प्रधानमन्त्रीलाई भेट्न किन सिंहदवार गए मोरङका जनप्रतिनिधिहरु ?

१० महिना अगाडि ७६१खबर डट कम संवाददाता

काठमाडौं, १७ मंसिर– मोरङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् । मोरङ ओलीको निर्वाचन क्षेत्रसँग जोडिएको जिल्ला हो ।

मोरङ– १ बाट निर्वाचित सांसद घनश्याम खतिवडा नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर नदी कटानलगायतका विषयमा आफ्नो माग प्रस्तुत गरेको छ । प्रधानमन्त्री ओलीसमक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरी र मिक्लाजुङका प्रमुख–उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो । सँगै रहनुभएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको जानकारी दिनुभयो । मोरङका जनप्रतिनिधिहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताउनुभयो । ‘यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।