गाउँपालिका राष्ट्रिय महासंघको २ नम्बर प्रदेश अधिवेशन भोलिदेखि, तयारी पूरा भएको संयोजक चौरसियाको भनाइ

९ महिना अगाडि ७६१खबर डट कम संवाददाता

जनकपुर– गाउँपालिका राष्ट्रिय महासंघको २ नम्बर प्रदेश अधिवेशन भोलिदेखि धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा सुरु हुँदैछ ।

लालगढस्थित लालगढ कुष्ठरोग अस्पतालमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघका प्रदेश संयोजक विजय चौरसियाले जानकारी दिनुभयो । अधिवेशनमा शुभकामना मन्तव्यका लागि प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

संयोजक चौरसियाले अधिवेशनको सबै तयारी पूरा भएको पनि जानकारी दिनुभएको छ । ‘प्रतिनिधिहरु आइरहनुभएको छ, भोलि बिहानसम्म सबै आउनुहुन्छ,’ उहाँले ७६१खबर डट कमसँग भन्नुभयो, ‘भोलि समयमै कार्यक्रम सुरु हुन्छ ।’


अधिवेशनमा २ नम्बर प्रदेशका ५९ गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष तथा वडासदस्यमध्ये एक जना गरी तीन–तीन जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।

अधिवेशनमा भोलि शुक्रबार उदघाटन सत्र हुनेछ । उदघाटन सत्र सकिएलगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुनेछ । समूहगत छलफल गरेर शनिबार लालगढ घोषणा पत्र जारी गर्ने कार्यक्रम छ । शनिबार नै नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।

प्रदेश नम्बर २ को अधिवेशन सकिएसँगै महासंघकोप्रदेश नम्बर ३ रकर्णालीबाहेक सबै प्रदेशको अधिवेशन सकिएको छ ।