सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च सार्वजनिक

११ महिना अगाडि

धनगढी, ११ मङ्सिर– सुदूरपश्चिम प्रदेश सरकारद्वारा चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटमध्ये प्रथम चौमासिक अवधिमा १ दशमलब ६ प्रतिशत खर्च भएको छ । कूल खर्चमध्ये पूँजीगततर्फ रु दुई करोड नौ लाख (० दशमलब १८ प्रतिशत) र चालूतर्फ रु ३९ करोड ५३ लाख (२ दशमलब ९६ प्रतिशत) रहेको छ ।

प्रदेश सरकारको चालू आवमा कूल विनियोजित बजेट रु २५ अर्ब ६ करोड ५६ लाख रहेको छ । योमध्ये चालूतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख र पूँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख विनियोजन गरिएकोे छ ।

आज आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले चालू आवमा राजश्व सङ्कलनको कूल लक्ष्य रु एक अर्ब २९ करोड ६५ लाख राखिएकामा प्रथम चौमासिक अवधिमा रु २१ करोड ३१ लाख सङ्कलन भएको जानकारी दिनुभयो । सङ्कलित राजश्वमध्ये घरजग्गा रजिस्ट्रेशनतर्फ रु १० करोड ३४ लाख, सवारी साधन करतर्फ रु नौ करोड ९३ लाख र दण्ड जरिवानातर्फ रु एक करोड तीन लाख राजश्व सङ्कलन भएको जनाइएको छ ।

चालू आवमा पूँजीगततर्फ सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई रु आठ अर्ब ८८ करोड ५९ लाख विनियोजन गरिएको छ । यस्तै चालूतर्फ सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका लागि रु तीन अर्ब ५३ करोड ३८ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७४/७५ का लागि विनियोजन गरिएको बजेट रु एक अर्ब दुई करोड पाँच लाखमध्ये रु ५५ प्रतिशत खर्च भएको छ ।