काठमाडौं महानगर : एक बर्षको कार्यप्रगति उत्साहजनक

१० महिना अगाडि किरण ढकाल

काठमाडौं, ४ मंसिर - देशकै सबैभन्दा पुरानो र धेरै जनसंख्या रहेको काठमाडौं महानगरपालिकाको एक बर्ष अवधीको कार्यप्रगति उत्साहजनक देखिएको छ । लामो समयपछि जननिर्वाचित प्रतिनिधि पाएको महानगरले बर्ष दिनमा थुप्रै योजना सम्पन्न मात्र गरेको छैन दिर्घकालिन योजनाको थालनी समेत गरेको छ ।



निर्वाचित जनप्रतिनिधि आएको करिव डेढ बर्ष अवधीमा महानगरले वनाएका योजनामा सफलता समेत प्राप्त गरेको छ । महानगरमा निर्वाचित भएसँगै मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महानगरका काममा तिव्रता दिने तथा व्यवस्थित शहर निमार्ण गर्ने आफ्नो संकल्प रहेको बताउँनु भएको थियो । सोही अनुसार एक बर्षमा कामपामा भूकम्पवाट क्षतीपुगेको काष्ठमण्डपको पुर्ननिमार्ण, आकाशे पुल निमार्ण, काठमाडौं प्रोफाइल तयार गर्ने जस्ता काम तिव्र रुपमा भइरहेका छन् ।

यस्तै, यो एक बर्षमा २५.५ किलोमिटर सडक कालोपत्रे, ९८ हजार ८३४ बर्गमिटर सडक मर्मत, ६० करोड रुपैयाँ भन्दावढीका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न भइसकेको महानगरले जनाएको छ ।
यस्तै, महानगरले नागरिक सरोकार, भौतिक पूर्वाधार विकास, समावेशी र पहुँचयुक्त सहर निर्माण, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र व्यवस्था तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत उत्साहजनक कार्यप्रगति देखाएको छ ।

दुईवटा आकाशे पुल र काठमाडौं प्रोफाइल तयार




महानगरले १० वटा आकाशे पुल निमार्णको योजना वनाएकामा अहिलेसम्म २ वटा सम्पन्न भइसकेका छन् । वाँकी ८ वटा निमार्ण चरणमा रहेको महानगरका सहप्रवक्ता नवराज ढकालले वताउनुभयो । यस्तै देशकै राजधानी समेत रहेको महानगरमा बसोबास गर्ने नागरिक, यहाँको जनसंख्या, घर, सडक, पुल, विजुली, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका विषयमा महानगरले तयार गर्ने भनेको काठमाडौं प्रोफाइल पनि यो अवधीमा तयार भइसहेको उहाँले जाकारी दिनु भएको छ । ‘अहिलेसम्म २ वटा पुल निमार्ण भए, यस्तै, काठमाडौं प्रोफाइल पनि लगभग तयार भइसकेको छ’, ढकालले ७६१ खवरसँग भन्नुभयो, ‘एक बर्षमा महानगरले गर्ने भनेका योजनामा उत्साहजनक कार्य प्रगति देखिएको छ ।’


कहाँ पुग्यो मोनोरेल योजना ?


महानगरको योजना अनुसार उपत्यकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी) कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौँ र ललितपुर महानगरपालिकालाई बुझाइसकेको छ ।



६ महिनाभित्र सम्भाव्यता अध्ययन गरि प्रारम्भिक प्रतिवेदन तयार पार्ने जिम्मा चाइनाको सिआरसीसी कम्पनीले लिएको थियो । सोही अनुसार अहिले डिपिआर तयार हुदै गरेको सहप्रवक्ता ढकालले जानकारी दिनुभएको छ । चत्रपथमा मोनोरेल सञ्चालन गर्ने सपना भने साकार वनाउने पक्षमा महानगर लागेको उहाँको भनाइ छ । चक्रपथमा मोनोरेल निर्माणका लागि करीब एक खर्ब १६ अर्ब रुपैयाँजति लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन सिआरसिसीले बुझाएपनि यो पूर्ण लागत विवरण भने नभएको महानगरले जनाएको छ । प्रतिवेदन अनुसार सिआरसिसीले पहिलो चरणमा काठमाडौंको कोटेश्वदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म मोनोरेल निमार्ण गर्न सकिने जनाएको छ ।

प्रतिवेदन अनुसार काम थालनी भएको ३ बर्ष अवधीमा निमार्ण पुरा हुन सक्छ । चक्रपथको कूल दुरी २७ दशमलव पाँच किलोमिटर रहेको र यसमा २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउन सकिने पनि प्रतिवेदनमा उल्लेख रहेको सहप्रवक्ता ढकालले जनाउनुभयो । केही हप्तामा दुईवटा टेण्डर प्रक्रिया सुरु हुने पनि जनाइएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताउनुभएको छ । उहाँले रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शङ्का नरहेको बताउँनुभयो ।

१३ अर्बको बजेटमा ३० प्रतिशत कार्यप्रगति



महानगरले चालु आर्थिक बर्षका लागि विनियोजन गरेको कूल वजेटमा चालु आवको पहिलो चौमासिक अवधीसम्ममा करिव ३० प्रतिशत कार्यप्रगति देखिएको छ । महानगरको तेश्रो अधिवेशनको दोश्रो नगर सभावाट आव २०७५
÷०७६ का लागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव प्रस्तुत गरिएको थियो । सहप्रवक्ता ढकालले यो वजेटमा पहिलो चौमासिकसम्म आइपुग्दा पूँजीगतमा २० प्रतिशतको हाराहारिमा र कूल वजेटमा भने ३० प्रतिशत प्रगति देखिएको बताउनु भएको छ । पहिलो ३ महिनामा पुँजीगत खर्च ११ प्रतिशत थियो ।


यस्तो छ महानगरको वजेट

महानगरले बजेटमा आन्तरिकतर्फ ४ अर्व ९० करोड २१ लाख ५७ हजार, वाह्य श्रोतबाट ५ अर्ब १९ करोड र अन्य श्रोतबाट १ अर्व ४ करोड ११ लाख आय अनुमान गरेको थियो । विनियोजित रकममा पूर्वाधार विकासतर्फ ३ अर्व ६ करोड २५ लाख, कार्यालय सञ्चालन तथा प्रशाशनिक खर्चका लागि ३ अर्व ६ करोड २५ लाख, सहरी विकासतर्फ ७ करोड ८१ लाख, विपद् व्यवस्थापनतर्फ १६ करोड ७८ लाख, वातावरण व्यवस्थापनतर्फ ५४ करोड ४६ लाख, सामाजिक विकासतर्फ ९६ करोड ८५ लाख, सूचना तथा सञ्चार प्रविधितर्फ २१ करोड ५८ लाख, स्वास्थ्य सेवातर्फ १३ करोड ५८ लाख, कृषि, पशु तथा सहकारी क्षेत्रका लागि ६ करोड १८ लाख, शिक्षाका लागि १ अर्व १० करोड ४६ लाख रुपैयाँ प्रस्ताव गरेको थियो ।



यस्तै, भवन निर्माण र सम्पत्ति खरिदका लागि २ अर्व ३६ करोड १ लाख, सहरी योजना आयोगका लागि ९ करोड ४६ लाख, सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १५ करोड १० लाख, सम्पदाका लागि ५१ करोड ५७ लाख, वित्त तथा राजस्वका लागि ४ करोड ७५ लाख रुपैयाँ विनियोजनमा प्रस्ताव गरेको थियो ।


यी हुन बजेटका प्राथमिकता

बजेट तथा कार्यक्रममा आर्थिक सामाजिक विकासका माध्यमबाट गरीवि निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त हुने, जनताको जीवनस्तर सुधार हुने, आम्दानी बढ्ने र रोजगारी सृजना हुने, स्थानीय सीप श्रोत र साधनको उच्चतम् उपयोग हुने कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो ।



स्थानीय सहभागिता जुट्ने, स्वयम् सेवा परिचालन गर्न सकिने र कम लागतमा धेरै लाभ लिने, महिला, बालबालिका र लक्षित समूहलाई लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशिकरणमा बढावा हुने, दिगो विकास र वातावरणीय संरक्षणमा सघाउ पुग्ने कार्यक्रमलाई पनि प्राथमिक कार्यक्रममा समावेश गरिएको थियो । भाषिक, सांस्कृतिक तथा सामाजिक पक्षको जगेर्ना, आपसी सद्भाव र एकतामा सघाउ पु¥याउने कार्यक्रम पनि बजेटमा समावेश भएका प्राथमिकताका विषय हुन् ।


भित्री सडक सुधारमा महानगर




खाल्डाखुल्डीका कारण सर्वसाधरणले वढी सास्ती खेप्नु परेपछि महानगरपालिकाले अहिले भित्री सडक सुधारलाई प्राथमिकता दिएको छ । भित्रि सडक कालोपत्रे गर्नेदेखि कतिपय स्थानमा ढुङ्गा, इँटा छाप्ने काम धमाधम भइरहेको महानगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा भित्री सडकका लागि ५८ योजना रहेकोमा ३० किलोमिटर सडकमा कालोपत्रेलगायत सुधारको काम भइरहेको जनाइएको

दश हजार बिरुवा रोप्दै महानगर



महानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न संघसंस्थाको सहकार्यमा महानगरभित्र दश हजार बोटबिरुवा रोप्ने भएको छ । अहिलेसम्म करिव ३ हजार विरुवा रोपिसकेको महानगरले कामपालाई हरियाली बनाइने लक्ष्य सहित यो योजना अघि सारेको हो । यस्तै, महानगरले प्रत्येक वडामा रहेको सार्वजनिक जग्गाको पहिचान गरी ३२ वटै वडामा वृद्धाश्रम र बालबालिकाका लागि मनोरञ्जन उद्यान निर्माण गरिने तयारी गरेको सहप्रवक्ता ढकालले जानकारी दिनुभयो ।

पार्किङ स्थल निमार्ण हुदै



यस्तै, महानगरले काठमाडौंका विभिन्न ठाउँहरु सवारी पार्किङ भवन बनाउने तयारी गरेको छ । उपत्यकामा हुने सावरी पार्किङको समस्या अन्त्य गर्न यो अवधारणा लिएको हो । खासगरि, नाकामा यस्तो पार्किङ स्थान निमार्ण हुने जनाइएको छ ।
यस्तै, काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमर उपकरण खरिद भैसकेको छ । महानगरले केही समयभित्रै ५ वटा ब्रुमर खरिद गर्दे रहेको जनाइएको छ । महानगरका अनुसार अहिले मासिक २५ करोड रुपैयाँ सफाईका कर्मचारीको लागि खर्च हुने गरेपनि काठमाडौं सफा नभकाले यस्तो गरिएको जनाइएको छ ।


काष्ठमण्डप पुर्ननिमार्णमा ८ करोड



ऐतिहासिक सम्पदा काष्ठमण्डप पुननिर्माणका लागि महानगरले ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । केही समय अघिमात्र महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ थप रकमको चेक प्रदान गर्नुभएको छ ।



काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस रकमबाट प्रारम्भिक काम भइसकेको र सम्पन्न कामको प्रतिवेदन प्राप्त भइसकेकोले थप काम अघि बढाउन यो रकम उपलब्ध गराएको हो । अनुमानित १८ करोड लागत लाग्ने काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने जनाएको छ ।


वायु प्रदुषणमा महानगरको चासो



महानगरले चक्रपथ निमार्णको क्रममा वायु प्रदुषण वढेको भन्दै चासो देखाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले चक्रपथ सुधारअन्तर्गत दोश्रो चरणको काम गर्दा वायु प्रदुषण नहुने विधि अपनाउन चीनको सांघाइ म्युनिसिपल गभर्मेन्टका अधिकारीसँग आग्रह गर्नुभएको हो ।

सांघाइ म्युनिसिपल गभर्मेन्ट कन्सुलर अफिसका महानिर्देशक जिङ् पिङ् नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा मेयर शाक्यले काठमाडौंको वायु प्रदुषण र यातायात व्यवस्थापनको समस्यासँग जुधिरहेको बताउँदै चक्रपथ सुधारको पहिलो चरणमा काम हुँदा उडेको धुलोका कारण महानगर आलोचित भएको वताउँनु भएको हो । सो अवसरमा सहरी विकास व्यवस्थापन, वातावरणीय सुधार, यातायात प्रणालीको विकास एवं विस्तार, भूमिगत मार्ग निर्माणजस्ता पूर्वाधारमा लगानी गरेर आपसी व्यापार एवं नागरिक सम्बन्ध विकास गर्न सकिनेमा जोड दिइएको थियो ।


फोहोर व्यवस्थापनमा सक्रियता



महानगरले टेकु ट्रान्सफर स्टेशनमा फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो ।

यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ भने यो विधि, जैविक फोहोरमा प्रयोग गरिन्छ । परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको महानगरे जनाएको छ ।


उच्च शिक्षा हासिल गर्नेलाई सम्मान



महानगरपालिकाले ज्यापु महागुथि नेपाः, यें महानगर समितिले आफ्नो कार्य क्षेत्र महानगर भित्रको परम्परागत ६३ टोलका ज्यापु समुदायबाट उच्च शिक्षा हासिल गर्नेलाई सम्मान गरेको छ । जसमा स्नातकोत्तर गर्ने २९१ जना, एमफिल गर्ने १ जना र पिएचडी गर्ने ३ जना गरी जम्मा २९५ जना उच्च शिक्षा हासिल गर्नेहरुलाई सम्मान गरिएको हो ।


महानगरलाई अवार्ड

चीनको हुआन सहरमा “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्डबाट महानगर सम्मानित भएको छ । हुआनमा नोभेम्बर १४ — १६ अर्थात कार्तिक २८—३० गते सम्म आयोजना भएको “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा महानगर अवार्डबाट सम्मानित भएको हो ।



अवार्डका लागि तिब्बतको ल्हासा नगरले महानगरलाई शिफारिस गरेको थियो । उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी हुनुहुन्थ्यो । हुआनमा सम्पन्न सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तर्राष्ट्रियसहित ८०० नगरका प्रतिनिधिको सहभागिता थियो । आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलन प्रभावकारी रहेको मेयर शाक्यले बताउँनु भएको छ ।