सोचेजति काम गर्न सकिएनः लिसंखु पाखर गाउँपालिका अध्यक्ष

८ महिना अगाडि

कमल नेपाल लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । डेढ वर्षअघि गाउँपालिकाको पहिलो सरकार प्रमुखको नेतृत्व लिएपछि नेपालले केही सृजनात्मक कामहरुको सुरुवात गर्नुभएको छ । ९८.६१ वर्ग कि. मि. क्षेत्रमा फैलिएको यस गाउँपालिकामा साबिकका ६ गाविसहरु ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेका छन् । २०६८ सालको जनगणना अनुसार १५,१४३ जनसंख्या रहेको गाउँपालिकाका अध्यक्ष नेपालसँग ७६१खबर डट कमका लागि दिनेश दुलालले लिनुभएको अन्तर्वार्ता–

लिसंखु पाखर गाउँपालिका अध्यक्षको हैसियतले अहिलेसम्म विकासका लागि के कस्ता कुरमा प्राथमिकता दिनु भएको छ ?

खासगरी पूर्वाधार क्षेत्रको विकास नै पहिलो प्राथमिकता हो । पूर्वाधार भन्नेबितिकै सडक, भवन, खानेपानी, सिँचाइजस्ता मुल कुरा नै हाम्रो पहिलो प्राथमिकता हुन । त्यसपछि दोस्रोमा हामीले कृषि क्षेत्रको बिकास सँगसँगै कृषि व्यवसायबाट आर्थिक विकासतर्फ उन्मुख हुनु हो । त्यस्तै तेस्रोमा पर्यटन क्षेत्रको विकास गर्ने र हाम्रो गाउँपालिका पर्यटन हिसाबले पनि सम्भावना बोकेको स्थानीय तह हो । यसको विकास गर्नु भन्दा पनि भएका संरचनालाई संस्थागत गर्ने, ठीक ढंगले व्यवस्थापन गर्ने, चुस्त, दुरुस्त बनाउने औजार उपलब्ध गराउने, भएका विद्यालयहरुलाई थप गुणस्तरीय बनाउने, जस्ता क्रियाकलपहरुम त हामीले गरिसकेका छौँ । आधारभूत तहमा त फड्को मारिसकेको पनि छौं । माथिल्लो तहमा पनि गुणस्तर बनाउने प्रयत्न गर्दैछौं ।

काम गर्ने जुन अपेक्षा गरेर जानुभएको थियो, ५ वर्षमा तपाईंले अघि सार्नुभएका योजनाहरु पूरा गर्न सहज र असहज कस्तो महसुस गर्नुभएको छ ?

हामीले जति जे सोचिएको थियो त्यति सहज त भएको छैन । पहिलो कुरा त हामी आफैं बस्ने कार्यालय व्यवस्थापन भएको छैन । कार्यालय व्यवस्थापन नभएपछि कर्मचारी, प्रशासन, कार्यालयबाट दिने सेवा सुविधा चुस्त दुरुस्त हुँदैन । त्यो हामी सबैलाई थाहा छ । यसलाई हामी चुस्त दुरुस्त बनाउन पर्छ । कार्यालय व्यवस्थापन गर्नुपर्छ । त्यसकारण जति सहज हुनुपर्ने थियो त्यो चाँहि भएको छैन । तर हामीले जनता समक्ष राखेको प्रतिबद्धता अबको ५ वर्षमा विकासका कामहरु पुरा गर्ने छु । जनतालाई यहि अपेक्षा गर्ने आग्रह गर्छु ।

संघीय सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?

हामीले विशेष गरी गाउँपलिकादेखि वडा कार्यालयसम्म जाने बाटोहरु निर्माण गरिरहेका छौं । संघ र प्रदेशले बनाउने बाटोघाटोको काम पनि अघि बढोस् भन्ने अपेक्षा राखेका छौं । हामीलाई सबै बाटो बनाउने जिम्मा दिइएको छैन । केही ठुलठुला आयोजनाहरुलाई उहाँहरुले बजेट विनियोजन गरिदिनुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधि सेवासुविधामा लिप्त भए भन्ने आरोप छ नि ?

त्यस्तो थप सेवा सुविधा भनेर हामी लिएको छैन । तलब भत्ता बापत जे तोकिएको छ त्यो भन्दा बढि सेवा सुविधा लिएको छैन । प्रदेशले तोकिएको सेवा सुविधा भन्दा बढि सुविधा लिइएको छैन ।

विपक्षी राजनीतिक दल तथा कर्मचारी वृत्तसँग कसरी समन्वय गरिरहनुभएको छ ?

हामीकहाँ त्यति धेरै कर्मचारी पनि छैनन् । मैले कर्मचारी र विपक्षी दलसँग राम्रो समन्वय गरेरै काम गरिरहेको छु ।

तपाईंको स्थानीय तहमा गरिहाल्नुपर्ने काम के–के छन् ?

हाम्रो स्थानीय तहमा विभिन्न ठाउँहरुमा सडक, बाटो, खानेपानी जस्ता कुराहरुबाट बञ्चित भएका समुदायहरुलाई तत्काल सेवा प्रदान गर्ने हाम्रो योजना छ ।

तपाईंको स्थानीय तहमा मुख्य–मुख्य आर्थिक स्रोतहरु के के छन् ?

यो गाउँपलिका आन्तरिक स्रोतले ज्यादै पछाडि परेको गाउँपलिका हो । किनभने यहाँ खोलानालाहरुको संख्या कम मात्रामा छ । जसले गर्दा गिटीबालुवा हुँदैन । एक दुई वर्षको अन्तरालमा त केही स्रोतहरु बन्लान् तर तत्काल भने आर्थिक सोतहरु छैनन् ।

जनताका आयआर्जनका लागि के कस्ता कामहरु गरिरहनुभएको छ ?

कृषिसँग सम्बन्धित कामहरु हामीले गरेका छौं । जस अन्तर्गत बाख्रापालन, माछा पालन, केराउ खेती, फलफूल खेतीका लागि अनुदान रकम छुट्याइएको छ ।