इन्द्रावती गाउँपालिकाको सफल कार्यः लोकप्रियता पाउँदै ‘एक घर एक धारा’ कार्यक्रम

८ महिना अगाडि कृपा श्रेष्ठ

चौतारा, २० मंसिर - सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा एक घर एक धारा कार्यक्रमले लोकप्रियता पाइरहेको छ ।
गाँउपालिकाद्वारा स्वीकृत वार्षिक नीति, वजेट तथा कार्यक्रम अनुरुप गाउँपालिकाको आवश्यकतालाई पहिचान गरी विनियोजित वजेटको अधिकतम उपयोगी, पारदर्शी र मितव्ययि तवरले खर्च गरी आम नागरिकलाई फाइदा पुग्ने गरी योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गरिएको पाइएको छ ।
गाउँपालिकाले यस आवमा भौतिक पुर्वाधार, सामाजिक, आर्थिक विकासको क्षेत्रमा उल्लेखनिय कार्य गरेको छ । गाउँपालिकाले ईन्द्रावती वृहत खानेपानी आयोजना अन्तर्गत गाउँपालिकाको खानेपानीको अति आवश्यक भएका ४, ५, ६, ७, ८, ९, १० र ११ नं। वडाहरुमा एक घर एक धाराको अवधारणा अनुरुप खानेपानीको सुव्यवस्था गर्ने उद्देश्यले फिल्ड सर्वे गरी विस्तृत पारियोजना प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न भई सकेको छ । यो कार्यक्रमले निकै लोकप्रियता पाएको छ । यस परियोजनाबाट १३ हजार ९ सय ४६ जना लाभान्वित हुने देखिएको छ ।
त्यस्तै इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरुमा खानेपानीको सम्भाव्यता अध्ययन गरी प्रत्येक वडाहरुमा २ वटाका दरले २४ वटा खानेपानी मुहानको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको छ ।
यस आर्थिक वर्षमा त्यस्ता खानेपानीको विस्तृत खानेपानी परियोजना तयार गरी तत्काल एक ३ र एक धाराको अवधारणा अनुरुप कार्य गर्न कार्ययोजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद रोक्काले बताउनुभयो ।
उहाँका अनुसार चक्रपथ निर्माण मार्फत सडक संजालको विस्तार गर्दै गाँउपालिकाले स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ईन्द्रावती चक्रपथ विस्देउटार देवी झोलगे शीर्षकमा रु एक करोड वजेट विनियोजन गरी १० मिटर चौडाइ र ४ किमि लम्वाइको नयाँ ट्रयाक खोल्ने काम सम्पन्न गरिएको छ ।
साथै गाउँपालिका १२ वटै वडाहरु बीच सडक संजालको विकास गरी यातायातको क्षेत्रमा सहज स्थिति कायम गर्नका निमित्त यस आर्थिक वर्षमा पनि क्रमागत योजनाको रुपमा सोही कार्यक्रमलाई समावेश गरी रु पचास लाख वजेट विनियोजन गरिएको रोक्काले जानकारी दिनुभयो ।