सतप्रतिशत आवास निर्माण गर्नेमा जिल्लाकै पहिलो वडा बन्यो कालिका

७ महिना अगाडि दिनेश दुलाल

सिन्धुपाल्चोक, १९ मंसिर -२०७२ को विनाशकारी भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकको साविकको कालिका गाविस व्यक्तिगत आवास निर्माण सम्पन्न गर्ने जिल्लाकै पहिलो वडा बनेको छ । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले आवास निर्माण सम्पन्न गरे पछि उक्त वडालाई पुनर्निर्माण सम्पन्न वडा घोषणा गरिएको हो । आईतबार निर्माणाधीन बस्ती हस्तान्तरण तथा पीडितलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्दै उक्त वडाईलाई सतप्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने जिल्लाको पहिलो वडा घोषणा गरिएको हो ।

बस्ती हस्तान्तरण गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रदेश नं. ३ का सांसद सरेश नेपाल, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी लगायत कालिका पुग्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाले पुननिर्मित बस्ती वडा कार्यालयलाई हस्तान्तरण गर्दै पीडितलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्नुभएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लाभग्राही सूचीमा समेटिएका साविक कालिका गाविसका सबै पीडितले आवास निर्माण सकेको ३ नम्बर वडाका वडाअध्य रामहरी खतिवडाले बताउनुभयो । कारितास नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण सकिएको हो ।प्राधिकरणसँग सम्झौता गरेर सहयोगी संस्था कारितासले २०७३ असोजमा उक्त वडामा गएर अनुदान सम्झौता र वितरण गर्दै पुनर्निर्माण अभियान चलाएको थियो ।

’हामीले आवास पुनर्निर्माण लगायत चार वटा क्षेत्रमा समेत काम गरेका छौं‘, कारितासका जिल्ला कार्यक्रम संयोजक झग्गु चौधरीले भन्नुभयो । उहाँका अनुसार कारितासले निजी आवास पुननिर्माण, जीविको पार्जन, विपद् जोखिम न्युनिकरण र खानेपानी सरसफाई स्वच्छता कार्यक्रम तथा मनोसामजिक सहयोग कार्यक्रम रहेको छ । पुनर्निर्माणको काम सुरु गर्नु भन्दा पहिला भूकम्प पश्चात ध्वस्त भएका घरहरु भग्नावशेषहरु व्यवस्थापन सरसफाई तथा स्थाई आवास निर्माणको लागि घडेरी सम्याउने समेत गरेको उहाँले बताउनुभयो । पुनर्मिाणकै चरणमा पिउने पानीको हाहाकार भएको अवस्थामा पानी बोकेर पनि पीडिलाई उपलब्ध गराईएको उहाँले बताउनुभयो । त्यसैगरी नेपाल सरकारको तर्फबाट तिन लाख रकम कारीतास नेपालले आफंैले दिएको तथा ढुवानी मार्फत समेत पाँचहजार उपलब्ध गराईएको थियो ।

कालिकामा पीडितले भवन संहिता मापदण्डमा रहेर इच्छा अनुसारको घर बनाएका छन् । निर्माण सम्पन्न घरमा ईंटा, सिमेन्ट जोडाइका ४ सय, ढुंगामाटोका १ सय १४, ढुंगा, सिमेन्ट जोडाइका ६ र पिलरजडिट (आरसिसी) १ सय १६ छन्।संस्थाले वडामा दुईवटा नमूना घर र एउटा सामुदायिक भवन समेत बनाएको छ ।

कालिकामा १ हजार १ सय ७८ लाभग्राही परिवार रहेकोमा १ हजार निजी आवास निर्माण भइसकेको कार्यक्रम संयोजक चौधरीले जानकारी दिनुभयो । पुनर्निर्माण सकिएको अवसरमा स्थानीयले दिनभर नाचगान गरेर खुशीयाली मनाए । उनीहरुले घर निर्माणमा सघाउने दाता संस्थाका प्रतिनिधि र अन्य पाहुनालाई फूलमाला र खादाले भव्य स्वागत र सम्मानसमेत गरे ।


स्मरण रहोस सो भेगमा कारीतासले खानेपानी कृषि तालिम, पशुपालन अनुदानलगाएत जिविकोपार्जन तथा बाटोघाटोमा समेत सहयोाग गरेको छ ।कारितासको सहयोगमा ३ नम्बर वडा कालिकाले सतप्रतिशत घरहरु निर्माण गरेर सुनकोशी गाउँपालिकाकै ईज्जत बढाएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले बताउनुभयो ।

यतिबेला भूकम्पबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र छ । पछिल्लोपटक निजी आवास पुनर्निर्माण अन्तिम चरणमा प्रवेश गरेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) ले जाएको छ । जिमालीका अनुसार जिल्लाका ८८ हजार परिवार लाभग्राहीमध्ये ५५ हजारभन्दा बढी घर पुनर्निर्माण भइसकेको छ।