बाग्लुङ नगरपालिकाद्वारा पानीपुरी र चटपट व्यापार गर्न प्रतिबन्ध

११ महिना अगाडि ७६१ खबर डटकम

बागलुङ, ८ मंसिर - बाग्लुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सौन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
‘‘हेर्दा सामान्य निर्णय जस्तो लागेपनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ,’’ प्रमुख पौडेलले भन्नुभयो , “व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ।” हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मनै लागे छिमेकी जिल्ला पुग्नुपर्छ ।
बागलुङ नगरपालिकाले हालै पानीपुरी चटपटमा प्रतिबन्ध गरेपछि नगरका चोक चोकमा खडा भएका पानीपुरी तथा चटपटका पसल पूर्णरुपमा हटेको पाइएको छ । चटपटका पसल हटेसँगै बजारको सौंन्दर्यमा समेत सुधार आएको स्थानीयवासीको भनाइ छ । युवा युवती माझ पछिल्लो समय निकै लोकप्रिय बनेको पानीपुरी तथा चटपट स्वास्थ्यका लागि भने निकै हानिकारक भएको डाक्टरले बताउँछन् । नगरको निर्णयले चना चटपट व्यापार गरी जीविकोपार्जन गर्ने व्यवसायीलाई भने समस्यामा पारेको छ । केही पानीपुरी तथा चटपटको व्यवसायी अहिले तरकाली तथा फलफूलको व्यापार शुरु गरेका छन्, भने केही चटपटकै व्यापार गर्न छिमेकी जिल्लामा गएको बताइएको छ । स्वास्थ्यका लागि निकै बेफाइदा रहेको पानीपुरी तथा चना चटपट व्यापारलाई प्रतिबन्ध लगाएसँगै आम नगरवासीले भने यस्तो निर्णयको स्वागत गरेका हुन् ।