वर्तमान सरकारको एजेण्डा– शान्ति, विकास र समृद्धिः मुख्यमन्त्री शाही

८ महिना अगाडि कृपा श्रेष्ठ

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्तमान सरकारको एजेण्डा नै शान्ति, विकास र समृद्धि भएको बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सभ्यताले नै सुसंस्कृत समाज निर्माण हुने औँल्याउँदै लैङ्गिक हिंसा र विभेदमुक्त समाज निर्माणका लागि प्रदेश सरकारले आफ्नो योजना अघि बढाएको बताउनुभयो ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले पछिल्लो समयमा महिला अधिकार उपयोगमा उल्लेख्य प्रगति भएको बताउनुभयो । सो अन्तरक्रिया कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले सातै प्रदेशमा हिंसाका क्षेत्रमा अपेक्षित परिवर्तन नभएकाले अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कर्णालीको हिंसाको समस्यालाई राज्यले समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेशसभाका सदस्य, नेपालस्थित बेलायत सरकार नियोगका प्रमुख रुरिक मार्सडेन, प्रदेश सचिव, ७९ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षसहितको सहभागिता थियो ।