यी हुन् प्रदेश नम्बर २ का सम्भावित नाम

११ महिना अगाडि ७६१खबर डट कम संवाददाता

जनकपुर– प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर बहस सुरु भएको छ । राजधानीका लागि हालको अस्थायी राजधानी जनकपुर र व्यापारिक हब वीरगन्जबीच तानातान सुरु भएको छ ।

प्रदेशको नाम के राख्ने भन्नेबारे भने कुनै पनि दलको एकमत छैन ।

प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोलीका संयोजक हरिवंश झाले धेरै नामहरु आएको बताउनुभएको छ । उहाँका अनुसार जनकपुर प्रदेश, जानकी प्रदेश, मधेश प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिएका थिए ।

हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहनुभएको छ । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव सङ्कलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने छ ।

राजधानी वीरगन्ज बनाउन दबाब

वीरगन्जका राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल वीरगञ्ज भएको धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव दिनुभएको छ ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, प्रतिनिधिसभाका सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, उपप्रमुख शान्त्ति कार्की, सांसद हरिनारायण रौनियार, महिला नेत्री सुषमा तिवारी, मुन्नी श्रीवास्तव, राजपाका महासचिव राजेशमान सिंह, केन्द्रीय सदस्य रम्भा मिश्र, ओमप्रकाश सर्राफ, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार लगायतका नेता तथा बौद्धिक समाजका व्यतिmहरु वीरगन्जको पक्षमा उभिनुभएको छ ।