कर्मचारीको बानी बदल्न महाभारत नै भयोः ललितपुर महानगरपालिकाका मेयर

८ महिना अगाडि ७६१खबर डट कम संवाददाता

काठमाडौं, ३ मंसिर : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कर्मचारीको बानी बदल्न कठीन भएको बताउनुभएको छ ।

कर्मचारीका कारण चुनावी घोषणापत्रका अनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । ‘१८/२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईंजस्तै भइरहेको छ,’ सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा महर्जनले भन्नुभयो, ‘जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं ।’

डेढ वर्षको अवधिमा अपेक्षाअनुसारको प्रतिफल हासिल गर्न नसके पनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेको महर्जनको दाबी छ । ‘सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं,’ उहाँले भन्नुभयो ।

महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावी घोषणा अनुसारको काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

मेयर महर्जनले आफ्नै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन सफल भएको दाबी पनि गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाइट’ जोड्न लागेको पनि उनले जनाए । महर्जनले भन्नुभयो, ‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ । त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङजीसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं । अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’

‘स्मार्ट लाईट’ बाट बाटोको साईज, यात्रुको अवस्था र सवारीसाधनको अवस्थालगायत सबै कुरा ‘अटोमेटिक’ जान्न सकिने छ । ललितपुर महानगरभित्र रानीपोखरीभन्दा पुरानो तिम्बाहल पोखरी निर्माण भएरपनि पर्यटकहरु घुम्ने अवस्था भइकेको उहाँले जानकारी दिनुभयो ।