फिदिम नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

९ महिना अगाडि ७६१खबर डट कम संवाददाता

फिदिम– पाँचथरको गरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण गर्नुभएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताउनुभयो । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।

समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताउनुभयो । उहाँले मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै सङ्घीयताको सफलताबाट मात्रै जनआकाङ्क्षा पूरा हुने बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिनुभयो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पुर्‍याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको राससले जनाएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।