‘पदीय दम्भ देखाएर कसैमाथि भेदभाव गरेको छैन’

९ महिना अगाडि ७६१ खबर डटकम


निमफुन्जो शेर्पा

मेयर, बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक


नगर प्रमुखका हैसियतमा तपाईंका अहिलेका प्राथमिकताहरु के के छन् ?

प्राथमिकतामा राखेका बिषय बस्तुहरु धेरै छन् । जसमध्य स्वास्थ्य, शिक्षा, बाटो, कृषि पर्यटन प्रवोधन, बालशिक्षा, खानेपानी, वृद्व–वृद्वाको लागि व्यवस्था लगायत छन् । त्यस्तै यहाँको वजारको व्यवस्थापन हाम्रो प्राथमिकतामा छ । जस्तो की बजार भित्र रहेको नाली कटान गर्नुछ । खासगरी बाह्रबिसे बजारमा अनैतिक अपराधिक क्रियाकलाप भएको हुनाले सबै ठाउँमा सिसी क्यामाराको जडान गरेका छौं । बजारमा सोलारको व्यवस्था गरेर बजार नै उज्यालो पारेका छौं । पशुपालन, कृषि लगाएतलाई प्राथमिकता दिएका छौं ।

५ वर्षमा तपाईंले अघि सार्नुभएका योजनाहरु पूरा गर्न सहज÷असहज कस्तो महसुस गर्नुभएको छ ? सुरुवाती कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

काम गर्छु भनेपछि गर्नुपर्छ । एकदम रहर पनि छ । त्यो जनताको लागि होस या पार्टीको लागि आखिर गरेर देखाउनै पर्छ । म एक पूर्वव्यापारि पनि हो त्यसकारण व्यवसायीको प्रतिष्ठा र ईज्जतको अनी आफ्नै पारिवारको लागि पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । तर समस्या छ, जस्तो की डेढवर्षसम्म जति काम गर्छु भनेको त्यति गर्न सकेको छैन । पहिला प्रदेश सरकार, संघीय सरकारको चुनाव भएको भए त्यहाँबाट नीति, कानुन बनेर आईसकेपछि स्थानीय तहलाई राम्रै लागु गर्न सकिन्थ्यो । केन्द्रीय सरकारको नियम कानुनहरु प्रदेश सरकारसँग मिल्दोजुल्दो र प्रदेश सरकारका नियम कानुनहरु स्थानीय सरकारसँग मिल्दो जुल्दो हुन्थ्यो । तर, स्थानीय तहको चुनावपछि मात्र केन्द्र प्रदेशको चुनाव भएकोले कतिपय नियम कानुनहरु अमिल्दा छन् । त्यसमाथि कर्मचारी भनेको त झन छदैं छैन । त्यसकै कारण पनि भनेको जस्तोे काम गर्न सकेको छैन् । हामीलाई अनुभवको हिसावले पनि समस्या थियो । यिनै समस्याहरुको कारणले गर्दा हामीले सोचेको जस्तो र प्राथमिकतामा राखेको जस्तो काम गर्न सकिएको छैन् । तर पनि हामीले स्थानीय तहमा गर्नुपर्ने कार्य नीतिहरु अगाडी बढाएका छौं । हामीले चुनावमा प्रतिवद्वता जनाए अनुसार अबको दुईवर्षमा विकास निर्माणका कामहरु गरिसक्ने सोचेका छौं र त्यसको लागि कुनै पनि कसर बाँकी नराखी अगाडि बढ्ने संकल्प लिएको छु ।


तपाईंको स्थानीय तहका संघीय सरकार र प्रदेश सरकारले ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेका छन् ?

अन्यौल कस्तो छ भने स्थानीय तहका केही गौरबका आयोजनाहरुका लागि संघीय सरकारमा जान्छौं । तर संघीय सरकारले बजेट सबै प्रदेश सरकालाई पठाएको छ भनेर प्रदेशतिर पठाउनुहुन्छ । अनि प्रदेशतिर गयो भने संघीय सरकार संग छ भन्नुहुन्छ । यो अन्यौलता कहिले टुंगिन्छ र व्यवस्थापन हुन्छ ? यो समस्या छ । प्राथमिकतामा अब प्रदेश सरकारले दिनुपर्दछ । संघीय सरकारवाट त्यस्तो बजेट प्राप्त भएको छैन् ।

सेवा सुविधाका सन्दर्भमा कतिपय जनप्रतिनिधि विवादमा तानिएका छन् तपाईंले चाँही सेवासुविधाको व्यवस्थापन कसरी गर्नुभएको छ ?

हाम्रो नगरमा सेवा सुविधा भन्नाले तलब भत्ता तोकेर आएको छ । मेरै व्यक्तिगत कुरा गर्नुहुन्छ भने आफ्नो प्राईभेट गाडी नै प्रयोग गरेको छु । मैले मिटिङ भत्ता भनेर एक रुपयाँ पनि लिएको छैन् । प्रमुख प्रशासकीयलाई एउटा गाडी व्यवस्था गरेको छ । त्यस्तै सबै कामहरु वडामा केन्द्रीत गर्नुपर्ने भएकाले एक–एक वटा मोटरवाईकको व्यवस्था गरिएको छ । वडा कार्यालयहरुमा केही सामग्री व्यवस्था हामीले गरेका छौं ।

कामको सवालमा विपक्षी राजनीतिक दल तथा कर्मचारीसँग कसरी समन्वय गरिरहनु भएको छ ?

निश्चय नै यसमा हामीले समन्वय गरेका छौं । जस्तो की प्रशासकीय अधिकृतदेखि विपक्षी दलका भएपनि सबै वडाका प्रमुखसँग मेरो छलफल हुन्छ । त्यसकारण सबैसँग छलफल भइेसकेपछि सल्लाह सुझावका लागि कसैलाई पक्ष विपक्ष छुट्याउन पर्ने जरुरी मैले देखेको छैन् । हामीले केही वडाहरुमा बढी सेवासुविधाहरु दिने तर केहीमा कम दिने त्यस्तो गरेका छैनौं । सबैलाई एकठाउँमा राखेर विकास निर्माणको काम कहाँ आवश्यकता छ त्यहाँ आवश्यकता भएको ठाउँमा मात्र हाल्ने जस्तोठुलो वडाहरुलाई ठूलै बजेट र सानो वडाहरुलाई सानै बजेट हाल्ने । कर्मचारीको व्यवस्थाको लागि वडाअध्यक्षहरु सम्मिलित बैठकहरु राख्ने र व्यवस्थापनको निमित्त अगाडि बढाउन विपक्ष वडाअध्यक्ष ज्युहरुलाई मैले कुनै भेदभाव गरेर छुट्याएको छैन् । मैले कुनै पदीय दम्भ देखाएर विपक्षी भनेर कसैमाथि भेदभाव गरेको छैन् । चाहे त्यो ऐन बनाउँदा होस या अन्य कुनै निर्णय गर्दा होस आफ्नो ढंगले कहिल्यै पनि गरेको छैन् । त्यसकारण हामी कहाँ त्यति समस्या छैन् ।

तपाईंको स्थानीय तहमा गरिहाल्नुपर्ने काम के के छन् ?

बाह्रबिसे बजारलाई अझै व्यवस्था गर्न पुगेको छैन् । सिसी क्यामारा देखि नालीको काम शुरुवात भएको छ । सुनकोशी स्कुल जाने बाटो धेरै फोहोर अस्तव्यस्त थियो त्यसलाई व्यवस्थित गर्न शुरुवात गरिएको छ । कृषि उत्पादनलाई कसरी बढाउने भनेर त्यसको व्यवस्थापन गर्न टिम बनाएर अगाडि बढेको अवस्था छ । कृषि, पशुपालन न्युन भएको अवस्था छ । नागी चौर असाध्य रमणीय छ । उतापटी बयौली कुण्ड भन्ने छ । त्यसको व्यवस्थापन गर्न आवश्यक छ । पुरानै बाटोलाई व्यवस्थित गरेर वडा कार्यालय, विद्यालयहरु भएका ठाउँहरुमा मात्र बाँकी छन् भने बनाउने हो । नगरभित्र रहेका सडकलाई बाह्रैमास यातयात सञ्चालन हुने गरी बनाउने, शिक्षालाई गुणस्तरीय बनाउने, शिक्षक समायोजन लगायतका काम छन् ।

विकास निर्माणकालागि नगर र गाउँ क्षेत्रमा गर्नुपर्ने काम के–के छन् ?

नगरदेखि रिङरोड बनाउन बार्पा, थलडाँडा देखि चाईना जोड्ने ठिङसाङ हुँदै भोटेकोशी गाउँपालिकाबाट चाईना जोडिने छ । त्यस्तै बाह्रबिसेदेखी मानेश्वाँरा, घुम्थाङ हुँदै जोडिने योजना छ । त्यस्तै हाईड्रोपावर निर्माणको योजनामा छौं । नगरमै हामी त्यो निमार्ण गर्ने योजना छ तर समय त लाग्छ ।

५ वर्षमा विकास र सेवाका क्षेत्रमा महत्वाकांक्षी योजना ?

बाह्बिसे बजारलाई व्यवस्थित गर्न एउटा कोल्ड स्टोर निर्माण गर्ने योजना छ । जस्तोकी काठमाडौंबाट तरकारी ल्याउन नपर्ने बरु बढी भएको तरकारी मात्र पठाउन यो व्यवस्था गर्न लागेका छौं । हामीसँग प्रशस्त जग्गा जमिनहरु छन् त्यहि उत्पादन गर्ने हो । सस्या कस्तो छ भने हामीसँग संकलन केन्द्र तथा तरकारी बजारसम्म ल्याउन सक्ने बाटोको समस्या भएको कारणले तरकारी अन्तबाट ल्याउन पर्ने थियो । अब हामी त्यसको अन्त्य गर्न चाहान्छौं । प्रदेश सरकारको एउटा जिल्लामा एउटा कोल्ड स्टोर बनाउने रहेपनि हाम्रो नगरपालिका भित्र एउटा कोल्ड स्टोर बनाउने मेरो सोच छ । सोही अनुसारको यसैलाई प्राथमिकता दिएर बजेट छुट्याएका छौं । त्यस्तै सुनकोशी स्कुल तथा मन्दिर जाने बाटोमा कालो पत्रे गर्ने, पानीको व्यवस्था गर्ने योजना छ । त्यस्तै बत्तीको तथा शान्ति सुरक्षाको व्यवस्था गर्ने योजना रहेको छ । सबन्दा पहिलो कुरा चीनसँग जोडिएको नाका छेउको बाह्रबिसे बजारलाई धुलोधुँवा मुक्त, उज्यालो हराभरा, पानीको व्यवस्था, ढलको व्यवस्था तथा एउटा सफा नगरीको रुपमा व्यस्थित गर्ने योजना छ । त्यस्तै अर्को महत्वकाङ्क्षी योजना भनेको बाह्रबिसे बजारमा बनेको सबैभन्दा ठूलो अस्पताललाई स्रोत साधन र जनशक्तिको हिसावले सम्पन्न बनाउने योजना छ ।

वजेट र खर्चको अवस्था कस्तो छ ?

यहाँको खर्चको अवस्थाको बारेमा कुरा गर्नुहुन्छ भने नगरपालिकाले कार्यपालिकाको वैठकबाट छलफल नगरी कुनै ठाउँमा खर्च गरेको छैन । हामीसँग त्यति ठूलो खर्च गर्न सक्ने बजेट आएको छैन । पालिकाले निर्णय गरेर खर्च गर्ने बजेट भनेको १४÷१५ करोड हो । हामीले ७० प्रतिशत खर्च गरिसकेका छौं । बाँकीमा सम्झौता भईसकेको छ । जसअनुसार काम पनि भईसकेको छ । त्यसलाई भुक्तानी दिन बाँकी छ । यहाँलाई भन्नु पर्दा हामीले स्काभेटर, जेसिबी लगाएत औजारहरु खरिद गरेको हुनाले गएको दशैंमा बाटोको कारण कुनै वडामा पनि यातायात अवरोध भएन ।

जनताको आय आर्जनका लागि गरेका काम के के छन् ?

जनताको आयआर्जनको लागि भनेको बाह्रबिसेमा लघुउद्यम भन्ने छ । त्यसलाई रोजगारीको व्यवस्थापन पनि हुने हिसावले केही योजना बनाएका छौं । कागज कारखाना, चिज, छुर्पी, खुवा लगाएतको उत्पादन गर्ने । त्यस्तै लेक लेकमा पाईने जडिबुटी धसिंगरे प्रशोधन उद्योगबाट बन्ने तेल उत्पादन, ढुङ्गाहरु मेशिनले काटेर बनाउने, ईटाहरु बनाउने । त्यस्तै ट्राउट पालन गर्ने, स्याउ, किबी तथा कफी लगाएत उत्पादन गरेर जनतालाई प्रत्यक्ष रोजगारी हुने काम सोचेका छौं ।

तपाईंका स्थानीय तहका चुनौती र सम्भावनाहरु के के छन् ?

चुनौति त निकै छ । संघीय सरकार प्रदेशले खुरु खुरु बजेट दियो भने हामीले सोचेको जस्तो सम्भावना भएको जति काम गर्न सकिन्छ । अर्को मुख्य चुनौति भनेको नगरमा राजनैतिक खिचातानी छ । खिचातानी पनि कस्तो हो भने, जुन ठाउँमा विकास निर्माण गर्नुपर्ने, विद्यालय सुधार गर्नुपर्ने ठाउँमा जुनसुकै पक्षले भए पनि गर्नुपर्ने हुन्छ तर विपक्षले गर्न थाल्यो भने होईन भन्ने पक्षले ग¥यो भने मात्र हो भन्ने यस्तो परिपाटी छ । यहाँलाई एउटा उदाहरण भनौं । खेलकुद स्वास्थ्य, शिक्षामा अलि बजेट छुट्याउ भनेको केही साथीहरुले कुनै हालतमा पनि छुट्याउनु हुँदैन भन्नुभयो । यस्तो राजनैतिक चुनौति छ । बाह्रबिसे बजारमा कर पहिलाको भन्दा एकरुपयाँ बढाएको छैन् तर पूर्वमन्त्री भईसकेका नेताहरु के गर्छन भने केही वडा अध्यक्षलाई भेला गराएर कुनै पनि कर तिर्ने कुरामा निर्णय नगर्नु भनेर अह्राउछन् । वडा अध्यक्षले नगरले दिएको सवारीसाधन चलाएको छ, भाडा नगरले नै तिरेको छ, तलवभत्ता, सुविधाहरु नगरबाट गर्ने अनी कर एकचिम्टी पनि उठाउन नपाईने भनेर निर्णय गर्न मिल्छ ? खुलेर भन्नु पर्दा नेपाली कांग्रेसका वडाअध्यक्ष ज्युहरुले हैरानी नै बनाउनु भएको छ । कतिपय नियम कानुनहरु माथिबाटै बनेर आउने हो । केही मात्रै यहाँ बन्ने हो तर उहाँका नेताहरुले यी यी कामहरु नगर्नु भनेर आदेश दिएपछि उहाँहरु त्यसै गर्नुहुन्छ । बाह्रबिसे बजारलाई व्यवस्थित ग¥यो भने मेयरलाई जस जान्छ रे भनेर गर्न नदिन नाराजुलुस नै लगाउने वडाध्यक्ष पनि छन् । यस्तै यस्तै चुनौतिहरु छन् ।

कर्मचारी संयन्त्रबाट सहयोग/असहयोग कस्तो छ ? यो संयन्त्रलाई कसरी परिचालन गर्नु भएको छ ?

कर्मचारी नयाँ आउन साथ बैठक राख्छौं । मैले त्यतिबेला के भनेको हुन्छ भने नियम ऐन कानुन नमिल्ने कुरा जम्मै तपाईहरुको जिम्मामा हुन्छ । योजनाको कुनै पनि एक रुपयाँ पैसा हिनाबिना गरेको रैछु भने मलाई पनि बाँकी नराख्नु तर पहिलाको जस्तो कर्मचारी तन्त्र चल्न थाल्यो भने कुनै पनि कर्मचारीलाई बाँकी राख्ने छैन । जुनसुकै चुनौति सामना गर्छु, त्यस्तै जनतालाई दिने सुशासनमा अलिकति पनि तलमाथि हुन हुँदैन भनेको छु । जसको लागि समय समयमा बैठक राखेको छु । मैले पक्षविपक्ष गरेर यो पार्टी वा उ पार्टी भनेको छैन । यहाँको काम पारदर्शी गर्नुपर्छ सुशासन दिनुपर्छ यदी कानुन विपरित कुनै कुरा आयो भने त्यसको जिम्मेवारी तपाईहरुको हुन्छ भनेको छु ।

तपाईको स्थानीय तह अहिले कुन अवस्थामा छ, र तपाईंले आफ्नो कार्यकालमा कस्तो बनाउने परिकल्पना गर्नु भएको छ ?

परिकल्पना त धेरै थियो । यसको बारेमा धेरै व्यक्त गर्न चाहान्न, किनभने परिकल्पना हुन्छ तर कुरामा भन्दा काममा लाग्ने भएकोले कार्यन्वयन गरेर परिणाम ल्याउने मेरो ईच्छा छ । हामीमा समस्या के छ भने परिकल्पना चाँही ठुलो–ठूलो गर्ने तर काम चाँही सिन्को नभाँच्ने परिपाटी छ त्यसको अन्त्य गर्न चाहान्छु ।

अहिलेसम्म कतिवटा र कस्ता कानुन बनाउनु भयो ? कार्यान्वयनमा के कस्ता समस्या छन् ?

निर्वाचित टिममा सामुहिक भावनाको कुरा गर्दा उहाँहरु केही अनुभव गर्दै हुनुहुन्छ । मेरो नगरमा सुरु सुरुमा केही बुझाईमा अस्पष्ट भएपनि अहिले त्यस्तो अवस्था छैन । मेरो एउटा बानी के छ भने म त्यस्तो झिना मसिना पक्षविपक्ष नलिने भएकोले त्यस्तो जटिल समस्या छैन् । अलि अलि समस्या त कतै भईहाल्छ ।

निर्वाचित टिमबीच सामूहिक भावना कस्तो रहेको पाउनु भएको छ ?

हामीले अहिले नगरमा शिक्षा समिति बनाएर केही कानुन बनाएका छौं । त्यसलाई व्यवस्थित र पुरानो ढंगले होईन नयाँ ढंगले लैजाने सोचेका छौं । जस्तो की विद्यालयहरुमा शिक्षकहरुलाई मर्ज गर्ने । त्यस्तै बाह्रबिसे नगरपालिकालाई कार्यपालिकाले निर्णय गरेर गर्ने जाने गरेका छौं । हामीसँग न्याय समिति छ तर पनि केही अन्यौलता छ । तर पनि स्थानीय तहमा काम गर्न सहज हुने र संविधानले दिएको अधिकार नबाझिने गरी ऐन कानुनहरु बनाएका छौं ।

अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाउनुभएको छ ?

दिर्घकालिन योजना भन्नाले खासगरी पर्यटकलाई भित्र्याउने, त्यस्तै बाह्रबिसे बजारलाई होटल व्यवसाय गरेर हुन्छ की, बाह्रबिसे बजारको सौन्दर्य झल्काउने खालको हरियो ताल बनाउन सकिन्छ की ? त्यस्तै बयली कुण्डमा सानो सानो प्लेन बस्न सक्ने ठाउँ निर्माण गरिसकेको छ । हाम्रै क्षेत्रमा पर्ने बयोली कुण्डमा लाखौं बस्न सक्ने ठाउँ छ । त्यहाँ पर्यटक प्रवद्र्वनको व्यवस्था गर्ने योजना छ । गुँडे, देउराली, चुल्ठे लगाएतका ठाउँमा पर्यटकीय राम्रो सम्भावना रहेको छ । त्यस्ता ठाउँहरुले बाह्रबिसे नगरपालिकालाई आयस्रोतको हिसावले निकै राम्रो टेवा पुग्छ । त्यस्तै दिर्घकालिन योजनाकै रुपमा बाह्रबिसेबाट कालिन्चोक पुग्न केबुल कारको व्यवस्था गर्ने सोच छ । त्यसैगरी दिर्घकालिन सोचमा कृषिलाई नै केन्द्रविन्दु बनाएर अघि बढ्ने योजना रहेको छ । साथै छिमेकी गाउँपालिका समेत मिलेर यो क्षेत्रलाई पर्यटकको विकास कसरी गर्न सकिन्छ भनेर हामी छलफलमा जुटेका छौं । त्यसैगरी तत्कालिन योजना बनेको बाह्रबिसेलाई समृद्व बजार बनाउने, विद्यालयहरुलाई व्यवस्थित गर्ने रहेको छ ।

अहिलेसम्म गरेका खास खास परिणाममुखी काम के के हुन् ?

खास खास देखिने कामहरु भन्नाले यहाँलाई थाहा नै होला सुनकोशी जाने बाटो असुरक्षित थियो । त्यसलाई हामीले कमसेकम सहज बनाएका छौं । त्यसैगरी सडक विभागसँग अनुरोध गरेर सडक कालोपत्रे बनाउन लागि रहेका छौ । त्यस्तै बाह्रबिसे बजारलाई शान्ती सुरक्षा कायम गर्नको लागि सिसी क्यामाराको व्यवस्था गरेका छौं । सबैठाउँमा सोलार पोलहरु राखिएको छ । बाह्रबिसे कार्यालय कति धेरै अव्यवस्थित थियो बस्ने ठाउँ समेत थिएन त्यसलाई भव्य बनाएका छौं । आपदविपद् पर्ने ठाउँमा बाटो तथा सोलारको व्यवस्था गरेका छौं ।

सेवाग्राहीको सुविधाको लागि तपाईहरुले दिने सेवालाई कसरी व्यवस्थित गर्नु भएको छ ?

जनतालाई दिईने सेवामा सबै विभागहरुलाई काम गर्न छुट्यार गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रहरुको कार्यक्षेत्र तोकेर दिएको छ । जनतालाई सुशासन छ की छैन हामीले पटक पटक बैठकहरु राखेर निर्देशन दिएका छौ ।

नगरप्रमुख भई जनताको सेवा तथा विकास निर्माण गर्न पाउँदा तपाइँका अनुभवहरु कस्ता रहे ?

वास्तवमै मेरो अनुभवको कुरा गर्दा म व्यापार व्यवसायीबाट आएको मान्छे जब म नगरपालिका आए । आएको २÷३ महिना त म निकै निराशा र अन्यौलमा थिए । किनकी मेरो परिवार काठमाडौंमा थियो । बाह्रबिसे बजारमा रहेको घर पनि भुकम्पका कारण बस्नै नसक्ने अवस्था थियो । यो कार्यकाल कसरी विताउने होला भनेर म एकदम चिन्तित थिएँ । जब यहाँको व्यवस्थापन गर्दै गईयो र केही अनुभव भयो । अब मलाई तिनै कामहरु रमाईलो, तिनै विकास निर्माण मेरो दैनिकी जस्तो । यहाँका कर्मचारी तथा जनप्रतिनिधिहरु आफ्नै परिवार जस्तो अनुभव भएको छ । अब मेरो जिन्दगी नै राजनैतिकमा पूर्णकालिन गर्ने रहेको छ । हिजो मैले २० प्रतिशत राजीनिति थियो भने व्यवसायमा ८० प्रतिशत थियो तर अब १ प्रतिशत व्यवसायमा भएपनि ९९ प्रतिशत जनताको सेवामा र राजनीतिमा हुने छ । अहिले सम्म आईपुग्दा म निकै सन्तुष्टी छु । मान्छेहरुले मलाई भन्ने गर्दथे यसले के टाईम देला भन्ने गर्दथे तर म अहिले हरेक दिनरात जनतासँगै भिजेको हुन्छु ।

तपाईंको नगरमा बाटो घाटो, पुल पुलेसाको अवस्था बारे बताई दिनुहोस न ?

हामीले केही पुलहरु निर्माण गरेका छौ जस्तो की मानेश्वाँरा जाने पुल एकदम जोखिममा रहेको छ । त्याहाँ बच्चाहरु जान निकै कठिनायी थियो । नगरभित्र बनाउन पर्ने साना तथा ठुला पुलहरुको लागि डकुमेन्टहरु बनाई सकेका छौं । त्यसको लागी निरन्तर लागेका छौं ।

सिँचाही, खेतीपाती, वनजंगल, वातावरण, पर्यावरणको अवस्था नी ?

हाम्रो गाउँपालिका भित्र रहेको ८ नम्बर वडाभित्र रहेको सिंचाईको लागि डेढ करोडको काम भईरहेको छ । त्यस्तै साना–साना आयोजनाहरुमा कामहरु भईरहेको छ । सिंचाईको लागि प्रदेशबाट रकम हालिएको छ, जसले क्रमिक रुपमा परिणाम आईरहेको छ ।

जनताले तिर्ने करमा अत्यधिक वृद्घि भएको छ भन्ने गुनासो चौतर्फी आइरहेको छ । तपाईंको नगरमा त्यस्तो छ कि छैन ?

करको सन्दर्भमा यहाँहरुले हाम्रो नगरमा गएर देख्न सक्नुहुनेछ । एउटा बस्तुमा पनि हामीले कर बढाएका छैनौं बरु केही घटाएर भएपनि व्यवस्थित गरेका छौं । यहाँलाई एउटा कुरा भनौं उद्योग कलकारखानालाई कर नलिने भन्ने कुरै हुँदैन । त्यो जुन देशमा पनि हुने कुरा हो । तर सर्वसाधारणको हितमा हुने गरी हामीले नागरिकता सिफारिस लगायतमा कर घटाएका छौं ।

सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई सफल पार्न तपाईंको स्थानीय तहको के भूमिका रहन्छ ?

वास्तवमा समृद्व नेपाल सुखी नेपाली भन्ने जुन नारा छ, यो भूमिकामा रहेनौं भने हामी किन जनप्रतिनिधि हुनु । त्यसकारण देश समृद्व हुनको लागि नगर पहिला समृद्व हुन जरुरी छ । तर संघीय सरकारको मन्त्रालयबाट जति काम हुन पथ्र्यो त्यो त्यति बढेको देखिएन सुस्त नै भयो । कर्मचारीदेखि लिएर ऐन कानुन निर्माणको कुरामा पनि संघीय सरकारले गति लिन सकेको छैन । हामीकहाँ नै हेर्नुहोस कानुन, शिक्षा, कृषि लागयतको अधिकृत छैन । कर्मचारी समायोजन हुन सकेको छैन, सिंहदरबारको कर्मचारी उतै छ, जिल्लाको जिल्लामै छ । जिल्लामा अहिले ठुलठुला भवनहरु बनाएर विभागहरु उतै केन्द्रीत भएका छन् । यसले सिंहदरबारको अधिकार कसरी गाउँ गाउँमा आउँछ ? यसले गति ल्याउन समस्या भएको छ । यदि यस्तै अवस्था रहि रहने हो भने समृद्व नेपाल र सुखी नेपालीको नारा सफल हुन गाह्रो छ । हामी त हुनपर्छ भनेर निरन्तर लाग्ने छौं ।

प्रदेश सरकार र संघीय सरकारलाई केही भन्नु छ ?

यहिले प्रदेश सरकारले गति लिन सकिरहेको देखिदैन यो निकै अन्यौलतामा देखिन्छ । संघीय सरकारको कुरा गर्नुहुन्छ भने यो पनि अन्यौलमा देखिन्छ । जसको कारणले न त प्रदेश अगाडी बढ्न सक्छ न स्थानीय तह नै । अहिले प्रदेशको काम नै देखिदैन एउटा कर्मचारीलाई नत सरुवा गर्न सक्छल न कारबाही न बढुवा । यति काम गर्न नसक्ने प्रदेशबाट अरु के आशा गर्ने ?

तपाईंहरुको छाता संगठनको काम गराइ कस्तो लाग्दै छ ?

भर्खरै मात्र बनेको छाता संगठनले जनप्रतिनिधिको हक अधिकारको लागि अहिले नै केही गर्न सक्ने अवस्था देखिदैन ।

अन्त्यमा भन्न बाँकी र छुटेका कुरा केही छन कि ?

यहाँको सञ्चारमाध्यम मार्फत हाम्रा स्थानीय तहका समस्या, सम्भावना र उपलब्धी भएका कुराहरु राख्ने जुन अवसर दिनु भयो त्यसको लागि यहाँ र यहाँको सञ्चारमाध्यम विशेष धन्यवाद दिन चाहन्छु, धन्यवाद ।
प्रस्तुती : दिनेश दुलाल