हिलिहाङ गाँउपालिका : एउटा पुरैपरिवार नागरिकताविहीन

८ महिना अगाडि ७६१ खबर डटकम

फिदिम, १७ मंसिर - पाँचथर सदरमुकाम फिदिम नजिकै एउटा यस्तो परिवार जोसँग आफ्नो भन्ने कुनै जाय जेथा वा सम्पत्ति छैन् । परिवारका कुनैपनि सदस्यसँग नागरिकताको प्रमाणपत्र समेत छैन् । अरु अचम्मको कुरा त नागरिकताको प्रमाणपत्र भए÷नभएको विषयमा उनीहरुमा दोधार छ । किनकी नागरिकताको प्रमाणपत्र के हो भन्ने जानकारी समेत यो परिवारलाई छैन् ।


हिलिहाङ गाँउपालिका वडा नं. ७ भारपा स्थित फुलुवाका चन्द्रलाल बराइली तथा उहाँका भाई झुमन बराइलीसँग आफ्नै जग्गा जमिन त छैन् नै, नागरिकताको प्रमाणपत्र समेत छैन् । फिदिम नगरपालिका–१०, याङनाम पुख्र्यौली घर भएका दुई दाजुभाईको परिवार स्थानीय चन्द्रबहादुर योक्पाङ्देनको पाखो बारीमा रहेको बटेरोमा बस्दै आएका छन् ।



कन्तविजोगले जंगल छेउमा छिमेकीको सहयोगमा चलेको चन्द्रलालको परिवारलाई नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने थाहा समेत थिएन् । तर, अर्काको घरमा बसेर पढ्दै आएकी जेठी छोरी वर्सिनालाई कक्षा आठमा परीक्षा फारम भर्न जन्मदर्ता आवश्यक परेपछि वर्सिनाले आफू बस्दै आएका रुद्र तामाङलाई गुहारिन् । तामाङले बराइलीको नागरिकताको प्रमाणपत्रको खोजी गरेपछि बल्ल उक्त परिवारसँग नागरिकताको प्रमाणपत्र भए÷नभएको स्थानीय अगुवाहरुले खोजी थालेका छन् । “विद्यालयले जन्म दर्ता खोजेपछि बावुको नागरिकता छ कि छैन भनेर खोजी ग¥र्यौँ” छिमेकी डम्बर योक्पाङ्देन भन्नुभयो, “नागरिकता हुनुपर्ने मान्छेले नै यकिन कुरा नगरेपछि समस्या भयो ।” नागरिकताको अभावका वर्सिनाको पढाईमा समस्या सिर्जना भएको उनलाई संरक्षण गरेर राख्दै आएका हिलिहाङ–७, सल्लेरीका रुद्र तामाङको भनाई छ । केही स्थानीयले बराइली दाजु भाईको नागरिकता बनेको तर, हराएको वताएपछि जिल्ला प्रशासन कार्यालयको ढड्डामा हेर्न लगाउँदा उनीहरुको नागरिकतासम्बन्धी कुनै तथ्य फेला नपरेको हिलिहाङ गाँउ कार्यपालिकाका सदस्य टीकाराम धमलाको भनाई छ ।




चन्द्रलालको जेठी छोरी वर्सिना गत जेठबाट हिलिहाङ–७, एकचेपा स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आएकी छन् । चार वर्ष अघि पनि उनी कक्षा ८ मा अध्ययन गर्दै थिइन् । तर, जब परीक्षा फारम भर्न जन्म दर्ता, नागरिकताको प्रमाणपत्रका आधारमा बावु आमाको नाम र जन्म मिति आवश्यक प¥यो, तब वर्सिनाले अध्ययनलाई निरन्तरता दिन सकिनन् । किनकी उनीसँग यी कुनै पनि कागजात थिएनन् । दुई वर्षसम्म फिदिममा अरुको घरमा बसेर काम सघाउँदै आएकी उनी यस वर्षबाट हिलिहाङ–७, सल्लेरीका रुद्र तामाङको घरमा बसेर घरायसी काम सघाउँदै विद्यालय जान थालिन् ।“सरहरुले यो पुषसम्ममा जन्म दर्ता ल्याउनु भन्नुभएको छ । मैले ल्याउँछु भनेकी छु” वर्सिनाले रुँदै भनिन् “पहिला पनि जन्म दर्ता नभएर पढाई छोडेँ । अव के हुने हो थाहा छैन् ।” वर्सिनासँगै विद्यालय जान थालेकी आफ्नी छोरीले कक्षा १२ को अध्ययन सकेको तर, कागजात नभएकै कारण वर्सिनाले थप अध्ययन गर्न नपाएको छिमेकी योक्पाङ्देन बताउँछन् । “सम्बन्धित ठाँउमा पहल गरिदिने मान्छे भएन ।



बावु आमाका कारण छोरा छोरीले पढ्न पाएनन् ।” सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद खनाल परिवारको अवस्था अत्यन्तै नाजुक भएकाले बालिकको पढाईको निरन्तरताका लागि सहयोग गर्न उनका संरक्षक सहित स्थानीय अगुवाहरुलाई आग्रह गरेको वताउँछन् ।वर्सिना मात्रै होइन्, बावु आमाको नागरिकताको प्रमाणपत्र नभएकै कारण उनका भाई वहिनीको पढाई समेत अन्यौलग्रस्त छ । जेठो भाई सन्तोष बराइलीले परिवारको अवस्था र कागजपत्रको अभावमा कक्षा ३ बाटै पढाई छाडे । उनी अहिले ट्रयाक्टरमा सहचालकको काम गर्न थालेका छन् । चन्द्रलालकी अर्की छोरी करिस्मा छिमेकीहरुको सहयोगमा कक्षा ६ मा पढ्दैछिन् । आफूले समेत दिदीजस्तै समस्या भोग्नुपर्ने चिन्ता करिस्मालाई छ । उनैले कान्छो भाई दीपकलाई विद्यालय लैजाँदै आएकी छन् । “खाने, लगाउने टुङ्गो नभएपनि स्कुल जाँदैछौँ” करिस्माले भनिन् । बराइलीकी छिमेकी समेत रहेकी हिलिहाङ गाँउपालिकाकी कार्यपालिका सदस्य माया कन्दङ्वा करीब दुई दशक अघि सरकारी घुम्ती शिविरबाट बराइली दाजुभाईको नागरिकताको प्रमाणपत्र झिकेको भएपनि उनीहरु त्यसबारे जानकार नहुँदा समस्या भएको वताउँछिन् । स्थानीय अगुवाहरुले बराइली दाजुभाईलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन पहल भने थालेका छन् ।

बराइली परिवारको कन्तविजोग

बराइली परिवार बसेका स्थानमा न अन्न उत्पादन हुन्छ, न त उत्पादन गर्ने क्षमता नै छ उनीहरुसँग । आफ्नो यकिन जन्ममिति समेत थाहा नभएका चन्द्रलालको ६ जनाको परिवार छ । गाँउमा चन्द्रलाललाई ‘झाँक्री’ नामले चिन्छन् । जलेर उनको दाँया खुट्टाको औँला समेत गुमेका छन् । उनकी श्रीमती सुस्त मनस्थितिकी छन् । चन्द्रलालका २ छोरा र २ छोरीहरु गाँउमै सकेको काम सघाएर पेट पाल्ने गरेको छिमेकी योक्पाङ्देन बताउँछन् ।




यो परिवार स्थानीय चन्द्रबहादुर योक्पाङ्देनको कटेरोमा बस्दै आएको छ । छिमेकी योक्पाङ्देन भन्छन् “चन्द्रलाल बुढो हुँदै गएपछि कमाई खेती गर्न समेत छोडेका छन् । कमाई लगाइहाले बाँदरले फल लाग्नै दिँदैन् ।” चन्द्रलालले चलाउँदै आएको परम्परागत फलामा सामग्री बनाउने तथा मर्मत गर्ने भाटी समेत काम नलाग्ने भएपछि उनको परिवार छिमेकीको शरणमा बाँचेको छ । धाँमी झाँक्रीको काम गर्ने चन्द्रलालले यही कामबाट परिवारमा अन्नको जोहो गर्ने गरेका छन् । छोरा–छोरी भने छिमेकीलाई सरसहयोग गरेर पेट पाल्दै आएका छन् ।जीवनमा ७ पटक विवाह गरेका चन्द्रलाल उमेरले ६० वर्ष कटेका देखिन्छन् । तर, उनलाई सुस्त मनस्थितिकी अहिलेकी श्रीमतीले मात्रै साथ दिइन् । दलित समुदायका व्यक्तिले ६० वर्ष पूरा भएपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दछन् । भत्ता पाइन्छ भन्ने कुरा समेत उनले ज्ञात छैन ।