा राख्नुभयो । ‘हामीले सुशासित सरकार बनाउन सक्छौं भन्ने कुरा गाउँपालिका महासंघको प्रतिवद्वता सहित धारणा आउनुपर्छ’, मुख्यमन्त्री राउतले भन्नुभयो । २ नम्बर प्रदेशको भेलाले प्रदेश २ लाई सुशासनयुक्त प्रदेश बनाउन जोड दिंदै अधिवेशनको सफलताको कामना व्यक्त गर्नुभयो ।




कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य रामसरोज यादव, बन तथा उद्योग मन्त्री सुरेश मण्डल, प्रदेश सांसद सत्रुधन महतो, गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ, माहासचिव बंशलाल तामाङ लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष लगायतको सहभागिता रहेको छ ।



दुईदिनसम्म चल्ने उक्त अधिवेशको पहिलो सत्रको कार्यक्रम आज बेलुकै सकिएर बन्द सत्र सुरु हुने गाउँपालिका महासंघ २ नम्बर प्रदेशका संयोजक विजय कुमार चौरसियाले ७६१ खवर डटकमलाई बताउनुभयो । उक्त प्रदेशका ५९ गाउँपालिकाहरुबाट अध्यक्ष, उपाध्यक्ष तथा एकजना वडा अध्यक्ष गरी ३–३ जनाको अधिवेशनमा उपस्थित रहेको छ ।